भारतीय नेतासँग भेटघाटमा व्यस्त प्रचण्ड, आज प्रधानमन्त्री मोदीसँग भेट गर्दै

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । भारत भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो राजनीतिक भेटवार्ता भारतीय विदेशमन्त्री एस. जयशंकरबाट सुरु गर्नुभएको छ । शुक्रबार दिउँसो भारत भ्रमणमा जानुभएका प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटवार्ता गर्नुभएको छ । शनिबार बिहान उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवासँग पनि भारतमा भेट्नुभएको छ । प्रचण्डले शनिबार नै भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्नुभएको छ । आज (आइतबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

शनिबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएका प्रचण्डले नेपालको विकासमा भारतको आर्थिक सहयोगको अपेक्षा राख्नुभएको थियो । द्विपक्षीय हितको विषयमा केन्द्रित भएर छलफल भएको बताइएको छ । छलफलपछि भारतीय विदेश मन्त्री एस. जयशंकर ट्वीट गर्दै नेपालको विकासमा भारत आर्थिक सहकार्यका लागि साथमै रहेको बताउनुभएको छ । उहाँले प्रचण्डसँग आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकीसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको उल्लेख गर्नुभएको छ । जयशंकरले तस्बिरसहितको ट्वीटमा भन्नुभएको छ, ‘छिमेकी पहिलो नीतिलाई प्रतिविम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

यसैबीच, प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताउनुभएको छ । शनिबार भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताउनुभयो । उहाँले करिब तीन महिना पहिले नै कार्यक्रम तय भइसकेकाले यो आकस्मिक भ्रमण नभएको बताउनुभयो । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै नेपाल-भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउनमा आफ्नो प्रयास हुने स्पष्ट पार्नुभयो ।

‘१९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ’
सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले फाउन्डेसन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताउनुभएको हो । यस क्रममा उहाँले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचमा देखिएका समस्या समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । साथै त्यस अवसरमा उहाँले नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने पनि स्पष्ट पार्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताउनुभयो । अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा राख्नुभएको थियो । आज (आइतबार) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर स्वदेश फर्किने प्रचण्डको कार्यतालिका रहेको छ ।

विष्णु रिजाल भन्नुहुन्छ-प्रचण्ड र आरजूको भेट सत्ता बाँडफाँडमा २००७ कै झल्को
भारतको नयाँदिल्लीमा प्रचण्ड र कांग्रेसकी नेतृ आरजू देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताउनुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री पत्नी आरजू राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ले २००७ सालमा राणा र कांग्रेसबीच दिल्लीमा भएको सत्ता बाँडफाँटको भद्दा झल्को दिन्छ ।’

२०७३ सालमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अपदस्थ गर्नुअघि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबीच पनि दिल्लीमै भेटघाट भएको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभएको छ । सत्ता गठबन्धन कायम राख्ने, आउँदो चुनावमा सिट बाँडफाँटको अन्तिम टुंगोे लगाउन उहाँहरूको बीचमा भेटघाट भएको आशंका उहाँले गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?