द्रौपदी मुर्मुद्वारा राष्ट्रपतिको शपथ ग्रहण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

नयाँदिल्ली । द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथ समारोहमा पूर्वराष्ट्रपति रामनाथ कोविन्द, निवर्तमान उपराष्ट्रपति एम वेंकैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष सोनिया गान्धी उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा मुर्मुको गृहराज्य ओडिसाका मुख्यमन्त्री नवीन पटनायक लोकसभा अध्यक्ष ओम बिर्ला र विभिन्न दलका सांसदहरूको उपस्थिति थियो । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र आदिवासी समुदायको पहिलो राष्ट्रपति हुनुहुन्छ ।

भारतको १५औं राष्ट्रपतिको रूपमा शपथ लिएपछि मुर्मुले आफू चुनिनु भारतका गरिबले ठूला सपना देख्न र पूरा गर्न सक्छन् भन्ने प्रमाण भएको बताउनुभएको छ । राष्ट्रपति बनेपछि मुर्मुले आफ्नो आधिकारिक ट्विटर हृयाण्डलबाट पहिलो ट्विट गर्दै सबै देशवासीप्रति आभार व्यक्त गर्नुभएको छ । ‘हामीले स्वतन्त्रताको अमृत महोत्सव मनाइरहँदा यस्तो महŒवपूर्ण समयमा मलाई देशले राष्ट्रपतिमा निर्वाचित गरेको छ, आजको केही दिनपछि देशले स्वतन्त्र भएको ७५ वर्ष पूरा गर्नेछ’, उहाँले भन्नुभएको छ । ‘म पनि स्वतन्त्र भारतमा जन्मेकी देशको पहिलो राष्ट्रपति हुँ’, उहाँले भन्नुभएको छ, राष्ट्रपतिले भन्नुभएको छ, ‘मैले मेरो जीवन यात्रा ओडिशाको एउटा सानो आदिवासी गाउँबाट सुरु गरेकी हुँ । म जुन पृष्ठभूमिबाट आएकी हुँ, त्यहीँबाट प्रारम्भिक शिक्षा प्राप्त गर्ने मेरो सपना पनि थियो । तर, धेरै अवरोधका बाबजुद पनि मेरो संकल्प दृढ रहृयो । कलेज जाने मेरो गाउँकी पहिलो छोरी भएँ ।’

पार्षददेखि राष्ट्रपतिसम्मको यात्राको स्मरण गर्दै उहाँले भन्नुभएको छ, ‘गरिब घरमा जन्मेकी छोरी, दुर्गम आदिवासी क्षेत्रमा जन्मिएकी छोरी भारतको सर्वोच्च संवैधानिक पदमा पुग्नु हाम्रो लोकतन्त्रको शक्ति हो । राष्ट्रपति पद मेरो व्यक्तिगत उपलब्धि होइन, यो भारतका हरेक गरिबको उपलब्धि हो ।’

राष्ट्रपति बनेपछि उहाँले भन्नुभयो, ‘मेरो चुनाव भारतका गरिबले सपना देख्न र पूरा गर्न सक्छन् भन्ने प्रमाण हो । मेरो यो चुनावमा देशका गरिब, देशका करोडौं महिला र छोरीहरूको आशीर्वाद समावेश छ । देशका प्रथम राष्ट्रपति डा.राजेन्द्र प्रसाददेखि श्रीरामनाथ कोविन्दसम्मका व्यक्तित्वहरूले यो पद सजाउनु भएको छ । यो पदसँगै मलाई यो महान् परम्पराको प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि देशले दिएको छ ।’

आफ्नो मन्तव्यको अन्त्यमा राष्ट्रपति मुर्मुले भन्नुभयो, ‘विश्वको कल्याणको भावनाका साथ म तपाईंहरू सबैको विश्वासलाई पूरा गर्न पूर्ण निष्ठा र समर्पणका साथ काम गर्न सधैं तयार हुनेछु । आफ्नो जीवनको लाभ-हानीभन्दा ठूलो संसारको कल्याणको लागि काम गर्नुपर्छ ।’

संथाल जनजातिको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘सन्थाल क्रान्ति, पायका क्रान्तिदेखि कोल क्रान्ति र भील क्रान्तिसम्मको स्वतन्त्रता संघर्षमा आदिवासी जनजातिको योगदानलाई अझ बलियो बनाएको थियो । ‘धरती आबा’ भगवान बिरसा मुण्डा जीबाट सामाजिक उत्थान र देशभक्तिका लागि हामीले प्रेरणा पाउँथ्यौं ।’ राष्ट्रपति मुर्मु सन्थाल जनजातिबाट आउनुभएको हो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?