खेलाडीलाई बुट र ग्लोभ्स किन्ने रकममा वृद्धि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीका खेलाडीलाई प्रतियोगिताअगाडि फुटबल बुट र ग्लोभ्स किन्न दिदै आएको नगद रकम बढाएको छ । एन्फाको दोस्रो कार्यसमिति बैठकले खेलाडीलाई बुट र ग्लोभ्स किन्न दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

खेलाडीलाई बुट किन्न १० हजार र ग्लोभ्स किन्न ६ हजार नगद दिने निर्णय बैठकले गरेको छ । यसअघि खेलाडीले बुट किन्न ६ हजार र ग्लोभ्स किन्न चार हजार पाउँदै आएका थिए । सिनियर, महिला र जुनियर राष्ट्रिय टोलीका खेलाडीले यो सुविधा पाउनेछन् ।

त्यसबाहेक बैठकले यो वर्षका लागि शहीद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय गरेको छ । बैठकले ‘ए’ डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । ‘ए’ डिभिजन लिग सकिएलगत्तै चैत ६ देखि ‘बी’ डिभिजन लिग सुरु हुनेछ । ‘बी’ लिग २०८० वैशाख १५ गते सम्पन्न हुनेछ । त्यस्तै ‘सी’ डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गतेसम्म आयोजना गर्ने एन्फाले निर्णय गरेको छ ।

यस्तै एन्फाले ‘सी’ डिभिजन लिग भने असोज १ देखि असोज ३० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज २३ देखि मंसिर २ गतेसम्म आयोजना गर्न दिने निर्णयसमेत लिएको छ ।

एन्फा कार्यसमिति बैठकले असोज ११ गते बंगलादेशविरुद्ध दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अलग्गै मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले एकमात्र मैत्रीपूर्ण खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनाउने निर्णय गरेको हो ।

बैठकले अर्को महिना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरेको छ । दशरथ रंगशालामा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुने साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ ५०० र साधारणतर्फ ३०० रुपैयाँ तोकेको छ ।

साफ च्याम्पियनसिपमा दक्षिण एसियाका सातै राष्ट्रका टोलीको सहभागिता रहनेछ । नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’ मा छन् । समूह ‘ए’ मा साबिक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?