अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रको सन्यास

हिमालय टाइम्स
Read Time = 7 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गर्नुभएको हो । ‘मैदानको हरेक पाइलामा आफ्नो देशको प्रतिनिधित्व गरेकोमा म खुसी छु । तर, प्रकृतिको नियम हो जन्म पछि मृत्यु अवश्य हुन्छ । क्रिकेटमा पनि कुनै समय मैले कसैलाई रिप्लेस गरेको थिएँ होला यो मेरो समय हो,’ ज्ञानेन्द्रले संन्यास घोषणा गर्दै भन्नुभयो, ‘त्यसैले मैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा विराम लगाएर एउटा फरक तरिकाले नयाँ सुरुवात गर्ने निर्णय गरेको छु ।’

मल्लले यो आफ्नो बिदाइ मात्र नभएर नयाँ अध्याय सुरुवात रहेको बताउनुभएको छ । ‘एउटा यात्रा जहाँ म खेलकुदको कठ्ठर समर्थक यसको विकासको साक्षी र मेरो माया गर्ने देशको झण्डा सधैँ उच्च भएको हेरेर बस्नेछु,’ उहाँले भन्नुभएको छ । सन् २००६ मा नेपाली क्रिकेटमा डेब्यु गर्नुभएपछि ज्ञानेन्द्रले ३७ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सात अर्धशतकसहित ८७६ रन बनाउनुभएको छ । उहाँ ओडिआईमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटरसमेत हुनुहुन्छ । यस्तै, टी-२० इन्टरनेसनलमा मल्लले एक शतक र दुई अर्धशतकसहित ८८३ रन बनाउनुभएको छ ।

दशवर्ष नेपाली टोलीको उपकप्तान रहेपछि सन् २०१९ मा पारस खड्काले संन्यास लिनुभएसँगै उहाँको स्थानमा ज्ञानेन्द्र कप्तान बन्नुभएको छ । त्यसपछि झण्डै दुईवर्ष उहाँले नेपाली टोलीको नेतृत्व लिनुभयो । पछि खेलाडीको पारिश्रमिकको विषयमा नेपाल क्रिकेट संघ (क्यान)सँग विवाद भएपछि उहाँलाई कप्तानबाट हटाइएको थियो ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, ज्ञानेन्द्रलाई च्याम्पियन क्रिकेटर, एउटा योद्धा र शानदार टिममेट भन्न रुचाउँछन् । ज्ञानेन्द्रले संन्यास घोषणा गर्नुभएपछि पारसले लेख्नुभएको छ, ‘ज्ञानेन्द्र मल्ललाई नेपाली क्रिकेटमा पु¥याउनुभएको योगदानप्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्न चाहन्छु । उहाँ एउटा च्याम्पियन क्रिकेटर, एउटा योद्धा र शानदार टिममेट हुनुहुन्छ । देशका लागि तपाईंको समर्पण अद्धितीय रह्यो । तपार्इंसँग ड्रेसिङ रुम सेयर गर्न पाउँदा निकै खुसी छु । आगामी यात्राको शुभकामना दिन चाहन्छु ।’

नेपाली क्रिकेट टिमले हालसम्म पाएको प्राविधिक रूपमा निपूर्ण खेलाडी ज्ञानेन्द्रलाई मानिन्छ । लामो समय शीर्षक्रममा खेल्नुभएका ज्ञानेन्द्रले केही समय ओपनर ब्याटरको पनि भूमिका निर्वाह गर्नुभएको थियो । ३७ ओडीआई खेल्दा उहाँको सर्वाधिक स्कोर ७५ थियो । २०१८ अगष्ट १ तारिखका दिन नेपालले पहिलो ओडिआई खेल खेल्दा नेदरल्यान्ड्सविरुद्धको उक्त खेलको एक सदस्य ज्ञानेन्द्र हुनुहुन्थ्यो । उहाँले अन्तिम खेल जिम्बाम्बेको हरारेमा आयरल्याण्डविरुद्ध यसैवर्ष जुलाई ४ मा खेल्नुभयो ।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप प्रतियोगितामा उहाँले टी-२० आईमा डेब्यु गर्नुभएको थियो । उहाँले टी-२० आईको अन्तिम खेल केन्याविरुद्ध नैरोबीमा ३० अगष्ट २०२२ मा खेल्नुभयो । लिष्ट ‘ए’ मा ७७ खेल खेल्दै उहाँले १८०२ रन बनाउनुभएको थियो । ‘झण्डै दुई दशक चन्द्रसूर्य अंकित जर्सी लगाएर देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ । कप्तान र उपकप्तान बनेर देशको झण्डा काँधमा बोकेर देशको प्रतिनिधित्व गर्न पाएँ,’ ज्ञानेन्द्र आफ्नो करिअर सम्झनुहुन्छ, ‘राष्ट्रको आशा र सपनाको प्रतिक बनेर मैदानमा उत्रेर आफ्नो शतप्रतिशत दिन पाएँ । यो अवसरका लागि म धेरै कृतज्ञ छु । समग्रमा भन्नुपर्दा म निकै सन्तुष्ट छु ।’

उहाँले संन्यासका क्रममा यहाँसम्मको यात्रामा साथ दिने सम्पूर्णलाई धन्यवाद दिनुभयो । ‘सानो हुँदादेखि नै मलाई यो खेल खेल्नमा हौसला दिने मेरो टोल भीमसेन स्थानका मेरा अग्रज दाइहरू साथीभाइहरू । मरो क्रिकेटलाई राष्ट्रिय क्रिकेट टोलीसम्म पु¥याउन सहयोग गर्ने एंगाल क्लब । विनोदराज भण्डारी दाई उहाँलाई सम्झन चाहन्छु । मेरो परिवार विशेष गरी मेरो श्रीमती जसले मेरो हरेक सुख दुःखमा साथ दिइन् । मेरो छोरी क्रिकेटको खुसी बनिन् । मेरो क्रिकेटलाई आकार दिन सहयोग गर्ने क्रिकेट प्रशिक्षक समर्थकलाई पनि आभार व्यक्त गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?