श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित

हिमालय टाइम्स
Read Time = 5 mins

कोलम्बो । श्रीलंकामा रणिल विक्रमसिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । संसदमा बुधबार भएको निर्वाचनमा दुई प्रतिस्पर्धीलाई हराउँदै विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । कार्यवाहक राष्ट्रपति रहनुभएका विक्रमासिंघेले १३४ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी दलास अल्हपेरुमाले ८२ मत प्राप्त गर्नुभयो । राष्ट्रपतिमा विक्रमसिंघे, अल्हपेरुमा र वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) नेता अनुरा कुमारा दिसानायके बीच भएको थियो ।

कुल २२३ सांसदले मतदान गरेका थिए भने दुईजना सांसदले मतदान बहिष्कार गरेका थिए । २२३ मतमध्ये २१९ मतलाई मान्य मानिएको थियो भने चार मत अमान्य घोषित गरिएको थियो । राष्ट्रपतिको चुनाव जितेपछि संसदलाई सम्बोधन गर्दै विक्रमसिंघेले सबै पक्षलाई मिलेर काम गर्न अपिल गर्नुभयो । उहाँले बिहीबार सबै दलहरूसँग बसेर वार्ता गर्ने पनि बताउनुभयो । गोताबाया राजपाक्षे श्रीलंकाबाट भागेर राजीनामा दिएपछि विक्रमसिंघेलाई कार्यकारी राष्ट्रपति बनाइएको थियो ।

श्रीलंकाको संसदमा राष्ट्रपति छान्न पहिलो पटक मतदान भएको हो । कार्यकारी अधिकारसहितको श्रीलंकाको राष्ट्रपति आमनिर्वाचनबाट चुनिन संवैधानिक व्यवस्था छ । यसअघि सन् १९९३ मा तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमदासाको हत्यापछि उहाँको बाँकी कार्यकालका लागि संसदले राष्ट्रपति चुनेको थियो । त्यस समय डिबी विजेटुंगा निर्विरोध भएकाले मतदान गर्नुपरेको थिएन । विक्रमासिंघेलाई राजापाक्षेहरूको समर्थन छ । उहाँलाई तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले केही महिनाअघि प्रधानमन्त्री नियुक्त गनुभएको थियो ।

विक्रमसिंघेको कार्यकाल २०२४ नोभेम्बरमा अन्त्य हुनेछ । उहाँले गोताबाया राजपाक्षेको बाँकी अवधि पूरा गर्नुहुने छ । जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेले देश छोडेर माल्दिभ्सपछि सिंगापुर पुग्नुभएको थियो । यसपछि विक्रमसिंघेले अध्यक्षको जिम्मेवारी पाउनुभएको थियो ।

यसअघि गोताबायाका भाइ महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको कुर्सी छाड्नु परेको थियो । त्यसपछि उहाँ कहाँ हुनुहुन्छ भन्ने कुनै आधिकारिक जानकारी छैन । राष्ट्रपति भवनमा श्रीलंकाका सर्वसाधारणले आक्रमण गरेका थिए । उक्त भवन नियन्त्रणमा लिएका थिए ।

श्रीलंकाको प्रभावशाली सिंहाली परिवारमा जन्मिनुभएका विक्रमसिंघे पेशाले वकिल हुनुहुन्छ । २८ वर्षको उमेरमा उहाँलाई उपपरराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएको थियो । उहाँको काम गर्ने क्षमताले छोटो समयमा धेरै नेताहरूलाई प्रभावित बनाएका थिए । ५ अक्टोबर १९७७ मा उहाँ युवा मामिला मन्त्री बन्नुभएकोे थियो । उहाँले सन् १९८० को दशकसम्म यो पद सम्हाल्नु भएको थियो । सन् १९९३ मा तत्कालीन राष्ट्रपति रणसिंघे प्रेमदासालाई लिट्टे आतंकवादीले आत्मघाती हमलामा मारेका थिए ।

उहाँको हत्यापछि प्रधानमन्त्री डिबी विजयतुंगालाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो । ७ मे १९९३ मा विक्रमसिंघे पहिलोपटक देशको प्रधानमन्त्री बन्नु भएको थियो ।

नवनिर्वाचित विक्रमासिंघे पनि श्रीलंकामा अलोकप्रिय हुनुहुन्छ । उहाँ प्रधानमन्त्री रहँदा उहाँको निजी निवासमा पनि आक्रोशित भीडले आगजनी गरेको थियो । श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ । यस्तो अवस्था अझै एक वर्ष रहन सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । श्रीलंकामा खाद्यान्न, औषधि, इन्धनजस्ता अत्यावश्यक वस्तुको अभाव छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?