छोनाम पर्व मनाउँदै चेपाङ समुदाय

हिमालय टाइम्स
Read Time = 5 mins

चितवन । आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् ।

सो समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

यस वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन् । शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिनुभयो । उहाँले सामूहिक उत्सवको सबै तयारी गरिएको बताउनुभयो ।

उहाँका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदैछन् । विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् । ‘चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको हो’, उहाँले भन्नुभयो, ‘उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउनुहुनेछ ।’ उहाँले सरकारले सार्वजनिक बिदा दिन थालेपछि छोनाम पर्वमा थप उत्साह बढेको बताउनुभयो ।

उहाँका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उहाँले बताउनुभयो ।

वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । उहाँका अनुसार भिरपाखामा बस्ने चेपाङ जातिले पाखापखेरामा लगाएका मकैलगायत फलफूल भदौमा पाक्ने भएकाले यसै महिनामा छोनाम पर्व मनाउने गरिएको इतिहास छ ।

छोनाममा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । छोनाम पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको मानिन्छ । यस पर्वलाई चेपाङ समुदायले आफ्नो मौलिक भाषामा छोनाम भन्छन् भने खस नेपाली भाषामा न्वागी भनिन्छ ।

नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजारको हाराहारीमा चेपाङ समुदायका मानिस बसोबास गर्छन् ।

चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दा मानिन्छन् । मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङ समुदायको बसोबास छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?