राष्ट्रिय प्रतियोगितामा दुई हजार भत्ता

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले दैनिक दुई हजार रुपैयाँ भत्ता पाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक दुई हजार रुपैयाँ भत्ता पाउने भएका हुन् । २०७६ सालमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा खेलाडीले दैनिक १४ सय रुपैयाँ भत्ता पाएका थिए । गण्डकीमा हुने नवौँ राष्ट्रिय खेलकुदमा खेलाडीले खानपिन र बसोबासका लागि दुई हजार रुपैयाँ भत्ता पाउने भएका हुन् । राखेपले इभेन्टको अघिल्लो दिनबाट सुरु भएर प्रतिस्पर्धा सकिएको भोलिपल्टसम्म भत्ता दिने भएको छ । नवौँ राष्ट्रिय खेलकुदमा करिब सात हजार १९० खेलाडी, १२ सय प्रशिक्षक र हजारजना रेफ्री सहभागी हुनेछन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुँदैछ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र एक गैरआवासीय नेपाली संघ (एनआरएनए) को टिम सहभागी हुनेछन् । बिहीबार नवौँ राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले विभिन्न १२ विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले १४ मध्ये १२ उपसमिति गठन गर्ने निर्णय गरेको हो । विषयगत उपसमितिका संयोजक र सचिव पनि तोकिएको छ ।

बाँकी दुई उपसमिति सुरक्षा प्रबन्ध र अनुसन्धान उपसमिति चाँडै गठन गरिने सदस्य-सचिव घिसिङले जानकारी गराउनुभयो ।
समारोह उपसमितिको संयोजकमा राखेपका सदस्य एकेन्द्र कुँवर र सचिवमा प्रशासकीय अधिकृत शारङ्गिन् निरौला, प्राविधिक उपसमितिको संयोजकमा नायब वरिष्ठ प्रशिक्षक हिमालराज दाहाल र सचिवमा नायब वरिष्ठ प्रशिक्षक प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य राजेश गुरुङ र सचिवमा प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना हुनुहुन्छ ।

यस्तै, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा प्रशासकीय अधिकृत चन्द्रकुमार राई, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा र सचिवमा कानुन शाखाका प्रमुख नारायणराज अर्याल तथा स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह रहनुभएको छ ।

त्यस्तै, यातायात व्यवस्था उपसमितिको संयोजकमा राखेपका सदस्य प्रकाश कुसारी र सचिवमा पौडी शाखाका प्रमुख देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट र सचिवमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुसराज दाहाल, खेल सामग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा राखेपका सदस्य अञ्जन धमला र सचिवमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख सुजन खतिवडा हुनुहुन्छ ।

त्यसबाहेक स्रोत परिचालन उपसमितिको संयोजकमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारी र सचिवमा संघसंस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा राखेपका सदस्य जनक बर्तौला र सचिवमा प्रशासकीय अधिकृत लिलाराम बस्नेत तथा एन्टी डोपिङ उपसमितिको संयोजकमा डा. नमिसमान प्रधान र सचिवमा प्रशासकीय अधिकृत दोबे तामाङ रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?