व्याँजानकेगु पुनी गंपुनी पर्वको महत्व

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

काठमाडौं । नेपाली भाषामा व्याँजाको अर्थ हुन्छ भ्यागुतालाई खुवाउन छुट्याउको भाग र नकेगुको अर्थ हुन्छ खुवाउने काम । त्यसैले विशेष गरेर नेवारी संस्कृतिमा किसान वर्गले भ्यागुतालाई खेतमा गएर पूजा गरेर क्वाटी सहितको खाने भाग भ्यागुतालाई अर्पण गर्दछन् ।

वास्तवमा भ्यागुतो पनि पर्यावरण संरक्षण गर्दै मानवीय सभ्यताको संरक्षण्मा रहेको एक प्राणी हो । उसलाई सर्पले खाइदिने भएकाले श्रावण शुक्लपञ्चमी, नागपञ्चमीमा नागको पूजा गरेर खुशी पारेपछि त्यसको लगत्तै आउने पूर्णिमा श्रावण शुक्ल पूर्णिमामा भ्यागुतालाई पूजा गरेर खुवाउने काम गरिने दिन भएकाले यही कर्मसँग जोडेर यसदिनलाई व्याँजा नकेगुपुनी पनि भन्ने गरिएको पाइन्छ ।

बर्षा सुरु हुँदा बडो रमाएर ट्यार ट्यार गरी कराएर खुशी हुने भ्यागुतो कराएमा पानी पर्दछ भन्ने जनश्रुति पाइन्छ । त्यसैले वातावरण सन्तुलन र बर्षासँग सम्बन्धित भ्यागुतो धर्तीको वरद पुत्र किसानहरूको लागि सहयोगी भएकाले पनि उसलाई समेत आदर र सत्कारको प्रतीक हो यो व्याँजा नकेगु पर्व ।

भोजका परिकारमा क्वाटी, फलफूल, चामलको भात, सुपारीलगायतका खाद्य सामाग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई श्रृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिदैँ आएको छ ।

भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आफूलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।

त्यस्तै बौद्ध धर्मावलम्वीहरूको लागि पनि यो श्रावणशुक्ल पूर्णिमा महत्वपूर्ण रहेको पाइन्छ । यसदिन भगवान् गौतमबुद्धले काम क्रोध लोभ मोह आदि विकृतिहरूबाट विजय प्राप्त गरी आफ्नो तपस्याबाट सिद्धि प्राप्त गरेको खुशीमा पनि यो पर्व उत्सवको रूपमा बौद्ध धर्मावलम्वीले बौद्ध विहारहरूमा दीप प्रज्वलन गरी मनाउँछन् र उनीहरूले यो पूर्णिमालाई गंपुनी भन्दछन् ।

त्यसैले यो श्रावणशुक्ल पूर्णिमा हिन्दु धर्मावलम्वी र बौद्धधर्मावलम्वीहरूको लागि मित्रताको प्रतीकात्मक पर्व पनि मानिन्छ ।

हरिहर पोखरेल ‘बार्षिक पर्वमाला’ बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?