एन्जिलालाई लि निङको साथ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई अन्तर्राष्ट्रिय खेलकुद सामग्री तथा पोशाक कम्पनी लि निङको ब्रान्ड एम्बेसडर बनाइएको छ । एन्जिला र लि निङको नेपालका लागि आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक कम्पनी प्रालिका सिइओ राजन महर्जनले ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाँलाई लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेसडर बनाएको हो ।

एन्जिलाले आफ्नो नाममा बनेको एटिएस १६ लोगो चाइना ट्रेडलाई उपलब्ध गराउने र कम्पनीले सो लोगो प्रयोग गरी खेल पोशाकलगायत खेलकुद सामग्री उत्पादन गर्ने भएको छ । उक्त लोगो प्रयोग गरेर उत्पादन गरिएका पोशाक र सामग्री चाइना टे«डले बिक्रीपछि खुद नाफाको १० प्रतिशतमध्ये आधा एन्जिला र आधा विभिन्न खेलका खेलाडीलाई उपलब्ध गराइने सम्झौतामा उल्लेख गरिएको छ ।

त्यसबाहेक लि निङले वार्षिकरूपमा एन्जिलालाई ट्र्याकसुट पाँच सेट, टिसर्ट १० वटा, जुत्ता पाँच जोर, मोजा २० जोर र क्याप उपलब्ध गराउने सम्झौता भएको छ । त्यसबाहेक एन्जिलाले लि निङ खेल पोशाक र सामग्री खरिद गर्दा ३५ प्रतिशत छुटसमेत प्राप्त गर्नुहुनेछ ।
एन्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाइकी गोलकिपर हुनुहुन्छ ।

गत वर्ष सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन बन्दा टोलीको गोलपोस्ट उहाँले नै सम्हाल्नुभएको थियो । लिगका १२ खेलमा उहाँले मात्र एक गोलको सामना गर्नुपरेको थियो । सम्झौतापछि एन्जिलाले लि निङको साथका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले यसले खेलाडीहरूको हौसला वृद्धि गर्ने र आफूलाई झन् राम्रो गर्ने प्रेरणा मिलेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?