रुसमा जनसंख्या घट्दै, धेरै बच्चा जन्माउनेलाई ‘मदर हिरोइन’ पुरस्कार दिने

हिमालय टाइम्स
Read Time = 2 mins

मस्को । रुसको जनसंख्या लगातार घटिरहेको छ । जनसंख्या बढाउनका लागि राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरूलाई १० सन्तान जन्माउन आग्रह गर्नुभएको छ । त्यसो गर्ने महिलालाई २१ लाख रुपैयाँ पुरस्कार दिइने बताइएको छ ।

उनीहरूलाई ‘मदर हिरोइन’ नामक पुरस्कार पनि दिइनेछ । दोस्रो विश्वयुद्धको समयमा सन् १९४४ मा यो पुरस्कार स्थापना गरिएको थियो । सन् १९९१ मा सोभियत संघ भंग भएपछि यो पुरस्कार दिन बन्द गरिएको थियो ।

राष्ट्रपति पुटिनले जारी गरेको आदेशमा महिलाको १०औं सन्तान जन्मेको एक वर्षमा २१ लाख रुपैयाँ खातामा जाने उल्लेख छ । कुनै सन्तानको मृत्यु भएछ भने पनि आमालाई सबै रकम दिइनेछ ।

रुसको जनसंख्या दशकौंदेखि लगातार घटिरहेको छ । मानिसहरूमा बच्चा पाउने कुनै उत्साह छैन । रुस युक्रेन युद्धका कारण कैयौं रुसी सैनिकको ज्यान गएको छ । त्यसअघि कोरोना महामारीले पनि धेरै रुसीहरूको ज्यान लिएको थियो ।

रुसको जनसंख्या अहिले साढे १४ करोड रहेको अनुमान छ । कम जन्मदर तथा बुढो हुँदै गएको जनसंख्याको समस्या रुसमा मात्र नभई कैयौं विकसित देशमा छ । जनसंख्या समस्या समाधानका लागि आप्रवासन एउटा राम्रो उपाय भए पनि त्यसले ल्याउने राजनीतिक तनावका कारण रुस तथा अन्य धेरै मुलुक त्यसमा इच्छुक छैनन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?