भक्तपुरको बजेट कटौती गर्ने देउवा सरकार विकास विरोधी हो : बस्नेत

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले भक्तपुरको विकासका लागि आफू अहोरात्र खटिरहेको बताउनुभएको छ । शुक्रबार सहयोगी निलबाराही टोल सुधार समाजको सातौँ वार्षिक साधारण सभामा बोल्दै प्रतिनिधिसभा सदस्य समेत रहनुभएका बस्नेतले विभिन्न आरोह अवरोहलाई छिचोल्दै भक्तपुरका जनताको सुखदुःखमा साथ दिइरहने प्रतिबद्धता जनाउनुभयो । ‘देउवा सरकारलाई जनताका पिर मर्काप्रति कुनै चासो नै छैन ।

जंगलको सिंहजस्तै सुतेर बसिरहेको छ । विकासका कामलाई रोक्ने काम गरिरहेको छ । भक्तपुरमा आएको बजेट पनि कटौती गरेकाले यो सरकार विकासविरोधी पनि हो ।’ बस्नेतले भन्नुभयो । उहाँले कुनै पनि हालतमा भक्तपुरका जनताका बीचमा वजेटको कमी हुन नदिने र त्यसका लागि आफूले सांसद कोषबाट भए पनि केही वजेटको व्यवस्थापन गर्ने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा उक्त समाजका अध्यक्ष तथा पत्रकार पुस्कर बस्नेतले यस टोलभित्र रहेका केही अधुरो कामहरुलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रमा सुरु भएको बाटो निर्माणको कामलाई निरन्तरता दिँदै ढल र खेलमैदानका निम्ति सबै राजनीति दलहरुसँग समन्वय गरेर विशेष पहल कदमी गर्ने कुरा बताउनुभयो ।

आफू यस टोल सुधारको अध्यक्ष भएदेखि नै निरन्तर यस टोल र नयाँ बस्ती विकासका निम्ति अहोरात्र खटिरहेको उहाँको भनाइ थियो । उक्त सभाले आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपले पारित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?