काठमाडौं । सरकारले औद्योगिक क्षेत्रभित्रको जग्गाको भाडा सात सय प्रतिशतले वृद्धि गरेको छ । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगका समस्याबारे नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ (फिनी) बीच छलफल भएको छ ।
औद्योगिक क्षेत्रभित्र उद्योगले उपयोग गरिरहेका जग्गाको अप्रत्यासितरूपमा भाडा वृद्धि, विद्युत् डिमान्ड शुल्क, जीर्ण भौतिक पूर्वाधार, पानी आपूर्तिमा समस्या र बृहत् औद्योगिक सम्मेलनलगायतका विषयमा बुधबार महासंघ र फिनीबीच छलफल भएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको गत असार २२ को निर्णयबाट चार वर्षअघिदेखि लागू गर्ने भनी सात सय प्रतिशतसम्म भाडा वृद्धि गरी बिल पठाएपछि उद्योगीहरू महासंघको ढोका ढकढक्याउन पुगेका हुन् । नेपालमा रहेका १० वटा औद्योगिक क्षेत्रमा सरोकारवालासँगको परामर्शबिनै भाडा वृद्धि गरी पत्र पठाएको फिनीको भनाइ छ ।
त्यसैगरी फिनीले औद्योगिक क्षेत्रभित्रका उद्योगलाई ५० प्रतिशतभन्दा बढी विद्युत् डिमान्ड शुल्क लिइएको, पानीको सहज आपूर्तिको व्यवस्था नभएको, भौतिक संरचना पुनर्निर्माण गरी प्रयोग गर्न योग्य बनाउनेतर्फ पहल नभएको भन्दै समस्या समाधानका लागि महासंघको ध्यानाकर्षण गराएको छ ।
पछिल्लोपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण चल्नै नसक्ने अवस्थामा पुुगेका उद्योगलाई आपसी सहमतिका माध्यमबाट भाडा वृद्धि गर्नुको साटो एकतर्फीरूपमा गरिएको भाडा वृद्धिले मुलुकको समग्र औद्योगिक विकासमै प्रतिकूल असर पर्ने फिनीको भनाइ छ ।
औद्योगिक क्षेत्रका उद्योगीले औद्योगिक क्षेत्रभित्र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाउनेभन्दा पनि भएका जग्गा भवन भाडामा लगाएर आयआर्जन गर्ने प्रवृत्ति देखिएको सम्बद्ध उद्योगीले गुनासो गरेका छन् ।
सो अवसरमा महासंघ अध्यक्ष शेखर गोल्छाले फिनीले उठाएका मुद्दा जायज रहेको भन्दै कठिन अवस्थाबाट गुज्रिरहेको अर्थतन्त्र र उद्योग व्यवसायलाई राहत दिई काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा उल्टै निरुत्साहित बनाउने काम चिन्ताजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरूका जायज माग पूरा गराउने सम्बन्धमा एफएनसिसिआइको पनि साथ रहन्छ, फिनीले राखेको बृहत् औद्योगिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा महासंघले आन्तरिक तयारी गरेर अघि बढ्नेछ ।’
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्यले पनि महासंघ फिनीको साथमा रहेको भन्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
फिनीका अध्यक्ष रामहिरा पाठकले दुवै महासंघ मुलुकभित्र औद्योगिक वातावरण बनाउने विषयमा एउटै स्वर र अवधारणामा जानुपर्ने भन्दै औद्योगिक क्षेत्रभित्रका उद्योगका समस्या समाधानका लागि महासंघबाट पूर्ण सहयोग हुने अपेक्षा रहेको बताउनुभयो । फिनीले औद्योगिक क्षेत्रभित्रका उद्योगका समग्र समस्यासहितको पत्र महासंघ अध्यक्ष गोल्छालाई बुझाएको छ । कोरोना महामारी, कर्जा अभाव, बढ्दो व्याजदरलगायतका कारण चौतर्फी मारमा पर्दै आएका नेपाली उद्योगलाई सरकारले थप आहत बनाउने गरी औद्योगिक क्षेत्रको जग्गाको भाडा बढाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच