जितबहादुर खत्री : नेपालले बिर्सन नहुने नाम

Read Time = 19 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र

नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा इज्जत प्रतिष्ठा उच्च बनाई छवि उजिल्याउन धेरै व्यक्तिले महत्वपूर्ण योगदान पुर्‍याएका छन् । ती व्यक्तिको योगदानको मूल्यांकन राष्ट्रले गर्नु आवश्यक देखिन्छ । तर, त्यसो गरिएको भेटिँदैन । यस्तै पंक्तिमा पर्ने एकजना व्यक्तिको नाम हो, जितबहादुर खत्री । नेपाल-तिब्बत-भारत-चीनको सम्बन्धको इतिहासका अध्येताहरू जितबहादुर खत्रीसँग परिचित हुनै पर्दछ । उनैले अन्तर्राष्ट्रिय विवादमा मध्यस्थता गरी आफ्नो कौशल प्रदर्शन गरेर देशको नाम चलाएका थिए । उनै जितबहादुरका विषयमा केही बोल्नै पर्ने देखेर यो आलेख तयार पारिएको हो ।

जितबहादुरका विषयमा चर्चा गर्दा नेपाल भोट सम्बन्धलाई पृथक गर्न सकिँदैन । नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पहिलो राष्ट्र नै भोट हो । नेपाल-भोट सम्बन्ध सातौँ शताब्दीदेखि नै प्रारम्भ भई क्रमशः विकसित हुँदै आएको थियो । तर, नेपालका कूटनीतिक प्रतिनिधि भोटमा रहने व्यवस्था भने सत्रौं शताब्दीमा कान्तिपुरका राजा प्रताप मल्लको पालामा भएको थियो । यस्ता दूतलाई नायो (नायक) भनिन्थ्यो । यस परिपाटीलाई पृथ्वीनारायण शाहले पनि निरन्तरता दिएका थिए । सन् १७८९ को सन्धिले नेपाललाई भोटको राजधानी हृलासामा भारदार सरहको आवासीय दूत राख्न पाउने अधिकार दिएको थियो तर यो सुविधा सन् १७९२ को नेपाल-चीन सन्धिले खारेज गर्‍यो ।

श्री ३ रणोद्दीपका पालामा जितबहादुरलाई सुवेदारमा नियुक्त गरी वकिली अफिसमा प्रवेश गराइएको थियो । उनी श्री ३ वीरशमशेरको पालामा लप्टन भएका थिए । सन् १९०१ मा श्री ३ देवशमशेरले उनलाई वकिलमा नियुक्त गरेका थिए ।

सन् १८५६ मा नेपाल-भोटबीच भएको थापाथली सन्धिबाट नेपालले पुनः भोटमा विशेषाधिकारसहित उच्चस्तरीय भारदारलाई आवासीय दूत नियुक्त गर्ने अधिकार पायो । यस्ता आवासीय दूतलाई वकिल भनिन्थ्यो । नेपाल-भोट सम्बन्धमा यी वकिलले महत्वपूर्ण भूमिका निर्वाह गरे । सन् १८५६ देखि १९५६ बीचमा २० जना नेपाली वकिलले भोटमा रही आफ्नो भूमिका निर्वाह गरेका थिए । यिनै २० जना वकिलमध्ये एघारौँ क्रमका वकिल थिए, जितबहादुर खत्री क्षेत्री । उनको कार्यकाल सन् १९०१ देखि १९१२ सम्म रहृयो । सबैभन्दा लामो समय भोटमा बसी नेपाली प्रतिनिधिका रूपमा कार्य गर्ने उनले कयौँ प्रशंसनीय कार्य गरेका दृष्टान्त छन् ।

श्री ३ रणोद्दीपका पालामा जितबहादुरलाई सुवेदारमा नियुक्त गरी वकिली अफिसमा प्रवेश गराइएको थियो । उनी श्री ३ वीरशमशेरको पालामा लप्टन भएका थिए । सन् १९०१ मा श्री ३ देवशमशेरले उनलाई वकिलमा नियुक्त गरेका थिए । लामो समय भोटमा रहेका हुनाले भोटको स्थानीय रीतिरिवाज, भाषासंस्कृति तथा राजनीतिसँग उनी पूर्णरूपमा परिचित थिए ।

जितबहादुर वकिल नियुक्त भएको समयमा भोट र रुसको बीचमा गोप्य साँठगाँठ भएको खबर आयो । यस घटनाले नेपाल र अंग्रेज दुवै सरकार गम्भीर बनेका थिए । त्यसैले भोटका गतिविधिका विषयमा उनीहरू चनाखो थिए । वीरशमशेरको कार्यकालको अन्तिमतिर भोट-रुसबीच गोप्य सम्झौता भएको तथा दलाई लामा र रुसका बीच गोप्य शिष्टमण्डलको आदानप्रदान भएको विषयमा समयमा नै यथार्थ जानकारी नगराएकामा वकिल इन्द्रध्वजप्रति नेपाल सरकार रुष्ट थियो । यस विषम परिस्थितिमा जितबहादुर वकिल नियुक्त भई हृलासा गएका थिए । नेपाल सरकारले उनको योग्यता र क्षमताको कदर गरेर नै उनलाई वकिल नियुक्त गरेको अनुमान गर्न सकिन्छ ।

जितबहादुर वकिल भएको केही समयपश्चात् नै देवशमशेरलाई पदच्युत गरी चन्द्रशमशेर श्री ३ महाराज हुन पुगे । जितबहादुरले चतुर चन्द्रशमशेरलाई रिझाउन भोट र रुसको गोप्य साँठगाँठ पत्ता लगाउन आकाशपाताल एक बनाए । भोटका अधिकारी, काजी र लामाहरूसँग यथार्थ खबर बुझ्न आफैँ गए । जासुस लगाए । फकाए । धम्क्याए । साम, दाम, दण्ड र भेदको नीति लिए । हृलासास्थित चिनियाँ अम्बान (चिनियाँ बादसाहका दूत) सँग सम्पर्क गरी भोटलाई तह लगाउन सुझाए । अंग्रेज सरकार रुसको प्रभाव रोक्न कटिबद्ध थियो । यस कार्यमा नेपालबाट सहयोग चाहेको थियो । श्री ३ चन्द्रशमशेरले पनि अंग्रेजलाई प्रसन्न बनाउने एउटा उचित अवसर पाए । यस कारणबाट पनि जितबहादुरको दायित्व बढेको थियो ।

उता भोटले अंग्रेजसँग सम्बन्ध नै नराख्ने पृथकीकरणको नीति लियो । साथै चीनको निर्देशनसमेत अवज्ञा ग¥यो । भोटमा रुसको विस्तार रोक्ने उद्देश्यले सन् १८९० र १८९३ मा भएको चीन-अंग्रेजबीचका दुवै सन्धिलाई भोटेले लत्यायो । दलाई लामाले अंग्रेज सरकारले पठाएका पत्रको उत्तर दिन त परै जाओस् चिठी नै नखोली फिर्ता पठाइदिए । भोटमा चीनको पनि कुनै जोर नचल्दा अंग्रेज सरकारले बल प्रयोग गरेर तह लगाउने नीति लियो । सन् १८५६ को थापाथली सन्धिअनुसार नेपालले भोटलाई सहयोग गर्नुपर्ने हो तापनि निर्बल भोटका पक्षमा लागी सबल अंग्रेजलाई चिढ्याउने नीति न त चन्द्रशमशेरको हितमा थियो न त नेपालको हितमा नै थियो ।

रुसको प्रभाव भोटमा विस्तार भएमा नेपालकै स्वार्थमा आघात पुग्ने सम्भावना थियो । यसै पृष्ठभूमिमा भोटमा रुसको प्रभाव पनि नपरोस् र अंग्रेजले पनि भोटमाथि पकड राख्न नसकोस् भन्ने उद्देश्यका साथ नेपाल अगाडि बढ्यो । जितबहादुरले नेपाल सरकारको यसै रणनीतिलाई अंगीकार गरे । उनले भोटका चारकाजीलाई अंग्रेजसँग सुलह गर्न सल्लाह दिए । उनले भोटलाई आफना प्रतिनिधि अंग्रेजसँग वार्ता गर्न खटाउन अनुरोध गरी यस परिस्थितिमा नेपालले सहयोग गर्न नसक्ने कुराको जनाउ दिए । यसैगरी भोटले अंग्रेजसँग पौँठेजोरी खेल्न नहुने भन्दै अंग्रेज बलवान् भएकाले सम्झौता नै गर्न बारम्बार अनुरोध गरे तर यी दुवै प्रयास सार्थक भएनन् ।

अंग्रेजले योङहसबेन्डको नेतृत्वमा भोटमा सैनिक कारबाही गर्ने नै भयो । योङहसबेन्डको नेतृत्वमा अंग्रेजी फौज सामान्य मुठभेडपश्चात् हृलासा पुगिछाड्यो । अंग्रेजहरू हृलासा पुगेको एकदिन अगावै दलाई लामा मंगोलियातर्फ कुलेलम ठोकिसकेका थिए । दलाई लामाले हृलासा छाड्नु, अंग्रेज फौज हृलासा पुग्नु, अंग्रेजसँग लड्ने भोटको बुता नहुनु, चीन र नेपाल दुवै तटस्थ रहनु तथा रुसबाट कुनै सहयोग नआउनुलगायत कारण संघर्षका क्रममा भोटको स्थिति नाजुक भयो । यस विकट संकटको बेलामा अंग्र्रेज-चीन-भोटबीचको एकमात्र सम्पर्कसूत्र जितबहादुर नै हुन पुगे । सबै पक्षले उनीमाथि नै भरोसा गरेका थिए । उनीहरूले यस संकटबाट पार गराउने एकमात्र साधनका रूपमा जितबहादुरलाई नै पाए ।

चिनियाँ अम्बानहरूले पनि कुरा मिलाउन जितबहादुरलाई नै अगाडि सारे । योङहसबेन्डले त्रिपक्षीय सम्झौताको पहल गर्न उनैलाई अनुरोध गरेका थिए । यसैगरी भोटका चारकाजी तथा सम्मानित लामाहरूले पनि नेपाली वकिललाई नै आफ्ना इष्ट सम्झिए । जितबहादुरले पनि दिनरात नभनी तीनवटै सरकारका प्रतिनिधिसँग पटक-पटक यस संकटबाट पार पाउने विषयमा छलफल गरे र सुझाव दिए । केही लेनदेन गरेर भए पनि विवाद समाप्त गर्नै पर्ने राय उनको थियो । एकातिर उनले अंग्रेज फौजलाई स्थानीयसँग कारोबार गर्न ७४ हजार काला मोहोर सापटी दिए भने अर्कोतिर अंग्रेज फौजका घोडाले स्थानीयको बाली नष्ट गर्दा अर्मल पनि दिलाए ।

जितबहादुरले अंग्रेजसँग सम्झौता त गर्ने तर आवासीय दूत राख्न इन्कार गर्ने पनि मन्त्रणा गरे । नेपाली वकिल जितबहादुरकै सत्प्रयास, कूटनीति र निरन्तरको प्रयास एवं वार्ताका कारण सन् १९०४ मा हृलासा सम्झौता भयो । यस सम्झौताका साक्षी पनि उनै बसे । यस सम्झौतापश्चात् अंग्रेजको फौज फिर्ता भयो । सबै पक्षले सुखको लामो श्वास फेरे । चिनियाँ अम्बान, भोटका चारकाजी, योङहसबेन्ड, चन्द्रशमशेर तथा सम्बन्धित सबै पक्षबाट वकिल जितबहादुरको सराहना भयो । उनले सबैबाट स्याबासी पाए । भारतस्थित अंग्रेज सरकारले जितबहादुरलाई नै ठूलै सम्मान दिन चाहेका थिए तर चन्द्रशमशेरले रोके ।

रोलवाला राणाबाहेक अन्य जनसाधारणलाई उच्चतहको तक्मा नदिने प्रचलन भएको जिकिर गरी तल्लो तहको सम्मान प्रदान गर्न उचित हुने सल्लाह दिए । फलस्वरूप जितबहादुरले सिआईको सम्मान र तरबार मात्र पाउन सके । योङहसबेन्डले त नेपाली वकिल जितबहादुरकै मध्यस्थताका कारण हृलासा सम्झौता सम्पन्न हुन सकेको दावा गरे । चिनियाँ अम्बानले समेत सम्मान दिए । भोटका चारकाजीले भने सराहना पनि गरे र नेपालले सैनिक सहयोग नगरेकामा गुनासो पनि गरे ।

सन् १९०४ को हृलासा सम्झौतापछि चीनले भोटमा आफ्नो पकड मजबुत बनाउने उद्देश्यले हृलासामा सैन्यशक्ति बढाउन थाल्यो । चिनियाँ यस कदमको भोटले प्रतिवाद गर्दा चीन-भोटबीच विवाद चर्कियो । भोटका विभिन्न स्थानमा चिनियाँ र तिब्बती फौजबीच संघर्ष चर्कियो । यस विषम परिस्थितिमा पुनः दुवै पक्षले नेपाली वकिल जीतबहादुरलाई मध्यस्थताका लागि अनुरोध गरे । फलतः दुवै पक्षबीच मध्यस्थता गर्दा गर्दै चिनियाँ फौज हृलासा प्रवेश गहृयो । दलाई लामा भारत पलायन भए । त्यस संघर्षको दौरानमा धेरै नेपालीको धनमाल नोक्सान मात्र भएन केहीको त ज्यानसमेत गयो ।

यस विषम स्थितिमा नेपालको इज्जत र स्वार्थ रक्षाका लागि कार्य गर्दै विवाद मत्थर पार्न मध्यस्तकर्ताको भूमिका निर्वाह गर्दागर्दै उनी वकिलबाट पदच्युत भए । त्यस असहज वातावरणकै समयमा जितबहादुरलाई किन पदमुक्त गरियो भन्ने कुरा बहसको विषय बन्न पुगेको छ । लामो समयसम्म भोटमा रहँदा उनले राम्रा काम मात्र त अवश्य पनि गरेका थिएनन् होला । उनीविरुद्ध उजुरी पनि परेको थियो कि ? भोटका अधिकारीहरू उनीप्रति सन्तुष्ट पनि थिएनन् तर किन चीन-भोट संघर्ष चर्किएकै बेलामा उनको तानाबाना गयो ? किन उनलाई पदच्युत गरियो ?

केही कमजोरी जितबहादुरका पनि हुन सक्छन् तर मुलुकको इज्जत राख्ने, अन्तर्राष्ट्रिय विवादमा पहिलोपटक नेपाल सरकारको प्रतिनिधि भई मध्यस्थता गर्दै विवाद समाधान गर्ने तथा विदेशबाट सम्मानित भएका जितबहादुर स्वदेशमा भने अपमानित हुन पुगे ।

अंग्रेज-भोट विवादपश्चात् जितबहादुर सबैतिरबाट हाई हाई हुन पुगेका थिए । अंग्रेज सरकारले उनलाई ठूलै पदक दिन चाहेका थिए तर त्यसो हुन सकेन तथापि रोलवालाबाहेक सर शब्दले सम्मानित हुने उनै थिए । सत्तासीन राणाहरू दुनियाँदार आफ्नै हैसियतमा पुगेको हेर्न किमार्थ चाहँदैनथे । त्यसैले जितबहादुरको बढ्दो लोकप्रियताबाट चन्द्रशमशेर इष्र्यालु हुन पुगेका पनि हुन सक्छन् । दलाई लामा, भोटका चारकाजी एवम् चिनियाँ अम्बानसँग बढेको जितबहादुरको सम्बन्ध पनि चन्द्रशमशेरलाई सुपाच्य हुन नसकेको हुन सक्छ । दलाई लामा र रुसका जारबीचको गुहृय कुरा बुझ्न जितबहादुर असमर्थ पनि भए होलान् । राणा परिवारको आन्तरिक स्वार्थ पनि पूरा गर्न सकेनन् होला ।

केही कमजोरी जितबहादुरका पनि हुन सक्छन् तर मुलुकको इज्जत राख्ने, अन्तर्राष्ट्रिय विवादमा पहिलोपटक नेपाल सरकारको प्रतिनिधि भई मध्यस्थता गर्दै विवाद समाधान गर्ने तथा विदेशबाट सम्मानित भएका जितबहादुर स्वदेशमा भने अपमानित हुन पुगे । हृलासाबाट फिर्ता बोलाइएपछि पनि उनी गुमनाम रहे । जितबहादुरले वकिलको उत्तरदायित्व निर्वाह गर्ने क्रममा धेरै महत्वपूर्ण कार्य गरेका थिए । नेपाली वकिलको मानसम्मान र प्रतिष्ठा बढाउन उनले निरन्तर प्रयास गरे । भोटमा नेपालीहरूले पाएका सन्धिप्रदत्त सुविधाबाहेक परम्परागत रूपमा पाएका सुविधाहरूको सूची तयार गरी जाहेर गरे ।

हृलासा वकिली अदालतअन्तर्गतका कार्यहरूको विस्तृत विवरण उठाई जैसीकोठामा पठाएका थिए । यसका अतिरिक्त भोटमा नेपाली वकिलले पालना गर्नुपर्ने मर्यादा तथा वर्षभरिमा वकिलले भोटमा भाग लिनुपर्ने औपचारिक र अनौपचारिक कार्यहरूको विवरण एवं भोटको रीतदस्तुरका विषयमा हृलासाको दस्तुर किताब नै तयार पारेका थिए । यसैगरी भोटमा रहेका नेपाली खचडाको लगत तथा उनीहरूको आर्थिक र सामाजिक स्थितिजस्ता पक्षमा समेत विस्तृत विवरण तयार पारी सरकारसमक्ष जाहेर गरेका थिए । अंग्रेज-भोट संघर्षमा उनले देखाएको कार्यकौशलका लागि चन्द्रशमशेरले स्याबासी त कति दिए कति तर किन असामान्य परिस्थितिमा उनको पदच्युत भयो ? यो सोधखोजको विषय हो र शोधकै विषय बन्न पुगोस् ।

पुछारमा, जितबहादुर नेपाली कूटनीतिका भीष्मपितामह हुन् । अंग्रेज र चीनबाट सम्मानित हुने पहिलो राणाइतरका व्यक्ति पनि उनै हुन् । तर, विदेशबाट सम्मानित उनी आफ्नै देशमा किन तिरस्कृत भए ? सतीको सराप हो वा देशभन्दा माथि शासक/नेता/हाकिम भएका हुन् ? हिजोले आज देखाएको पो हो कि, के हो ? सबैले यस विषयमा चिन्तन गरी इतिहासबाट सिक्नुपर्छ कि ? यद्यपि इतिहासको सर्वाधिक महत्वपूर्ण शिक्षा भनेको इतिहासबाट कसैले शिक्षा लिएको देखिएन । तथापि यस तथ्यलाई असत्य बनाउन नेपालमा भावी पुस्ता तयार हुने अपेक्षाका साथ यो मन्थन टुंग्याउँछु । अस्तु ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu sapkota.
Bishnu sapkota.
2022-08-12 10:52 am

याे लेख इतिहासकार तथा नेपाली पाठकलाई निकै उपयाेगी तथा सन्दर्भिक छ साथै जीतबहादुरका बारेमा नयाँ जानकारी दिएका छन लेखकले ।जीतवहादुरलाई राणा शासकले हटाउनुकाे कारण र नेपालका शासकले उनको याेगदानकाे कदर गर्न नसकेको घटनाकाे जानकारी याे लेख मार्फत गराइको छ पठकलाइ।

Dr Prem Singh Basnyat
Dr Prem Singh Basnyat
2022-08-12 7:47 pm

An excellently written and valuable history . I salute to the author …

Durga Nidhi sharma
Durga Nidhi sharma
2023-03-23 2:52 pm

Very interesting and thought provoking.

रिलेटेड न्युज

छुटाउनुभयो कि ?