हेटौंडा अस्पतालको स्तरोन्नति हुँदै,  प्रतिष्ठानले थप विषय पढाउन सुरु गर्ने

हिमालय टाइम्स
Read Time = 9 mins

-प्रकाश दाहाल

हेटौंडा । हेटौंडाको हेटौंडा अस्पताल अब थप सुविधासहित नयाँ भवनबाट सञ्चालन हुने भएको छ । प्रदेशको राजधानी समेत रहेको हेटौडा स्वास्थ्योपचार लगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै पछाडि परेको सहरको रूपमा रहेको थियो । यहाँको सबैभन्दा ठूलो अस्पतालको रूपमा रहेको हेटौडा अस्पताल विगतमा ‘रिफर’ अस्पतालको रूपमा चिनिन्थ्यो भने निजी क्षेत्रले पनि स्वास्थ्य सेवाको क्षेत्रमा खासै लगानी गर्न सकिरहेका थिएनन् ।

यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी हेटौडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याई स्वास्थ्य शिक्षासहितको स्वास्थ्य सेवा दिन तयारी गरिरहेको छ । विगतमा जम्मा ५० शैयाको हेटौडा अस्पताल अहिले सुविधासम्पन्न अस्पतालमा परिणत भएको छ ।

३० करोडको लागतमा थप १०० बेडसम्म सञ्चालन गर्न मिल्ने गरी तीन तले अस्पतालको नयाँ भवन निर्माणको काम भर्खरै सम्पन्न भएको छ  । निर्माण कम्पनीले यही साउन महिनाभित्रै अस्पताललाई भवन हस्तान्तरण गर्ने तयारी गरेको छ । भवन निर्माणको कार्य सम्पन्न भएसँगै अस्पताल प्रशासनले भवनको पहिलो तलामा तत्काल आकस्मिक सेवा, काउन्टर, र फार्मेसी सञ्चालनका लागि आवश्यक तयारी गरेको छ ।

भदौ पहिलो सातादेखि नै आकस्मिक सेवा, काउन्टर र फार्मेसी नयाँ भवनमा सञ्चालन गर्ने तयारी भइरहेको हेटौडा अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभएको छ । डा. सापकोटाका अनुसार साउन अन्तिममा भवन हस्तान्तरण लगत्तै नयाँ भवनका अन्य तलामा सिटी स्क्यान, एनआईसियुलगायतका अन्य सेवाहरूसहित व्यवस्थित रूपमा सेवा प्रदान गरिनेछ । १०० बेड सञ्चालन गर्न मिल्ने गरी नयाँ भवन निर्माण भएसँगै हेटौडा अस्पताल दुई सय बेडको अस्पतालको रूपमा विस्तार हुनेछ ।

संघीय सरकारले ५० बेड क्षमताको जिल्ला अस्पतालको रूपमा सेवा प्रदान गर्न स्वीकृति दिएको हेटौंडा अस्पतालले अहिले अस्पताल विकास समिति मातहतमा थप ६० बेड सञ्चालन गर्दै आएको छ । प्रदेश सरकारले निर्माण प्रारम्भ गरेको ५२ करोड लागतको ६ तले अर्को भवन निर्माणाधीन रहेको छ । यो भवन पनि बनिसकेपछि ३०० शैयासम्म अस्पतालको सेवा विस्तार गर्न सकिने भएको छ । अस्पतालको नयाँ भवन बनेसँगै इमरजेन्सी बेड संख्या आठबाट २४ वटा पुग्ने पनि मेसु सापकोटाले बताउनुभयो ।

अस्पतालमा हाल ३८ जना विषेशज्ञ डाक्टरहरू कार्यरत रहेका छन् । यस्तै मेडिकल अधिकृत १९ जना, नर्सिङ अधिकृत पाँच जना, स्टाफ नर्स ३८ जनालगायत २०० जना कार्यरत रहेका छन् । हाल अस्पतालमा १७ बेडको आइसियु र २० बेडको एचडीयु, ६ बेडको डायालासिस सञ्चालन गरिएको छ । त्यस्तै अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको प्रतिष्ठानका रजिष्ट्रार एवम् अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताउनुभयो ।

अस्पतालले पहिलो पटक मनोरोगको विशेषज्ञ सेवा प्रारम्भ गरेको तथा दैनिक ४०० जनालाई मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले हाल ६५० जनाभन्दा बढीलाई दैनिक सेवा दिन थालेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले जानकारी दिनुभयो ।

वि.सं. २०१६ मा १५ बेडको सामान्य अस्पतालबाट शुरु भएको हेटौंडा अस्पताल वि.सं. २०२२ सालमा २५ शैयाको जिल्ला अस्पतालको रूपमा परिणत भयो। अस्पतालको विकास गर्न हेटौंडा अस्पताल विकास सेवा समितिको गठन भई सो  समितिमार्फत थप २५ शैया गरी जम्मा ५० शैयाको अस्पताल  सञ्चालन भई सेवा प्रदान गर्दै आएको अवस्थामा आर्थिक वर्ष २०६१र०६२ सालमा मन्त्रीपरिषद्को निर्णयानुसार उप क्षेत्रीय अस्पतालको नाममा नामकरण गरिएको थियो तर सरकारले उप क्षेत्रीय अस्पतालको दरबन्दी पठाउन नसकेको कारण वि।सं। २०७१ असार २० गतेको मन्त्रिपरिषद्को निर्णयले ५० शैयानै कायम गर्यो।

उपक्षेत्रीय अस्पताल हुन चाहिने न्यूनतमा मापदण्ड, चिकित्सक तथा अन्य कर्मचारीको दरबन्दी थप, स्वास्थ्य सेवामा प्रयोग हुने उपकरणलगायतको व्यवस्थापन हुन नसकेपछि उपक्षेत्रीय अस्पताल पुनः जिल्ला अस्पतालमा नै कायम रहेको थियो ।

सहजरूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखी तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको पालामा बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना २०७६ असोज २ गते गरेपछि अस्पतालको परिचय फेरिन लागेका हो । प्रतिष्ठानले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न साविकको हेटौडा अस्पताललाई ३०० शैयामा स्तरोन्नति गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा रूपान्तरण गर्ने प्रक्रियालाई अगाडि बढाएको छ ।

प्रतिष्ठानको आफ्नो स्थायी संरचना हेटौडा उपमहानगर पालिका वडा नं. १० मा १० विगाह जमिनमा तयार हुनेछ । हाल हेटौडा उपमहानगर पालिका वडा नं. ११ मा रहेको नवलपुरमा तीन वटा विषयहरू (बी फार्मेसी, वीपीएच र वीएमएलटी) को स्नातक तहको पढाइ गत शैक्षिक सत्रवाट सुरु भई पहिलो सेमेस्टर पूरा भएको रजिष्ट्रार प्रसाईंले जानकारी दिनुभयो । नर्सिङ कार्यक्रमको लागि पूर्वाधार, आवश्यक पाठ्यक्रमको तयारी भइसकेको छ । यस्तै हेटौडा उपमहानगर पालिका वडा नं. ६ मा स्नातक तह लगायतका शैक्षिक कार्यक्रमको आधारभूत विज्ञानका कक्षाहरू सञ्चालन गर्न आवश्यक पूर्वाधार तयारीमा पनि प्रतिष्ठान लागिरहेको प्रतिष्ठानका प्रशासन प्रमुख अमर अधिकारीले बताउनुभयो । हेटौडा उपमहानगर पालिका वडा नं. ८ मा १० कठ्ठा जमिनमा थप पूर्वाधार तयार गरी स्वास्थ्य अनुसन्धान केन्द्र सञ्चालन गरिएको छ ।

प्रतिष्ठानको नेतृत्व बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री कुलपति, स्वास्थ्य मन्त्री सहकुलपति रहने छन् भने प्रतिष्ठानमा उपकुलपति,  शिक्षाध्यक्ष, रजिष्ट्रार र संयोजक रहेका छन् । हाल प्रतिष्ठानमा २० जना शिक्षक तथा २८ जना प्रशासनिक र प्राविधिक कर्मचारीहरू कार्यरत रहेको अधिकारीले जानकारी दिनुभयो ।

 

  • श्रोत : आइएनएस-स्वतन्त्र समाचार

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?