कृष्ण-लीलाको ‘ए मेरो हजुर’ टिकटकमा छाउँदै

Read Time = 3 mins

काठमाडौं । आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कृष्ण-लीला’मा समावेश एक गीत टिकटकमा छाइरहेको छ । ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ बोलको गीतसँगै निर्माण युनिटले अर्काे गीत सार्वजनिक गर्‍यो-‘ए मेरो हजुर..’ । ट्रेलरबाट प्रतिक्षित बनेको चलचित्रको यो गीत अहिले सर्वत्र गुञ्जिरहेको छ ।

रबि ओड र सुनिता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रूपमा कहलिएको छ । एक महिनाअघि सार्वजनिक भएको गीतको ‘अटल वाचा गरें..’, ‘अघाउँदैनन् कहिल्यै आँखा मेरा..’ र ‘मेरो ध्यान त्यतै तानिसक्यौ तिम्ले..’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणले समेत अधिक मात्रामा टिकटक बनाइरहेको पाइन्छ ।

अहिलेसम्म ती बोलमा चार लाख बढी टिकटक बनिसकेका छन् भने एक करोडभन्दा बढी भ्यू भइसकेको छ । गीतले टिकटकमा मात्रै होइन, युट्युबमा समेत दर्शक श्रोताले मन जितिरहेको छ । युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रिएसनमार्फत सार्वजनिक गरिएको गीत अहिलेसम्म सवा १७ लाख पटक हेरिसकिएको छ । डा. डी आर उपाध्यायले लेखेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर हुनुहुन्छ ।

बाबुल गिरीको संगीत, माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शीलन लम्सालले सम्पादन गरेकोे गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो । यो गीतमा एक दिनमा चालिस हजारवटा सम्म टिकटक बनेको जानकारी कोरियोग्राफर माइकलले दिनुभएको छ ।

दीपक ओलीको निर्देशनमा बनेको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुनुहुन्छ । चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाईं मुख्य भूमिकामा हुनुहुन्छ ।

कृष्णजन्माष्टमीको दिनमा प्रदर्शन हुने चलचित्रको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुनुहुन्छ । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ हुनुहुन्छ । लक्ष्मण सुवेदीद्वारा लिखित चलचित्रको सम्पादन अर्जुन जिसीले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?