कांग्रेस नेता प्रदीप गिरिको निधन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।  नेपाली कांग्रेसका नेता, सांसद तथा राजनीतिक विश्लेषक प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षीय नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

गिरिलाई भेन्टिलेटर सपोर्टमा राखिएको थियो । उहाँ घाँटीको क्यान्सरसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । गिरि केही दिन यता बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुग्नुभएको थियो ।

नेपाली राजनीतिमा बौद्धिक नेताको छवि बनाउनुभएका नेता गिरिको शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालनै पुगरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । यस्तै नेता गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार एक विज्ञप्ति जारी गर्दै गिरिको स्वास्थ्यलाभको प्रार्थना गर्न अपिल गर्नुभएको थियो ।

प्रतिनिधिसभा सांसदसमेत रहनुभएका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल फर्किनुभएको थियो । नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा. पंकज वर्मन नेतृत्वको चिकित्सक टोली गिरिको उपचारमा संलग्न थियो ।

गिरिको निधनसँगै नेपालले एउटा बौद्धिक राजनीतिक व्यक्तित्व गुमाएको छ । सिराहामा जन्मिनुभएका गिरिले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

उहाँका पिता नेत्रलाल गिरि कांग्रेसका नेता हुनुहुन्थ्यो । पिताबाट राजनीतिमा लाग्नुभएका उहाँ २०१७ सालमा कांग्रेसमा आवद्ध हुनुभएको थियो । नेता गिरिले २०२५ देखि २०४२ सालसम्म पटकपटक गरि चार वर्ष जेल जीवन बिताउनुभएको थियो । गिरि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय हुनुहुन्थ्यो ।

उहाँले एक दर्जन भन्दा बढी पुस्तक लेख्नुभएको छ । महात्मा गान्धीका अनुवायी गिरि नेपालमा मार्क्सवादको राम्रो ब्याख्या गर्नसक्ने व्यक्तिमा पर्नुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?