लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 5 mins

हेटौडा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी रहेको बताउनुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई मकवानपुरको हेटौँडामा शुक्रबार उद्घाटन गर्दै देउवाले सत्यतथ्य सूचनाले मुलुकको विकासमा सहयोग गर्न पनि बताउनुभयो । ‘लोकतन्त्र बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ । लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति हामी प्रतिबद्ध छौँ । सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ रहेको उहाँको भनाइ थियो । देश र जनताप्रति उत्तरदायी बहन गर्दै पत्रकारले सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्नुपर्ने उहाँले बताउनुभयो । ‘मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बद्र्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ,’ उहाँले भन्नुभयो । हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कोरोना कालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गर्नुभयो । निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधिलाई पनि ग्रहण गर्दै अघि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेको भन्दै निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने उहाँले बताउनुभयो ।
यस्तै, उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरूबीच एकता गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । पौडेलले अन्तर्राष्ट्रिय शक्तिहरू र नेपालका कम्युनिष्टहरू एकताबद्ध भएर कांग्रेस र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको वताउनुभयो ।

नेता पौडेलले गठबन्धन आजको आवश्यकता भए पनि आगामी चुनावमा कम्युनिष्टहरू एक ठाउँमा उभिएर कांग्रेसलाई एक्लो बनाउने काम भइरहेको दाबी गर्नुभयो । उहाँले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको जिकिर गर्नुभयो ।

त्यस्तै, समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण्ण राख्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल श्रीलंका पथमा जाँदैछ भन्ने अफवाह चिर्नका लागि स्वतन्त्र पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । ‘नेपालको अर्थतन्त्रमा समस्या छ तर श्रीलंका पथमा जाँदैन’, उहाँले भन्नुभयो, ‘नेपाल चाँडै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रूपमा उदाउनेछ ।’

युनियनको महाधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा अनिता विन्दु र संस्थापनइतर पक्षबाट शिव लम्साल उम्मेदवार हुनुहुन्छ । उहाँहरूले प्यानल नै बनाउनुभएको छ । महाधिवेशन शनिबारसम्म चल्नेछ । युनियनले नौ वर्षअघि पोखरामा महाधिवेशन गरेपछि महाधिवेशन गर्न सकेको थिएन । चारपटक स्थगित महाधिवेशन अहिले गरिएको हो । महाधिवेशनमा करिब १६५० प्रतिनिधि सहभागी छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?