प्रचण्ड र माधवलाई ओलीको सन्देश- कांग्रेससँगको गठबन्धन तोडेर आए मात्रै एकता हुन सक्छ

नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन छाडेर आए एकता हुन सक्ने संकेत गर्नुभएको छ । तुल्सीलाल अमात्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले प्रचण्ड, माधव नेपालहरूप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरूसँग गठबन्धन तोडेर आए मात्रै एकता हुन सक्ने दोहोर्‍याउनुभयो । ‘गठबन्धन भनेर त्यसको उद्देश्यलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा विचार गर्न सकिएला,’ उहाँले भन्नुभयो । ओलीले पूर्व-नेकपाको सचिवालयमा रहेका पाँच नेताहरूको केही अघिको भेटबारे पनि कटाक्ष गर्नुभयो । ‘गठबन्धनमा बसेर दुष्ट उद्देश्य राखेर अस्ति त पाँच भाइ भेला भएछन् । जो एमालेमा हुँदा दुःख दिने थिए नि । पार्टी फुटाउनेहरू जम्मा भएछन् । समाजवादी केन्द्र बनाउने ! उहाँले भन्नुभयो, ‘अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ? यी जनविरोधी, देशद्रोही, एमसिसी, एसपिपी यिनीहरू समाजवादी ।’

ओलीले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आ≈वानसमेत गर्नुभयो । दुष्टहरूले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरू भने पार्टी एकता नै गरेर अघि बढ्नुपर्ने प्रस्ताव गर्नुभयो । देश र जनताको विरुद्धमा नगएकाहरूबीच एकताबद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेततापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
ओलीले सत्तारूढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभयो । उहाँले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नुभयो । ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘मैले उहिले पनि भनेको थिएँ-गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर, यसपल्ट त गोरु पनि लजाउने काम सरकारले ग¥यो । गोरु आफैँ लजाउने । भ्रष्टाचारको केस लाग्या छ, छानबिन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानबिन गर्न दिएकै छैन । छानबिन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सिसिटिभी फुटेज मेटाइएको छ । रिभाइभ गर्दा देखिँदैन, बुझिँदैन । अनि सफाइ पायो । कहाँबाट पायो सफाइ ? कल डिटेल्ससमेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनवालाहरू ।’

भ्रष्टाचारको केसमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरि बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरू कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिरसमेत गर्नुभयो । उहाँले भन्नुभयोे, ‘अनि फेरि अचम्म त के भने- लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ? गोरु लजाउन्न क्यारे । तर गोरु पनि लजायो । यति निर्लज्ज तरिकाले हुन्छ ? फेरि उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरू मान्छे नै रहेनछ । कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले । हामीसँग बहुमत छ, जे गरे पनि हुन्छ । लाजसरम किन मान्ने, कसैलाई किन टेर्ने ? लोकलाज किन मान्ने ? कांग्रेसको भनाइ । फुटेज किन देखाउने ? कल डिटेल किन हेर्ने ।’

‘जब-जब कांग्रेसको सरकार बन्छ तब देशले दुःख पाउँछ’
ओलीले नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक भन्ने अधिकार पनि नभएको बताउनुभयो । स्वाधीनताविरुद्ध हिँड्ने कांग्रेसले किन आफूलाई प्रजातान्त्रिक भनेको ? भन्दै उहाँले प्रश्न गर्नुभयो । आफूभन्दा अघि बोलेका मालेका महासचिव सिपी मैनालीलाई गठबन्धनका नक्कली कुरा र सक्कली कुराको उजागर गर्दिएकोमा धन्यवाद दिँदै उहाँले कम्युनिष्ट पार्टी सिध्याउने काममा कांग्रेससमेत लागेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी सिध्याउन खोज्नेहरूले आफूलाई वामपन्थी भन्ने गरेको भन्दै ज्ञानेन्द्रसँग मिलेका भए यिनीहरूले लोकतान्त्रिक वामपन्थी र देशभक्त भनेर जोड्ने थिए भनेर टिप्पणी गर्नुभयो । गठबन्धनकै कारण देश सारै गम्भीर अप्ठेरोमा गएको भन्दै उहाँले कांग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लागेको र देशले दुःख पाउने गरेको इतिहासले बताएको दाबी गर्नुभयो । ‘जब-जब कांग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लाग्छ, देशले दुःख पाउँछ यो इतिहासले बताएको कुरा हो’, उहाँले भन्नुभयो, ‘राणा प्रधानमन्त्री मोहनशमशेर हुँदा पनि कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लागेको थिएन तर राणा सरकारबाट हटेर मात्रिकाप्रसाद कोइराला प्रम बने उनले गरेका कुकर्म इतिहासले बिर्सदैन ।’ उहाँले २०१० साल साउन १७ गते भीमदत्तको हत्या गरेको गण्डक सम्झौता गरेको भन्दै कांग्रेसप्रति आक्रोश व्यक्त गर्नुभयो । २००८ माघमा उत्तरी सिमानामा दक्षिणको छिमेकीको सेना लगेर १७ ठाउमा सैनिक क्याम्प राखियो । यसरी स्वाधीनताविरुद्ध हिँड्ने कांग्रेसलाई किन प्रजातान्त्रिक भनेको ? उसको विचार, काम प्रजातान्त्रिक छैन । कांग्रेसले आफूलाई प्रजातान्त्रिक भन्छ भने आचरण देखाओस् । गोरु आफैँ लजाउने काम गर्छ कांग्रेस’, ओलीको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?