काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः तीव्र गतिमा फैलिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्र थप ४५७ जनामा संक्रमण पुष्टि भएको छ र संक्रमणदर १० प्रतिशतभन्दा बढी पुगेको छ । जबकि १ असारमा संक्रमणदर ०.६४ प्रतिशत थियो । २ साउनमा आइपुग्दा १५ गुणाले बढेकाले नेपालमा कोरोना महामारीको चौथो लहर सुरु भएको मानिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बिए टु’ र ‘बिए फाइफ’ बढी सक्रिय रहेको पाइएको छ । एकसाताअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गरिएका ३२ वटा नुमनामध्ये दुईवटामा ‘बी फाइभ’ पुष्टि भएको थियो । विभिन्न ठाउँको १६ वटा नमुनाको धुलिखेल अस्पतालमा जिन सिक्वेन्सिङ गरिएको थियो, जसमा चार वटामा ‘बी फाइभ’ पुष्टि भएको छ । ‘बी फाइभ’ हालसम्मकै संक्रामक मानिन्छ । यो समुदाय स्तरमा पुगिसकेकाले आगामी दिनमा संक्रमण बढाउने जनस्वास्थ्यविद्हरूको विश्लेषण छ ।
पहिलेजस्तो महामारीको लहर नआउला कि भन्ने हाम्रो अनुमान छ : पुन
दैनिक रूपमा बढ्दै गएको संक्रमणले अर्को लहर निम्तिने चिन्ता बढ्न थालेको छ । संक्रमण बढ्दै जाँदा जनस्वास्थ्यका मापदण्डको सही रूपमा प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन् । तथापि अहिले भइरहेको संक्रमणले नै अर्को लहर भित्रिने सम्भावना भने न्यून रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ । ‘छिटो फैलिने भए पनि बी फाइभ प्रजाति कम घातक देखिएको छ । अरू देशको तथ्यांकले त्यही देखाएको छ । मूल ओमिक्रोनको जुन समस्या थियो, त्यो समस्या बी फाइभले कमै लिएर आउने देखिएको छ’, उहाँले भन्नुभयो’, अहिले धेरैले खोप पनि लगाइसकेको अवस्था रहेको हुँदा पनि पहिलेजस्तो महामारीको लहर नआउला कि भन्ने हाम्रो अनुमान छ । खोपले संक्रमणको जोखिमलाई कम गर्छ ।’
तथ्यांकले संक्रमण बढेको भनिएपछि सटिक डाटा नआएका कारण अझै केही भन्न नसकिने डा. पुनले बताउनुभयो । ‘कतिपय मानिसहरूले परीक्षण नगरेको पनि हुन सक्छ । कडा लक्षण नदेखिएकाले सामान्य रुघाखोकी भन्ठानेर अस्पताल आउने सम्भावना कम छ जसले गर्दा तथ्यांक अझै सूक्ष्म रूपमा आइसकेको छैन ।’ पुनले भन्नुभयोे, ‘दोस्रो लहर र त्योभन्दा अगाडिको जस्तो अवस्था सिर्जना हुने अवस्था पनि कम छ । तर, यो भन्दैमा कोही अस्पताल भर्ना नै हुँदैनन्, कसैको मृत्यु नै हुँदैन भन्न खोजिएको होइन ।’
मापदण्ड पालनामा लापरबाही देखिएको छ : बास्तोला
जनस्वास्थ्यका मापदण्ड पालनामा आम समुदायमा नै लापरबाही देखिएको शुक्रराज ट्रपिकल अस्पतालका पूर्व–निर्देशक डा. अनुप बास्तोला बताउनुहुन्छ । ‘अझै पनि मानिसहरूले कोरोनालाई सामान्य रूपमा लिने गरेका छन् । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नैपर्छ । मास्क अनिवार्य रूपमा लगाउनुपर्छ । मास्क लगाउने विषयलाई सबैले प्रमुख प्राथमिकतामा राख्नुपर्छ,’ डा. बास्तोला भन्नुहुन्छ, ‘संक्रमण बढिरहेकाले सरकारले अझै व्यवस्थित र योजनाबद्ध भएर लाग्नुपर्ने देखिन्छ ।’
मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको ७०.३ प्रतिशतले पहिलो मात्रा र ७० प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै, २३.५ प्रतिशले अतिरिक्त मात्रा लगाएका छन् । त्यस्तै, १२ वर्षदेखि माथिका ८८ प्रतिशतले पहिलो मात्रा र ८७.७ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको तथ्यांकमा उल्लेख गरिएको छ । यस्तै, सरकारले सोमबारदेखि २७ जिल्लाका पाँच वर्षदेखि एघार वर्षसम्मका बालबालिकालाई दोस्रो डोज दिन सुरु गरेको छ । नेपालले हालसम्म पाँच करोड ७८ लाख ८३ हजार ९७० डोज खोप प्राप्त गरेको छ ।
एकैदिन ४५७ जनामा संक्रमण पुष्टि, एकको मृत्यु
कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । दुई दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार संक्रमितको संख्या जम्मा १३५ रहेको थियो । साथै मृत्यु संख्या पनि थपिन थालेको छ । चार महिनापछि आइतबार एकजनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यस्तै, सोमबार पनि कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।
कुल दुई हजार ३४१ र दुई हजार ३१० गरी कुल चार हजार ६५१ परीक्षणमा ३८६ पिसिआर तथा ७१ जना एन्टिजेनमा परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् । संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ । त्यसैगरी, डिस्चार्ज हुनेको संख्या २४ घण्टामा ४८ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच