राष्ट्रपतिले उठाउनुभएका विषय महत्वपूर्ण छन् : गगन थापा

Read Time = 5 mins

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनुभएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको स्वीकार गर्नुभयो ।

उहाँले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताउनु भयो । उहाँले विधेयक पास नगर्दा नेपाली नागरिकहरु नै अधिकारबाट वञ्चित रहने पनि बताउनु भयो । सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताउनु भयो । उहाँले वैवाहिक अंगीकृतका सम्बन्धमा राष्ट्रपति भण्डारीले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउनु भयो । वैवाहिक अंगीकृतका सम्बन्धमा जाँदा पनि लैंगिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको छ । प्रादेशिक पहिचानको व्यवस्था, समानार्थ नागरिकता प्राप्तिका लागि लगायत संविधान प्रदत्त नागरिकता सम्बन्धी सबै प्रावधानलाई समेट्नुपर्ने विषय उठाउनुभएको छ । लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरु छन् भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा पनि छलफल गरेका थियौँ । संशोधन पनि राखेका थियौँ । खास गरेर आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ हामी सबै सचेत रहने कुरालाई गम्भीरताका साथ उठाउनुभएको छ । केही कुराहरुका लागि भने संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । वैवाहिक अंगीकृतका सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्नुभएको छ, त्यो ठिक हो । हामीले आज यो विधेयक पारित गरेनौँ भने वैवाहिक अंगीकृतको सम्बन्धमा ७,८,९ वर्ष जे भन्छौं त्यो व्यवस्था लागू हुन्छ भन्ने लाग्छ । तर त्यो सत्य होइन भन्ने हामी सबैलाई थाहा छ । यो विधेयक पारित गरेनौँ भनेपनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त एउटा व्यवस्था छ । वैवाहिक अंगीकृतका सम्बन्धमा बितेको ४० वर्षदेखि एउटै व्यवस्था छ । आज यो विधेयक रोक्दा नेपाली नागरिकबाट जन्मिएकाले नागरिकता पाउँदैनन् । तर वैवाहिक अंगीकृतका सम्बन्धमा हामीले रोकेपनि पाउँछौँ । त्यो प्रावधान त छ । वर्ष राखौँ तर राख्दै गर्दा लैंगिक समानता हुनुपर्छ । सरकारले ल्याउँदै गर्दा तत्काल जे आवश्यक छ त्यो ल्याएको छ, भोलि संशोधन गर्दै जाने हो ।’

सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको बताउनु भयो । उहाँले संविधान संशोधन गरेर भएपनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?