दुवै मिलानको सुखद सुरुवात

Read Time = 3 mins

मिलान । इटालियन सिरी ‘ए’ फुटबलमा साबिकको विजेता एसी मिलान र उपविजेता इन्टर मिलानले नयाँ सिजनको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गरेका छन् । एसी मिलानले घरेलु मैदानमा उडिनेसमाथि चार-दुईको पुनरागमन जित निकालेको हो । मिलानोमा शनिबार राती भएको खेलमा घरेलु टोलीको जितमा एन्टी रेविचले दुई तथा थियो हर्नान्डेज र ब्राहिम डियाजले गोल गर्नुभयो । उडिनेसका रोड्रिगो बेकाओ र एडम मसिनाले गोल फर्काउनुभयो ।

खेलको दोस्रो मिनेटमा नै रोड्रिगोको गोलबाट मिलान पछि परेको थियो । १२औँ मिनेटमा थियो हर्नान्डेजले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । १५औँ मिनेटमा एन्टी रेविचले गोल गर्दै मिलानलाई दुई-एकको अग्रता दिलाउनुभयो । पहिलो हाफको इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा एडाम मसिनाले गोल गर्दै खेललाई दुई–दुई गोलको रोमाञ्चक स्थितिमा ल्याउनुभयो ।

दोस्रो हाफको सुरुमै अर्थात् ४६औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मिलानलाई पुनः तीन-दुईको अग्रता दिलाउनुभयो । त्यसपछि ६८औँ मिनेटमा एन्टी रेविचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मिलानलाई सहज जित दिलाउनुभयो । यो जितसँगै मिलानले तीन अंक जोडेको छ ।

अर्काे खेलमा इन्टर मिलानले लेचेलाई दुई-एकले पराजित गर्दै विजयी सुरुवात गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकु डेन्जेल डेम्फ्रेजले गोल गर्नुभयो । लेचेका असान सिसेको गोल सान्त्वना बन्यो ।

खेलको दोस्रो मिनेटमा नै रोमेलु लुकाकुको गोलबाट इन्टरले अग्रता बनाएको थियो । उहाँले माटियो डर्मिएनको पासमा गोल गर्नुभयो । ४८औँ मिनेटमा असान सिसेले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो त्यसपछि इन्जुरी समयको थप गरिएको अन्तिम समयमा परिवर्तित खेलाडी डेन्जेलले गोल गर्दै इन्टरलाई नयाँ सिजनमा जितसहित सुखद सुरुवात दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?