नेपाललाई उछिन्दै बंगलादेश शीर्षमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकाल्दै बंगलादेश नेपालभन्दा अंकतालिकामा अघि बढेको छ । नेपाललाई उछिन्दै बंगलादेश अंकतालिकाको शीर्षस्थानमा उक्लिएको हो । बंगलादेशले माल्दिभ्सलाई चार–एकको फराकिलो अन्तरले पराजित गरेको हो ।

बंगलादेशको जितमा मिराजुल इस्लामले हृयाट्रिक पूरा गर्नुका साथै अर्को गोल रफिकुल इस्लामले गर्नुभयो । माल्दिभ्सका लागि एकमात्र गोल जेन जफरले गर्नुभयो । खेलको १९औँ मिनेटमा मिराजुल इस्लामको गोलमा बंगलादेशले अग्रता लियो ।

त्यसको दुई मिनेटमै मिराजुलले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । पेनाल्टी क्षेत्रभित्र आएको बललाई गोलरक्षक र डिफेन्सबीच समन्वय नहुँदा मिराजुलले लगातार दोस्रो प्रहार गर्दै गोल गर्नुभएको थियो । ३२औँ मिनेटमा मोहमद रफिकुल इस्लामले बंगलादेशलाई तीन-शून्यले अघि बढाउनुभयो ।

मिराजुलको क्रसमा रफिकुलले ६ यार्ड बक्सको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षकले बचाउन सक्नुभएन । ४२औँ मिनेटमा मिराजुलले हृयाट्रिक पूरा गर्नुभयो । दोस्रो हाफको ५३औँ मिनेटमा माल्दिभ्सका लागि जेन जफरले एक गोल फर्काउनुभयो ।
यसअघि दिनको पहिलो खेलमा आयोजक तथा साबिक विजेता भारतले पहिलो जित दर्ता गरेको थियो । प्रतियोगिताको दोस्रो खेल खेलिरहेको भारतले श्रीलंकालाई चार–शून्यको फराकिलो अन्तरले पराजित गर्‍यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भारतले चार गोल गरेको थियो । भारतका लागि पार्थिव गोगोईले दुई तथा हिमांशु झान्ग्रार गुर्किरत सिंहले एक-एक गोल गर्नुभयो ।
यो नतिजासँगै बंगलादेश शीर्षस्थानमा उक्लिएको छ । तीन खेलमा नौ अंक जोड्दै बंगलादेश फाइनलमा पुग्ने लगभग पक्का देखिन्छ ।

दोस्रो स्थानको नेपालको दुई खेलमा ६ अंक छ । भारत दुई खेलमा तीन अंकसाथ तेस्रो स्थानमा छ । पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन् । तीन खेल हारेको श्रीलंका समूह चरणबाट बाहिरिँदा माल्दिभ्सको सम्भावना अंक गणितमा सीमित छ ।
प्रतियोगिताको समूह चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले अब ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशसँग खेल्नेछ । फाइनल ५ अगस्टमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?