चुनौतीका चाङबीच प्रशिक्षक प्रभाकर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार राती काठमाडौं ओर्लिनुभएको छ । भारतीय प्रशिक्षक प्रभाकरले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो पहिलो लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) लाई निरन्तरता दिने र त्यसपछि टेस्ट मान्यताका लागि प्रयास गर्ने बताउनुभएको छ ।

‘ओडिआई मान्यतालाई कायम राख्नु र टेस्ट मान्यतातर्फ नेपाललाई अघि बढाउनु मेरा लागि धेरै चुनौतीपूर्ण हुनेछ र म त्यसका लागि तयार छु,’ प्रभाकरले भन्नुभयो, ‘म युवा खेलाडीलाई सहयोग गर्नेछु । आफ्नो उत्कृष्ट दिन ध्यान केन्द्रित हुनेछ ।’ म आफैं हिमालबाट आएको छु । म यहाँ काम गर्न चाहन्छु । यहाँको शक्ति र क्षमता फरक हुन्छ । म उत्कृष्ट नतिजा दिनेछु ।’

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले एक वर्षका लागि प्रभाकरसँग सम्झौता गरेको हो । ५९ वर्षीय प्रभाकरले भारतबाट ३९ टेस्ट, १३० ओडिआई, १५४ प्रथम श्रेणी र २१४ लिस्ट ‘ए’ खेल्नुभएको छ ।
प्रभाकरले सन् १९८७, १९९२ र १९९६ मा लगातार तीन विश्वकप खेल्नुभएको छ । १९८७ को विश्वकपमा भारतलाई सेमिफाइनलसम्म पु¥याउन उहाँको उत्कृष्ट प्रदर्शन थियो । १९९६ मा श्रीलंकाविरुद्ध विश्वकपमा खराब बलिङ गरेपछि भने उहाँले त्यसपछि राष्ट्रिय टोलीमा कमै मौका पाउनुभयो ।

वेस्ट इन्डिजसँगको खेलका क्रममा म्याच फिक्सिङ गरेको भन्दै बिसिसिआईले सन् २००० मा उहाँलाई भारतमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । उहाँले गावस्कार, कपिल देव, नवजोत सिंह सिन्धु र मोरेले ड्रेसिङरूपमा म्याच फिक्सिङ गर्ने आरोपसमेत लगाउनुभएको थियो । ६ वर्षपछि उहाँको प्रतिबन्ध हटेको थियो ।

सन् २००७÷०८ को संस्करणमा उहाँले रणजी ट्रफीमा दिल्लीको बलिङ प्रशिक्षकका रूपमा काम गर्नुभएको थियो । २००९/१० मा उहाँ राजस्थानको मुख्य प्रशिक्षक बन्नुभयो । २०१५ देखि २०१६ मा भारतमा भएको टी–२० विश्वकपसम्म अफगानिस्तानको बलिङ प्रशिक्षकको भूमिका पनि उहाँले निर्वाह गर्नुभयो ।

पछिल्लो समय नेपालको प्रदर्शन राम्रो नभएका कारण उहाँ चुनौतीका चाङबीच नेपाल आइपुग्नुभएको छ । जुन स्वयं उहाँ आफैंले समेत बुझ्नुभएको छ ।

‘ओडिआई मान्यतालाई कायम राख्नु र टेस्ट मान्यतातर्फ नेपाललाई अघि बढाउनु मेरा लागि धेरै चुनौतीपूर्ण हुनेछ र म त्यसका लागि तयार छु ।’

‘अन्तर्राष्ट्रियस्तरमा टिम निर्माणको चुनौती हो । मसँग अनुभव छ । युवा खेलाडीलाई कसरी सुधार गर्ने मलाई थाहा छ,’ उहाँले भन्नुभयो, ‘उनीहरू सधैं संघर्ष गर्दै आएका छन् । यो सानो मानसिक कुरा हो । त्यो हामी ठीक गर्नेछौँ । त्यसैले म यहाँ आएको छु । दुई-तीन महिनामै उनीहरूमा फरक पाउनुहुनेछ ।’

प्रभाकरका अघि नेपाली ब्याटिङ सुधार्ने मुख्य चुनौती हुनेछ । उहाँले नेपाली ब्याटिङ सुधार्न आफूले काम गर्न चाहेको बताउनुभयो ।
‘म नेपाली क्रिकेटमा ब्याटिङमा सहयोग गर्न चाहन्छु । बलर फरक तरिकाले तयार हुनेछन् । तपाईं बोर्डमा राम्रो लक्ष्य दिनुहुन्छ भने त्यसै फरक हुनेछ । त्यसैले ब्याटिङ सुधारमा केन्द्रित हुनेछौँ,’ उहाँले भन्नुभयो । प्रभाकरले छोटो समयमा युद्धस्तरमा यस क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ ।

यस्तै प्रभाकरका लागि नेपाली टोलीमा अर्को मुख्य चुनौती भनेको टिमभित्रको गुट अन्त्य गर्नु हुनेछ । नेपालका प्रमुख खेलाडी दुई धारमा छन् । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ललगायत खेलाडीहरूलाई कारबाही गरेपछि यो समस्या झनै बल्झिएको थियो । प्रभाकरले टोलीमा रहेको गुटवादलाई अन्त्य गर्नुपर्ने अर्को चुनौती हुनेछ ।

प्रभाकरका लागि अर्को मुख्य चुनौती ओडिआई मान्यता निरन्तरता दिनु हुनेछ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । नेपाल २० खेलमा आठमा जित र ११ मा हार र १७ अंकका साथ छैटौँ स्थानमा छ । नेपालले १६ खेल खेल्न बाँकी छ । आठ खेल होम र आठ खेल अवेमा खेल्नुपर्ने हुन्छ । नेपालले ओडिआई मान्यतालाई निरन्तरता दिन कम्तीमा १० खेल जित्नुपर्ने हुन्छ । नेपालले पपुवा न्युगिनी र नामिबियामा गएर खेल्नुपर्ने हुन्छ । यी दुवै देशको वातावरणमा खेल्न नेपाललाई सहज हुने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?