नवनिर्वाचित उपराष्ट्रपति धनखरद्वारा शपथ ग्रहण

Read Time = 2 mins

नयाँदिल्ली । नवनिर्वाचित उपराष्ट्रपति जगदीश धनखरले भारतको १४औं उपराष्ट्रपतिका रूपमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँदिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार शपथ ग्रहण गराउनुभएको हो । गत अगष्ट ६ मा भएको निर्वाचनबाट उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँ निर्वाचित भएको घोषणा भने अगष्ट ७ मा प्रमुख निर्वाचन आयुक्त राजिभ कुमार र निर्वाचन आयुक्त अनुपचन्द्र पाण्डेले गर्नुभएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित धनखरसँग विपक्षी गठबन्धन समर्थित उम्मेदवार मार्गरेट अल्भाले प्रतिस्पर्धा गर्नुभएको थियो । भारतको संघीय संसद्मा भएको निर्वाचनमा धनखरले ५२८ मत पाउँदा अल्भाले १८२ मत प्राप्त भएको थियो । यसअनुसार उपराष्ट्रपतिमा निर्वाचित धनखरले ७४.३६ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । सन् १९९७ पछिका ६ उपराष्ट्रपतिमध्ये उहाँले नै सबैभन्दा धेरै मत ल्याउनुभएको हो ।

उपराष्ट्रपति चयनका लागि ७८० जनाले मतदान गर्न पाउने व्यवस्था रहेको थियो । ती मध्ये ७२५ जनाले मात्रै मतदान गरेका थिए । खसेको मतमध्ये पनि १५ मत रद्ध भएको थियो । उपराष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा ३५६ मतको आवश्यकता पर्नेमा धनखरले त्योभन्दा धेरै ५२८ मत प्राप्त गर्नुभएको थियो ।

भारतका नयाँ उपराष्ट्रपति धनखरको जन्म सन् १९५१ को मे १८ मा भारतको राजस्थान राज्यको झुन्झुनुमा सामान्य किसान परिवारमा भएको थियो । उहाँले विद्यालय तहको शिक्षा छत्तिसगढ राज्यस्थित सैनिक विद्यालयबाट पूरा गर्नुभएको थियो भने उच्च शिक्षामा भने भौतिकशास्त्र र कानुन अध्ययन मा गर्नुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?