खेलाडीको मोह विभागीय टिमतिर

हिमालय टाइम्स
Read Time = 7 mins

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशबाट कुस्ती खेलमा एसियाली खेलकुद प्रतियोगितासम्म प्रतिस्पर्धा गर्नुभएका कुस्तीका राष्ट्रिय खेलाडी सुरेश चुनारा केही वर्षअघि नेपाली सेनाको त्रिभुवन आर्मी क्बलमा आबद्ध हुनुभयो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा समेत पदक दिलाउनुभएका चुनारा अहिले क्लबमा आबद्ध हुँदै सेनाको जागिरेसमेत भइसक्नुभएको छ । कुस्तीमा सुदूरपश्चिमकै मिहिनेती खेलाडीका रूपमा चर्चा बटल्नुभएका चुनारालाई अहिले आर्मी क्लबभित्र पनि कुस्तीमा आशलाग्दा खेलाडीका रूपमा हेरिन्छ ।

सुरेशमात्रै होइन, मुुलुकमै कुस्तीमा अब्बल देखिएको कञ्चनपुरमा यतिबेला पदकधारी खेलाडी अधिकांश विभागीय टिमतिर लागेका छन् । पछिल्लो समय राष्ट्रिय प्रतियोगितामा आफ्नो उमेर समूहमा पदक जितेका कुस्तीका महिला खेलाडी शिवानी दुबे, निर्मला जाग्री र नीरा औजीलगायतका खेलाडी आर्मी क्लबमा छन् ।

पछिल्लो समय सम्भावनाका रूपमा हेरिएको कुस्ती सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्रै प्रशिक्षण हुन्छ । कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द र कुस्ती संघको पहलमा यहाँ कुस्ती प्रशिक्षण केन्द्र स्थापनाको पहल गरिए पनि हाल निर्माणाधीन हल अधुरो छ ।
लामो समयदेखि कुस्तीका खेलाडी जिल्ला खेलकुद विकास समितिको साँघुरो कोठामा प्रशिक्षण गर्न बाध्य छन् । ‘खेलाडी संरक्षण नपाएपछि सबै विभागतिर लाग्न थाले,’ कबर्डहलमा प्रशिक्षण गरिरहनुभएकी कुस्तीकी राष्ट्रिय खेलाडी मनिषा सिंहले भन्नुभयो, ‘अहिले नयाँ खेलाडी खोजेर नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी गर्नुपर्ने अवस्था छ ।’

उहाँले राज्यले खेलाडीको रोजगारी र सुविधामा ध्यान नदिँदा खेलाडी विभिन्न विभागीय टिममा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । कुस्तीमात्र नभई यहाँ भलिबल, बक्सिङ, कबड्डी, हक्की, क्रिकेटलगायत खेलका खेलाडीहरूले पनि विभागीय टिमबाट खेलिरहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टको भनाइ छ । ‘नवौँ राष्ट्रिय खेलकुद असोज तेस्रो सातादेखि पोखरामा हुने भनिए पनि यहाँ अहिले खेलाडीको फारम दर्ता चलिरहेको छ,’ कार्यालय प्रमुख भट्टले भन्नुभयो, ‘बृहत् राष्ट्रिय प्रतियोगितामा हुने ३६ मध्ये कञ्चनपुरले ३१ खेलमा खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराउँछ ।’

उहाँले कुस्ती, भारोत्तोलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायत खेलमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदकको आशा गरिएको बताउनुभयो । ‘विसं २०३८ यता भएका बृहत् राष्ट्रिय खेलकुदमा सुदूरपश्चिममा सबैभन्दा बढी मेडल र खेलाडी सहभागी कञ्चनपुरकै छन्,’ उहाँले भन्नुभयो, ‘अहिले प्रदेश खेलकुद परिषद्ले खेलाडी छनोटका लागि विभिन्न चरणमा छलफल अघि बढाएको छ ।’
कार्यालय प्रमुख भट्टले फारम दर्ता सकिएपछि खेलाडीको जिल्ला र त्यसपछि प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने बताउनुभयो । कञ्चनपुरले कबड्डी, बक्सिङ, भलिबल, हक्की, फुटबल, कुस्ती र क्रिकेटलगायत खेलमा सयौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पदक दिलाउने खेलाडी जन्माइसकेको छ ।

त्यसैगरी भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले विभागीय टिम सबैमा गरेर ४० प्रतिशत खेलाडी सुदूरपश्चिमका रहेको दाबी गर्नुभयो । ‘अन्तिम अवस्थामा टिमको सहभागिताले मात्रै नतिजा राम्रो आउँदैन,’ प्रशिक्षक भट्टले भन्नुभयो, ‘सुदूर खेलाडी उत्पादनमा अब्बल देखिए पनि संरक्षणमा भने कमजोर देखियो ।’ अरू प्रदेशमा खेलाडीको संरक्षण र सुविधामा ध्यान पुग्दा विभागीय टिममा जानेक्रम कम भएको उहाँको भनाइ छ ।

त्यसैगरी बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले लामो समयदेखि सुदूरपश्चिम खेलाडी उत्पादनमा अग्रस्थानमा रहेको बताउनुभयो । ‘खेलाडीको प्रोत्साहनका लागि राज्यले कानुन बनाएरै जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘खेलाडीलाई उत्प्रेरित गर्ने काममा राज्यदेखि यहाँका उद्योगी, व्यवसायी हुँदै संघसंस्थाको पनि भूमिका हुनुपर्छ ।’ उहाँले विद्यालयस्तरबाटै खेलाडी उत्पादनको सुरुवात हुने भएकाले निजी तथा आवासीय विद्यालय सञ्चालक पनि खेल र खेलाडीप्रति अझ बढी उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

‘स्वर्ण पदक जित्ने खेलाडीलाई प्रोत्साहन गर्न निजी क्षेत्र र विद्यालय सञ्चालकको पनि भूमिका देखिनु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘मेडल ल्याउने तर वास्ता नहुने प्रवृत्तिले पनि खेलाडीमा निराशामात्रै छायो ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीलाई सुविधासहित बन्द प्रशिक्षणमा राख्नुपर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?