रेडपाण्डाको अवलोकनमा विदेशी पर्यटक

हिमालय टाइम्स
Read Time = 5 mins

-प्रकाश नेपाल

इलाम । केही वर्षअघिबाट रेडपाण्डा संरक्षणको काम थालनी गरिएको इलाममा संरक्षणसँगै पर्यटकलाई भ्रमणको व्यवस्था मिलेको छ । रेडपाण्डा अवलोकनका लागि भारतसहित तेस्रो मुलुकबाट पर्यटक आउन थालेपछि इलामको सन्दकपुर गाउँपालिका, इलाम नगरपालिकासहित माइजोगमाई गाउँपालिकाको रेडपाण्डा पाइने क्षेत्र अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको छ  । रेडपाण्डा पहिला पाइन्छ, पाइँदैन भन्ने चिन्ता थियो ।

अध्ययनकर्ताले रेडपाण्डा खोज अनुसन्धान गरिएपछि रेडपाण्डा प्राप्त गरिएको थियो । रेडपाण्डा पाइएपछि संरक्षणसँगै आन्तरिक र बाहृय पर्यटकलाई भित्र्याउने लक्ष्य लिइएको थियो । रेडपाण्डा पर्यटनमा इलामको चोयाटार सामुदायिक वन प्रख्यात रहेको थियो ।

रेडपाण्डासँगै नेपाल र भारतका हिमालका दृश्यहरूको अवलोकन गर्नका लागि अमेरिका, नेदरल्यान्ड, स्विडेन, सिंगापुर र भारतका पर्यटकहरू इलाम भित्रिने गरेका छन् । सन्दकपुर गाउँपालिकाले अहिले रेडपाण्डा संरक्षणका लागि विभिन्न काम गरिरहेको सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुला गुरुङले बताउनुभयो ।

घना जंगलमा सुरक्षित लोपोन्मुख सूचीमा पर्ने रेडपाण्डा अवलोकनका लागि नेपाल र भारत भएर तेस्रो मुलुकका पर्यटक आउन थालेपछि सडक स्तरोन्नतिको कामसमेत गरिँदै आएको छ । रेडपाण्डाका माध्यमबाट इलामको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको रेडपाण्डा संरक्षणकर्मी तीर्थ गुरुङको भनाइ छ ।

नेपाल भारत सीमा क्षेत्र मानेभञ्ज्याङबाट पर्यटक इलामको जौबारी हुँदै आउने गरेका हुन् । रेडपाण्डा अवलोकनका लागि इलाममा पर्यटक भित्रिएपछि स्थानीयवासीको आयआर्जनमा वृद्धिसँगै गाउँमा रोजगारीका अवसर थपिएका छन् ।

वन विनाशले रेडपाण्डा संकटमा

उत्तरपूर्वी इलामको रेडपाण्डा पाइने वन क्षेत्रमा जथाभावी डोजर प्रयोगले लोपोन्मुख वन्यजन्तुहरू संकटमा परेका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्न वन जंगल विनाश गरेपछि नेपालमा रहेको रेडपाण्डा ट्रेलसमेत प्रभावित भएको हो ।

विश्वमै दुर्लभ मानिएको रेडपाण्डालगायतका वन्यजन्तुको बासस्थान मानिएको भारतसँग सीमा जोडिएको उत्तरी इलामका वन जंगल मासिनेक्रम नरोकिएपछि रेडपाण्डा संकटमा पर्ने खतरा बढेको छ । स्थानीय तहसमेतको अगुवाइमा वन्यजन्तुको बासस्थान रहेका घना वन क्षेत्रमा समेत डोजर लगाएर यतिबेला धुलीमैदान बनाइएपछि उक्त खतरा बढेको हो ।

सीमापारि भारततर्फ सिंहलिला नेसनल पार्क रहेकाले सीमासम्म सडकको उपलब्धि देखिँदैन । पर्यटन विकासको बहानामा जथाभावी सडक निर्माणले वन्यजन्तुको बासस्थान खण्डीकृत हुने र कतिपय लोपोन्मुख वन्यजन्तु, वनस्पति मासिने खतरा उत्पन्न भएको रेडपाण्डा संरक्षणकर्मीहरूको भनाइ छ ।

वन ऐन र वातावरण संरक्षण नियमावलीअनुसार सामुदायिक वा राष्ट्रिय वन क्षेत्रभित्र जथाभावी अतिक्रमण र फँडानी गर्न पाइँदैन । विकास निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन र क्षतिको न्यूनीकरणका लागि वातावरणीय व्यवस्थापन योजना वनाउनुपर्ने प्रावधान रहेको छ ।

प्रचलित ऐन नियमका साथै प्रदेश सरकारले बनाएका कानुनको पालना नगरी वन जंगलमा भएको विनाशले वन्यजन्तुका साथै पर्यापर्यटनसमेत ओझेलमा पर्न थालेको छ । इलामको थुम्के, चोयाटार, नुनथला, माबुथाम, पाटेनागीलगायत दर्जनौं स्थानमा वनमा अतिक्रमण भएको पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?