उफ् ! फोहोरको डंगुर कहिलेसम्म ? (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं उपत्यकाको एकमात्र फोहोर विसर्जन गर्ने क्षेत्र सिसडोलका बासिन्दा आन्दोलित बनेको वर्षौं बित्यो । त्यहाँका बासिन्दाले सहज र वैज्ञानिक रुपमा फोहोर विसर्जन गर्नका लागि राज्यसँग पटक/पटक माग गरे । नेताहरु गुहारे, उनीहरूका दैलो/दैलो पनि चहारे ।

तर अहिलेसम्म सिसडोल क्षेत्रको समस्या समाधान हुन सकेको छैन । सिसडोलको समस्याकै कारण राजधानीका बासिन्दा दुर्गन्धमा बस्न बाध्य छन् । राजधानीवासीलाई सहज रुपमा फोहोर व्यवस्थापन गर्छु भनेर एजेन्डा उठाउनुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि केही गर्न सकेको अवस्था भने छैन ।

मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापन गर्न आफूसँग थुप्रै विकल्पहरू भएको बताइरहँदा अहिले राजधानीमा थुप्रिएको फोहोरले उहाँका एजेन्डा र भनाइहरूलाई गिज्याइरहेका छन् । राजधानीमा विभिन्न चोक/गल्लीहरूमा अहिले फोहोरको डंगुर यत्रतत्र देख्न सकिन्छ । जनताले चाँडो फोहोर व्यवस्थापनको काम महानगरले गरिदेओस् भन्ने पर्खाइमा छन् । तर, फोहोरको समस्या उस्तै छ ।

बाटोमा हिँड्नै पनि सकस छ । बटुवाहरू ‘उफ् ! फोहोरको डंगुर कहिलेसम्म ?’ भन्दै नाक थुनेर गन्तव्य तताउनुको विकल्प देख्दैनन् ।

फोहोर विसर्जन गर्ने क्षेत्र अर्थात् सिसडोल जाने सडक अहिले बिग्रिएर गाडी चल्नै नसक्ने भएको छ । त्यहाँको सडक मर्मत हुन नसक्दा काठमाडौंको फोहोर सडकमै थुप्रिएका छन् । रातो पुल छेउमा पनि फोहोरको पहाड नै लागेको छ । ‘ल्यान्डफिल साइटतर्फ जाने खण्डमा सडक मर्मतको कार्य जारी छ, पूरा भएपछि मात्र पुनः राजधानीको फोहोर उठाउन सुरु गर्नेछौं,’ काठमाडौं महानगरले भनेको छ ।

‘फोहोरले ढाकिएको सडक, सडककै ठाउँ/ठाउँमा खाल्डाखुल्डी । सिसडोल क्षेत्रमा हिँड्दै गरेका स्थानीय’ यसर्थ जनतालाई स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई महानगरले यथासम्भव पूरा गरोस् । जनताले धेरै चाहेका छैनन् । घरअगाडिकै फोहोरको पहाड, सडककिनारका फोहोरका डंगुरलाई जतिसक्दो चाँडो व्यवस्थापन होस् भन्ने महानगरवासीको अपेक्षा पनि छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?