पुर्खौँदेखि पशुपालनमा निसी-भल्कोटवासी

हिमालय टाइम्स
Read Time = 7 mins

डम्मर बुढा मगर
बागलुङ । निसीखोला गाउँपालिका वडा नम्बर ५ र ६ का स्थानीयहरु पशुपालनमा अभ्यस्त छन् । यहाँको मुख्य पेसा नै पशुपालन भएको हुँदा अरुमा पेसाभन्दा ज्यादा यही पेसालाई प्राथमिकता दिएको पाइन्छ । एक जना मात्रै होइन सिंगो समुदायनै पशुपालनमा सक्रिय छन् । उच्च पहाडी हावा पानी र पशुपालनको लागि उत्तम वातावरण भएको हुँदा यही पेसा अंगाल्दै आएको स्थानीयहरु बताउँछन् ।

७६ वर्षीय तिर्थे घर्ती पनि सानैदेखि भेँडाबाख्रा र गाईभैँसी पालनमा होमिँदै आउनुभएको छ । आफ्ना पुर्खाहरुले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अङ्गाल्दै आएको उहाँ बताउनुहुन्छ ।
‘हाम्रो बाउ बाजेहरुले पनि यही काम गर्थे, मैले पनि उहाँहरुकै सिको गरे, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदो रैछ,’ उहाँले भन्नुभयो ‘धेरै कमाउन नसको पनि खान लाउन पुगेको छ ।’

घर्तीले पशुपालन सम्बन्धि कुनै पनि तालिम परामर्श लिनुभएको छैन, तर पनि यो व्यवसायले उहाँलाई सन्तुष्टि दिएको छ । परम्परागत प्राणालीबाट पशुपालन गर्दै आउनु भएका घर्तीलाई आधुनिक प्रबिधिबारे केही ज्ञान छैन ।

गाईभैसी तथा भेडाबाख्रा बिरामी परे उहाँ आफै ओखती मुलो गर्नुहुन्छ । तिनीहरुको व्यवस्थापन पनि पुरानै शैलीले गर्दै आउनुभएको छ । अहिले उहाँको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन् ।

‘माथि-माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्राहरुलाई, सिगान छोड्ने काँस्ने गर्छन्, नत्र खास्सै त्यसो समस्या पर्दैन,’ घर्तीले भन्नुभयो ‘सामान्य रोगको त उपचार मै आफै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् मेरा पशुचौपायहरु ।’

उहाँले विशेषगरी निसी भल्कोटको माथिल्लो भेग र निसेल ढोरमा गोठ राख्ने गर्नु हुन्छ । उच्च पहाडी क्षेत्रहरुमा चरीभरन गर्दा पशुचौपायहरुले औषधीयुक्त जडिबुटि खाने गर्दा बिरामी नहुने बताउनुहुन्छ ।
‘यहाँ तल-तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेक तिरै जान्छौँ, उतै पशु पाल्ने गछौँ,’ उहाँले भन्नुभयो ‘कहिले काँही बाघहरुको डर हुन्छ रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ ।’

उहाँलाई पशु चौपायहरु कुन जिजन मोटाउने र कुन सिजन दुब्लाउने भन्ने एकिन छ । प्रायजसो बर्खाको समयमा भेडाबाख्रा र गाईभैसीँ मोटाउने र हिँउदको समयमा दुब्लाउने गरेको घर्तीको भनाई छ ।
‘यिनीहरुको लागि पनि मोटाउनको लागि सुख चाहिन्छ, मोठी खाना चाहिन्छ, हिउँदमा कम मोटाउँछन्, बर्खाको समयमा धेरै मोटाउने गर्छनु,’ घर्तीले भन्नुभयो ‘बर्खामा टन्न खान पाउँछन्, घासँ पनि हरियोपरियो प्रसस्त हुन्छ, हिउँदमा हरियोपरियो प्रसस्त हुँदैन त्यसले गर्दा दुब्लाउने गर्छन् ।’

उहाँ विषेश गरि दुई सिजनमा भेडाबाख्रा बेच्न बजार तिर झर्नु हुन्छ भने अधिकांंश समय गोठमै बस्ने गर्नुहुन्छ । पछिल्लो समय मान्छेहरु गोठमै पनि खरिद गर्न जाने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै अर्का पशुपालक सरविर बुढा पनि परम्परागत शैलीबाटै व्यवसाय गर्नु भएको छ । बुढापाकाबाटै सिक्नु भएका बुढाले अहिले पनि पुरानै प्रणालीबाटै गाईभैँसीपाल्नु भएको छ । उहाँको गोठमा ४० भन्दा बढी गाई र भैँसी छन् ।

पाकापुर्खाहरुले गर्दै आएको यो व्यवसाय उहाँलाई निकै प्रिय लाग्ने गर्छ । उहाँ यो पेसा छोडेर अन्य कुनै पनि काम गर्न चाहानुहुन् । यो व्यवसायमा सुख दुःख दुबै हुने भन्दै आफूलाई यो पेसा निकै मन पर्ने बताउनुहुन्छ । ‘मैले गरेको पेसा निकै मन पर्छ, यो पेसा जस्तो राम्रो अरु पेसा छैनन्, यहाँ दुःख पनि छ, सुख पनि छ र आनन्द पनि’ बुढा मगरले भन्नुभयो ‘यति धेरै गाईभैँसी पाल्न सजिलो त छैन तर पनि सजिलो ठान्यो भने सजिलो नै हुन्छ, दूध, मही, दही खाँदा कति आनन्द हुन्छ, स्वास्थ्यका लागि पनि उत्तिकै हित गर्छ, घ्यू, राँगा, भैँसी बेच्यो भने आम्दानी पनि राम्रो हुन्छ ।’

उहाँ तिर्थे घर्तीभन्दा कम उचाई र समथर ठाउँमा बस्ने गर्नुहुन्छ । उहाँलाई पनि यो व्यवसाय सम्बन्धि आधुनिक ज्ञान छैन । नयाँ ज्ञानहरु थाहा नभए पनि आफूले यसबाट ठूलो क्षेति ब्यहोर्नु नपरेको बताउनुहुन्छ ।

बुढाले सरकारले आफूहरु जस्ता कृषकलाई नयाँ ज्ञान र सीप सिकाउन सके आफ्नो व्यवसाय प्रभावकारी बन्ने बताउनुहुन्छ । ‘नयाँ कुरा सिकेको त राम्रो हो, सिक्नु पनि पर्छ तर कसले सिकाउँछ र ?, नयाँ कुरा सिकियो भने केही सजिलो पनि हुन्थ्यो होला’ उहाँले भन्नुभयो ‘कसैले सिकाउने र सहयोग गर्ने भए नयाँ तरिकाबाट गर्न हुन्थ्यो, अहिलेको भन्दा केही दुःख त कम हुन्थ्यो की ?’

घर्ती र बुढा मगर जस्ता यहाँका सयौँ नागरिकले पुरानै शैलीबाट पशुपालन गर्दै आएका छन् । उनीहरु अझै पनि नयाँ प्रबिधि र ज्ञानबाट दुरमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?