गलेश्वरमा एक महिनामा १९ लाख भेटी संकलन, एक लाख ३० हजार भक्तजन

Read Time = 6 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा साउन महिनामा मात्रै झण्डै रु १९ लाख भेटी चढेको छ ।

साउन महिनामा गलेश्वर शिवजीको दर्शन र पूजाआजा गर्न आएका भक्तजनहरुबाट उक्त रकम (भेटी)चढेको गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ ।

साउनमा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल १८ लाख ९० हजार दुईसय ५३ रुपैयाँ भेटी संकलन कोषका कोषाध्यक्ष कुमारी रोका मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष साउनको पहिलो सोमबार तीन लाख ३३ हजार ५ सय ६६, दोस्रो सोमबारमा तीन लाख १९ हजार तीनसय ३२, तेस्रो सोमबार तीन लाख ७ हजार १३ रुपैयाँ, चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबार ४ लाख ६९ हजार ९ सय २९ भेटी सङ्कलन भएको हो । यस वर्ष साउनमा परेका पाँचवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम तेस्रो सोमबार भेटी संकलन भएको छ ।

गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन,नवलपुर,नवलपरासी, काठमाडौं र बझाङ जिल्लाका साथै छिमेकी भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरु दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । पाँचवटा सोमबार पर्नुका साथै गएको दुईवर्ष कोरोनाको कारणले पुजाअर्चना गर्न नपाएका भक्तजनहरुले यसवर्ष गलेश्वर पुगेर पुजा गरेका छन् ।
यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट १ लाख ३० हजारभन्दा बढी भक्तजनहरु आएको कोषले जनाएको छ । मन्दिरमा संकलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा गणना गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

ठूला पर्वमा भोलीपल्टै र नियमित महिनाको २ पटक गन्ने गरिन्छ । दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी, स्वास्थ्य निकाय,र ज्येष्ठ नागरिकको व्यवस्थापन र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको छ ।
प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएकाले पनि भक्तजनलाई यसबर्ष सहज भएको छ ।

गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?