सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दलले साथ दिएन : जितेन्द्र नारायण देव

Read Time = 4 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गर्नु भएको छ ।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहनु भएका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकता सम्बन्धि ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताउनु भएको हो ।

उहाँले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढन पनि पटकपटक आग्रह गर्नु भयो । लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारले ३/४ वटा युगान्तकारी कामहरु गरेको छ । शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । अव मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गईराखेको छ । यही सदनले महिला हिंसा विरुद्धको ऐन संशोधन भएको छ । यही सदनले नागरिकता सम्बन्धि ऐनलाई सशोधन गरेको छ । यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ । यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ ? यो पनि ठिक गरेन ? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं ? जवकि पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ । र, हुनुपर्छ । प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो । तर त्यो रचनात्मक विपक्ष हुनुपर्दछ । तर अत्यन्त नकारवादको शिकार प्रमुख प्रतिपक्ष भईराखेको छ । म चाहन्छु–सम्माननीय अध्यक्ष महोदयमार्फत् सकारात्मक सोच लिएर आउनुस् । अनाआवश्यक ढंगले तिथ्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरुको प्रयोग गरेर, विषयहरु उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तितो राजनीतिक वातावरण हामी नबनाऔं । किनभने अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डाहरु छन, हाम्रो देशको अगाडि, पिपुलको अगाडि । जसमा नेपालका मेजर पोलिटिकल फोर्सहरु एक भएर जानुपर्ने स्थिति छ । यस्तो बेलामा एउटा नयाँ ढंगको पोलिटिकल कल्चर हामीले विकास गरौं भन्ने पहिलो म चाँही अनुरोध गर्न चाहन्छु ।’

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढनुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?