फिफाद्वारा भारत निलम्बित

हिमालय टाइम्स
Read Time = 5 mins

नयाँदिल्ली । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल भारतीय फुटबललाई निलम्बन गरेको छ । फिफाले इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) मा बाहृय हस्तक्षेप भएको जनाउँदै अनिश्चितकालका लागि निलम्बन गरेको हो । फिफाले यसअघि पनि पटक–पटक दिएको चेतनावनी विपरीत अगाडि बढेको र विधान विपरीत कार्य हुँदै आएको जनाउँदै भारतीय फुटबललाई निलम्बन गरेको हो । केही महिनाअघि मात्र भारतको सर्वोच्च अदालतले एआइएफएफको तत्कालीन कार्यसमिति भंग गर्दै आफैं कमिटी गठन गरेपछि फिफाले सो कार्य कार्यान्वयन नगर्न र कार्यान्वयन गरेमा आफूहरूलाई त्यो सहृय नहुने भन्दै प्रतिबन्धको चेतावनी दिएको थियो ।

तर, आफूहरूले दिएको चेतावनी विपरीत सर्वोच्च अदालतले हस्तक्षेप गर्दै चुनाव गरेपछि फिफाले भारतीय फुटबललाई निलम्बन गरेको हो । अनिश्चितकालका लागि भएको निलम्बन अब फिफाले एआइएफएफको चुनावी साधारणसभाबाट आएको कार्यसमितिले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको छ ।

निलम्बनमा परेसँगै सन् २०२२ अक्टोबर ११ देखि ३० सम्म भारतमा तय भएको यु–१७ महिला विश्वकप अन्यत्र सर्ने भएको छ । फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रियरूपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न नपाउने भएको छ । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् ।

महिला साफ च्याम्पियनसिपमा ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुने
फिफाको निलम्बनसँगै भारतले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा समेत सहभागिता जनाउन नपाउने भएको छ । अब नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपमा ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुने भएको छ ।

भदौ २१ देखि असोज २३ गतेसम्म दशरथ रंगशालामा हुने साफ च्याम्पिनसिपका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि नै समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको थियो । च्याम्पियनसिपको छैटौँ संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारत बाहिरिएपछि समूह ‘ए’ मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहनेछन् ।

भारत च्याम्पियनसिपको साबिक विजेता हो । पहिलाको भन्दा अब च्याम्पियनसिपमा तीन खेल कम गरी नौ खेलमात्र हुनेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ६ खेल तथा दुई सेमिफाइनल र फाइनल खेल हुनेछन् । साफले अब खेलतालिका भने संशोधन गर्ने सम्भावना रहन्छ ।

कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ । पहिलो चरणमा ५८ खेलाडी छनोट भएका थिए भने अहिले ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । पाँचौँ संस्करण विराटनगरमा भएको थियो । त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो ।

हालसम्म पाँच संस्करणमध्ये नेपाल चारपटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो । भारत नहुँदा नेपाली टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ ।

त्यस्तै श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिपमा पनि अब भारतले सहभागिता जनाउने छैन । उक्त प्रतियोगितामा नेपाल र भारत एकै समूहमा थिए । भारत नखेल्ने भएसँगै अब प्रतियोगिता राउन्ड रोबिन पद्धतिमा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंका, नेपाल, माल्दिभ्स, बंगलादेश र भुटान खेल्नेछन् । प्रतियोगिता ५ देखि १४ सेप्टेम्बरमा हुने तय भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?