छोरीले अधिकारका लागि लड्न अझै बाँकी छ : मन्त्री भुसाल

Read Time = 3 mins

काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले छोरीले अधिकार प्राप्तिका लागि लड्न अझै बाँकी रहेको बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी) ले आयोजना गरेको मनिषा आचार्यको उपन्यास विमोचन कार्यक्रममा उहाँले महिलाले कानूनीरूपमा अधिकार प्राप्त भए पनि अझै कार्यान्वयनका लागि लड्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

महिलाको सम्पत्तिमा अधिकार कानूनीरूपमा प्राप्त भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा आउन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सम्पत्ति माग्दा दाजुभाइ रिसाउँछन् कि भन्ने भयले महिलाले सम्पत्ति माग्न सकिरहेका छैनन् ।”

आफैँले पनि अध्ययन सुरु गरेदेखि राजनीतिमा संलग्न हुँदासम्म पटक पटक विद्रोह गरेको मन्त्री भुसालले बताउनुभयो । छोरीले पढ्नु हुँदैन भन्ने समयमा विद्यालय हुँदै उच्च शिक्षा लिनु आफैँमा विद्रोह भएको उहाँले उल्लेख गर्नुभयो । छोरी मान्छे भएर राजनीतिमा संलग्न भएर जेलमा पर्दा समाजले स्वीकार नगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुनै राम्रो काम गर्दा पनि छोरीले गरी भनेर होइन छोराजस्तो गरेको भन्ने गरेको पाइन्छ ।”

सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साहित्यमा सधैँ महिला कति आए र कति टिकेभन्दा विषयवस्तुमा गहन छलफल बाँकी रहेको औँल्याउनुभयो । प्राध्यापक सन्तोष परियारले आचार्यले सामाजिक यर्थाथवादी तर विद्रोही आख्यान लेख्नुभएको उल्लेख गर्नुभयो ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले युवाले कुनै पनि विषयवस्तुको थोरै बुझेर हलुका टिप्पणी गर्न छाडेर गहन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । स्रष्टा आचार्यले शिक्षित वर्गले समेत छोरी मान्छेले गर्न सक्छन् भनी विश्वास नगरेर छोरीको सफलतालाई शङ्काका दृष्टिले हेरेको बताउनुभयो । -

रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?