अभिषेक र आशुतोषलाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको छ । अभिषेकले पुरुष ८० केजी तौल समूह र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो ।

नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङका अनुसार पुरुष ५४ केजी तौल समूहमा पुजन खड्का, ७४ केजीमा सुरज कार्की र पुरुषकै ६८ केजीमा अवास खानले रजत पदक जित्नुभएको हो ।

यसैगरी महिला ६८ केजी तौल समूहमा पूजा कुँवर, पुरुष ५२ केजीमा अभिषेक डल्लाकोटी, ५५ केजीमा श्रीचन्द्र कार्की, ८७ केजीमाथिको तौल समूहमा अफ्ताब खान र ६८ केजीमा ज्वालासिंह गुरुङले कांस्य पदक जित्नुभएको थियो ।

यसअघि शुक्रबार भएको पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जित्नुभएको थियो । यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जित्नुभएको थियो ।

मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११औँ एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?