घोराही बजार आसपासको नाला र फूटपाथ बनाउने म्याद थपका थप

Read Time = 5 mins

-विवेक खड्का
दाङ । शहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत घोराही बजार आसपासमा बन्दै गरेको नाला र फूटपाथ बनाउने म्याद फेरि थप गर्ने तयारी छ ।

२०७८ असार १५ गतेभित्रै सक्नुपर्ने गरी २०७७ चैत १ गते सम्झौता भएको उक्त ठेक्काको एक पटक म्याद थपेर पनि फेरि थप गर्ने तयारी शहरी विकास तथा भवन कार्यालय दाङले गरेको छ ।

घोराही उपमहानगरपालिकाअन्तर्गत घोराही बजारमा इन्टरलकिङ ब्लक/छाप्ने ढुंगा प्रयोग गरी सडक तथा फूटपाथ निर्माण शीर्षकमा विनियोजित बजेटमा आत्रेय/पूर्णचन्द्र/बस्नेत जेभीसँग भ्याटबाहेक चार करोड ८१ लाख २३ हजार सात सय दुई रुपैयाँमा सम्पन्न गर्ने सम्झौता भएको थियो । शहरी विकास तथा भवन कार्यालय दाङका सूचना अधिकारी प्रेमप्रकाश खड्काले दिएको जानकारी अनुसार पछिल्लो पटक म्याद थपका लागि पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयमा गएको मंसिर १९ गते पत्र पठाइएको थियो । २०७९ साउन ८ गते निर्माण कम्पनीले २०७९ फागुन २५ गतेभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि अहिले फेरि २०७९ फागुन २९ गतेसम्मका लागि म्याद थप गर्न मन्त्रालयमा पत्र पठाइएको छ ।

घोराही बजारको तुलसीपुरचोक (भानुचोक) देखि गुलरिया चोकसम्म, नेपाल बैंक लिमिटेड अगाडिदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन कार्यालयसम्म र बुद्ध हस्पिटल अगाडिबाट धारापानी जाने रोडको भरतपुर क्याम्पसको अन्तिम प्वाइन्टसम्म नाला र फूटपाथ बनाउन ठेक्का सम्झौता भएको थियो । २०७८ असार १५ सम्म करिब चार महिनाको अवधिमा काम सम्पन्न नभएपछि २०७८ भदौ ३ गतेको मन्त्रिपरिषद् निर्णयलाई आधार बनाएर २०७८ असोज २२ गते पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले चैत ३० गतेसम्म म्याद कायम गरेको थियो ।

प्रगति कति ?

घोराही बजार आसपासमा बन्दै गरेका नाला र फूटपाथको काम अन्तिम चरणमा रहेको शहरी विकास तथा भवन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी खड्काले भौतिक प्रगति ८० प्रतिशत भएको र वित्तीय प्रगति ७० दशमलव ९१ प्रतिशत भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ठेकेदारले तीन करोड ८५ लाख ५९ हजार पाँच सय ७५ रुपैयाँ लगिसकेका छन् । हाल सम्म पाँच हजार छ सय ४३ दशमलव ३८ रनिङ मिटर कर्भ स्टेशन, तीन हजार चार सय ६० रनिङ मिटर पक्की नाली र चार हजार तीन सय ३ दशमलव ९१ रनिङ बर्ग मिटर इन्टरलकिङ ब्लकको काम सम्पन्न भइसकेको छ ।

अझै सहिदगेटदेखि अदालतसम्म, महेन्द्र बहुमुखी क्याम्पस भरतपुर अगाडि र बुद्ध हस्पिटल अगाडिको उकालोमा नाला र फुटपाथको काम बाँकी रहेको कार्यालयले जनाएको छ । दीपशिखा रोडमा फिनिसिङ र टुटफुटको काम बाँकी रहेको शहरी विकास तथा भवन कार्यालय दाङका इञ्जिनियर मनोज नेपालीले जानकारी दिनुभयो ।

किन हुँदैन समयमा काम ?

शहरी विकास तथा भवन कार्यालय दाङका इञ्जिनियर मनोज नेपालीले विभिन्न कारणले ठेक्का पट्टाको काममा ढिलाइ हुने गरेको बताउनुभएको छ । घोराही बजार आसपासमा बन्दै गरेका नाला र फूटपाथको कामसमेत हेरिरहनुभएका उहाँले कोभिड महामारी, बेमौसमी वर्षात, स्थानीय निकायको निर्वाचन, सामग्रीमा भएको अप्रत्याशित मूल्य बृद्धि र निर्माण व्यवसायी महासंघले गरेको होलिडेका कारण समयमा काम सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कतिपय ठेक्कामा ठेकेदारले धेरै ठेक्का लिँदा समेत समयमा काम सम्पन्न नहुने गरेको पाइएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?