खेलाडी छनोट मापदण्ड तयार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी छनोटको मापदण्ड तयार गरेको छ । बागमतीले पहिलो बागमती प्रदेश खेलकुदमा समावेशमध्ये सात खेलका खेलाडीको प्रदेश छनोटको मापदण्ड तयार गरेको हो । बागमतीले प्रदेश खेलकुदमा समावेशमध्ये भलिबल, फुटबल, क्रिकेट, कराँते, तेक्वान्दो, एथलेटिक्स र बक्सिङ खेलका खेलाडी छनोटका लागि ६ वटा आधार बनाएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव सूर्यलाल भण्डारीले प्रदेशको बलियो टिम निर्माणका लागि मापदण्ड बनाएर खेलाडी छनोटको आधार तयार गरिएको बताउनुभयो । उहाँका अनुसार प्रथम बागमती प्रदेशस्तरीय खेलकुदमा व्यक्तिगत स्पर्धामा पहिलो र दोस्रो स्थान हासिल गरेका खेलाडी तथा टिम स्पर्धामा छनोटमा परेका खेलाडीलाई प्रदेश छनोटको पहिलो आधार बनाइएको छ ।

त्यस्तै, दक्षिण एसियाली खेलकुद सागमा सहभागिता जनाएको, राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेको, राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण पदक जितेको, विभागीय टिमबाट करार भंग गरेर आउन चाहने खेलाडी र १९औँ एसियन गेम्सको बन्द प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रदेश छनोटमा समावेश गरिने आधार बनाइएको छ ।

मापदण्डमा आउने खेलाडीबाट छनोट गरेर प्रदेश टिम तयार गर्ने बागमती प्रदेश खेलकुद विकास परिषद्को तयारी छ । बागमतीले नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने प्रदेशका खेलाडीलाई ४५ दिनको बन्द प्रशिक्षणमा राख्ने निर्णय गरिसकेको छ । राष्ट्रिय खेलकुदमा ३६ वटै खेलमा सहभागी हुने तयारी गरेको बागमतीले जिल्ला छनोट भदौ १० भित्र र प्रदेश छनोट २० गतेभित्र सक्ने बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?