गाजापट्टी । इजरायल-हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौँको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेष्टिनी कैदीहरूको रिहा गरिने भएको छ । अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरु भएको द्वन्द्व दुवै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ ।
शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही संख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थताकर्ताहरूले बताएका छन् । प्यालेस्टिनी कैदीको यकिन संख्याबारे भने मध्यस्थताकर्ताहरूले बताएका छैनन् । चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन् । यदि सहमतिअनुसार चार दिनमा ५० बन्धकलाई रिहाइ गरिएमा यसपछि अनुमानित अझै १९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहनेछन् ।
सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीनजना प्यालेस्टिनी कैदी अर्थात् कुल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ । गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौँदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ । गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करिब १५ हजार प्यालेस्टिनीको मृत्यु भएको र अनगिन्ती विस्थापित भएको जनाएको छ । हताहतको यकिन संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव छ, तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूको लागि, हिंसामा विराम हुन यसपहिले नै धेरै ढिलो भइसकेको थियो ।
कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन् । इजिप्टको एक सुरक्षा स्रोतले एएफ्पीलाई बताएअनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस-रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट-गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ । एएफ्पीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका करिब २४० मध्ये २१० जनाको सनाखत भएको पुष्टि गरेको छ । बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए, जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा सोभन्दा कम उमेरका थिए ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको जनाएको छ । कुन बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा बन्धकहरूलाई राखिएको छ भन्नेबारे सार्वजनिक रूपमा थोरै मात्र जानकारी छ । ‘आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिको लागि मात्र तयार हुन सक्छौँ’, बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले भन्नुभयो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरूको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ । सूचीमा को को छन् भन्नेबारे भने खुलाइएको छैन । कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुनसक्ने बताइएको छ । यो सम्झौता गाजामा रहेका २४ लाख जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ । इजरायली अधिकारीहरूले लगभग एक हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन् ।
गाजापट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् ।
विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो । विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिनुभयो ।
जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो । भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेका मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गर्नुभएको थियो । यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच