श्रीकृष्णजन्माष्टमीको महिमा र व्रतको प्रभाव

Read Time = 9 mins

✍️ तोयराज नेपाल

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परि त्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
श्रीमद्भगवद्गीता ४/७, ८

अर्थात् जब-जब धर्मको नाश र अधर्मको वृद्धि हुन्छ, त्यस बखतमा दुष्टहरूको विनाश गरी साधु सज्जनको र धर्मको पनि संरक्षण र संस्थापना गर्न मैले अवतार लिनेगरेकोछु, भनेर स्वयं कृष्णले भन्नुभएको छ । यसै प्रसंगमा द्वापरयुगका अन्त्यमा भगवानले कृष्णावतार लिनुभएको हो । भाद्रकृष्ण अष्टमीका दिन मध्यरातमा भगवान् नारायणले कृष्णावतार लिनुभएको हो । त्यसै कारण भाद्रकृष्ण अष्टमीलाई श्रीकृष्णजन्माष्टमी भनिएको हो । दुष्ट दैत्य तथा राक्षसहरू विभिन्न राजा र राजाका सहयोगीका रूपमा पृथिवीमा जन्म लिएर संसारमा विभिन्न पापकर्महरू गरी उपद्रव मच्चाएका हुँदा पृथिवीलाई ठूलो भार भयो ।

वास्तवमा जो सच्चिदानन्दस्वरूप हुनुहुन्छ, जसबाट जगतको सृष्टि, स्थिति र प्रलय सदा सर्वदा भइरहन्छ, जसको चिन्तन गर्नाले आधिदैविक आध्यात्मिक र आधिभौतिक तीनै किसिमका दुःख नाश हुन्छन्, त्यही तत्व नै श्रीकृषण तत्व हो ।

अनि पृथिवी गाईको रूप लिएर ब्रहृमाजीका शरणमा गएर आफ्नो दुःख निवेदन गर्नुभयो । पृथिवीको बिन्ती सुनी ब्रहृमाजीले सम्पूर्ण देवताका साथमा भगवान् विष्णुका शरणमा गएर पृथिवीको कष्ट निवेदन गर्नुभयो । अनि ब्रहृमा द्वारा भूमिको निवेदन सुनेर भगवान् विष्णुले पृथिवीमा कृष्णका रूपमा जन्म लिएर भूमिको भार हरण गर्नेछु भन्नुभएको थियो । त्यसै क्रममा वसुदेवका वीर्यबाट देवकीका गर्भमा प्रवेश गरी भगवान्ले कृष्णावतार लिनुभएको थियो ।
वदन्ति तत् तत्वविदस्तत्वंयज्ज्ञानमद्वयम् ।
ब्रहृमेति परात्मेति भगवानिति शब्द्यते ।।
श्रीमद्भागवत १/२/११
अर्थात् तत्वज्ञानीहरू यही तत्वज्ञानलाई कसैले ब्रहृम भन्छन्, कसैले परमात्मा भन्छन्, कसैले भगवान् त कसैले ईश्वर, कृष्ण, राम, हरि इत्यादि भन्दछन् । वास्तवमा जसबाट संसारको सृष्टि, स्थिति र प्रलय सदा सर्वदा भइरहन्छ, त्यो तत्व नै कृष्णतत्व हो । ब्रहृमसंहितामा भनिएको छ-
रामादिमूर्तिषु कलानियमेन तिष्ठन्
नानावतारमकरोद् भुवनेषु किन्तु ।
कृष्णः स्वयं समभवत् परमः पुमान्
यो गोविन्दमादिपुरुषं तमजं भजामि ।।
ब्रहृमसंहिता ५/३९
एते चांशकलाः पुंसः कृष्णस्तु भगवान् स्वयम् ।
श्रीमद्भागवत १/३/२८
अर्थात् राम, परशुराम, मत्स्य, कूर्मआदि सबै अवतारमा भगवानले केही कलाका साथमा अवतार लिनुभएको छ भने कृष्णावतारमा स्वयं परम पुरुष नारायणले सम्पूर्ण कलाका साथमा अवतार लिनुभएको छ । वास्तवमा कृष्ण भन्ने तत्व आकर्षक तत्व हो । कृषतिऽआकर्षयतीति कृष्ण । अर्थात् सबैलाई आफूतिर आकर्षण गर्न सक्ने सामथ्र्यशाली तत्व नै कृष्ण हो । भगवान कृष्ण कंसलाई मार्ने क्रममा रंगभूमिमा जब प्रवेश गर्नुभयो त्यसबेला सबै मानिसलाई विभिन्न रूपले आकर्षण गर्नुभएको प्रसंग श्रीमद्भागवतमा उल्लेख छ ।

मल्लानामशनिर्नृणां नरवरः स्त्रीणां स्मरो मूर्तिमान्, गोपानां स्वजनो क्सतां क्षितिभुजां शास्ता स्वपित्रोः शिशुः । मृत्युर्भाेजपतेर्विराडविदुषां तत्वं परं योगिनां वृष्णीनां परदेवतेति विदितो रंगं गतः साग्रजः ।। श्री.भा.१०/४३/१७

हृदयलाई जुन-जुन रूपमा भए पनि आफूतिर आकृष्ट गर्नसक्ने सामथ्र्य भगवान् कृष्णमा भएको हुँदा उहाँमा कृष्ण नामको सार्थकता भएको छ ।

कृष्णलाई मल्लले वज्रतुल्य देखे, साधारण मानिसले यी कुनै श्रेष्ठ पुरुष हुन् भन्ने ठाने, स्त्रीहरूले साक्षात् कामदेव नै ठाने, गोपहरूले आफ्ना स्वजन ठाने, दुष्ट राजाहरूले आफ्नो शासक ठाने, बाबुआमा र बुढापाकाहरूले आफ्नै सानो बालक ठाने, कंसले आफ्नो मृत्यु नै ठान्यो, अज्ञानीहरूले विराट् पुरुष ठाने, योगीहरूले आफ्नो परमतत्व सम्झिए भने वृष्णिवंशी- यदुवंशीहरूले आफ्नो इष्टदेवता सम्झिए । यसरी सबै व्यक्तिहरूको हृदयलाई जुन-जुन रूपमा भए पनि आफूतिर आकृष्ट गर्नसक्ने सामथ्र्य भगवान् कृष्णमा भएको हुँदा उहाँमा कृष्ण नामको सार्थकता भएको छ । सच्चिदानन्दरूपाय विश्वोत्पत्यादिहेतवे । तापत्रयविनाशाय बश्रीकृष्णाय वयं नुमः।। वास्तवमा जो सच्चिदानन्दस्वरूप हुनुहुन्छ, जसबाट जगतको सृष्टि, स्थिति र प्रलय सदा सर्वदा भइरहन्छ, जसको चिन्तन गर्नाले आधिदैविक आध्यात्मिक र आधिभौतिक तीनै किसिमका दुःख नाश हुन्छन्, त्यही तत्व नै श्रीकृषण तत्व हो । परम तत्वरूप परमात्माले लीला गर्न यस पृथिवीमा अवतार लिएको दिन हुँदा उहाँको जन्म दिनमा उहाँप्रति भक्तिभाव गरेर व्रत-तीर्थ पूजा, पाठ, कथावाचन भजन, कीर्तन नाच, गान आदि गर्दा भगवान् प्रसन्न हुनुहुन्छ । भगवान् प्रसन्न भएपछि आफूले चिताएका सबै कुरा पूर्ण हुने हुँदा श्रीकृष्णजन्माष्टमीका दिन व्रत बसी पूजा आराधना गर्नुपर्छ ।

अष्टमी कृष्णपक्षस्य रोहिणीऋक्षसंयुता । भवेत्प्रौष्ठपदे मासि जयन्तीनाम सा स्मृता । ..विष्णुरहस्य ।
अर्धरात्रे तु योगोक्यं तारामभ्युदये सति । नियतात्मा शुचिः स्नातः पूजां तत्र प्रवर्तयेत् ।। विष्णुधर्मः।
आदि शास्त्रीय वचन भएका हुँदा यसदिन व्रत बसी भगवान्को आराधना गर्ने परम्परा हाम्रा समाजमा चलिआएको छ । हामी पनि यथाशक्ति व्रत बसी पूजा आराधना गरौँ सबैको कल्याण हुन्छ ।

पुनश्च : जुन दिनको मध्यरातमा अष्टमी तिथि पर्छ, त्यसै दिन कृष्णाष्टमीको व्रत गर्नू, रोहिणी नक्षत्र परेमा अझ उत्तम हुन्छ, भन्ने वचन शास्त्रमा भएको हुँदा यस वर्ष भाद्र ३ गते शुक्रबार ४८/५४ घडी रातको १:१० बजेसम्म अष्टमी तिथि भएको र रातको ४ः५९ पछि रोहिणी नक्षत्र लाग्ने तथा भाद्र ४ गतेको बिहान ५ः३६ बजे सूर्योदय हुनेहुँदा ३७ मिनेट मात्र भए पनि रोहिणी नक्षत्रले छुने हुँदा जयन्तीयोग पनि परेकाले भाद्र ३ गते श्रीकृष्णजन्माष्टमीको व्रत गर्दा यसलोकमा सुख ऐश्वर्यको प्राप्ति हुन्छ भने परलोकमा मोक्षपदसमेत प्राप्त गर्न सकिन्छ । ॐ श्रीकृष्णार्पणमस्तु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?