काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन थापाको मेची-महाकाली हुलाकीमार्ग संवाद यात्रा स्थगित भएको छ । पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले बुढाथोकीको निधनमा पूर्व–निर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘पूर्वनिर्धारित माघ १३-२६ सम्मको समुदायमा कांग्रेस अभियानका बाँकी कार्यक्रम केन्द्रबाट अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’
यस्तै, नेपाली कांग्रेसका महामन्त्री थापाले पनि ‘मेची महाकाली संवाद यात्रा’ तत्कालका लागि स्थगित गर्नुभएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनको शोकमा संवाद यात्रा स्थगित गरेको महामन्त्री थापाले जानकारी दिनुभयो । झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगञ्जसम्म पुगेको थियो । महामन्त्री थापाले यो संवाद यात्रा यही २६ गते कञ्चनपुरमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो । उहाँले पार्टीले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गर्नुभएको थियो । यात्राका क्रममा महामन्त्री थापाले स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आउनुभएको छ । स्थगित भएको संवाद यात्रा फागुनमा हुने महासमितिको भेलापछि पुन समय मिलाएर निरन्तरता दिई समापन गर्ने महामन्त्री थापाले जानकारी दिनुभएको छ ।
चुनाव अगाडिको गठबन्धनबाट कार्यकर्तामा व्यापक असन्तुष्टि छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव अगाडिदेखिको गठबन्धनबाट कार्यकर्ता र जनतामा असन्तुष्टि बढेको बताउनुभएको छ । पार्टीको केन्द्रीय नेतृत्वले तल्लो तहको कार्यकर्ता र मतदाताको इच्छाविपरीत निर्णय गरेर कार्यान्वयन गर्न लगाएको गुनासो कार्यकर्ता र सर्वसाधारणले गरेको महामन्त्री थापाको भनाइ छ । ‘मेची-महाकाली संवाद यात्रा’को क्रममा पश्चिम नवलपरासी पुग्नुभएका थापाले संवाद यात्रा स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘भूगोल परिवेशअनुसार हरेक जिल्लामा फरक-फरक समस्या रहेछन् । हामीले काठमाडौंमा सामान्य सोचेको समस्या प्रत्यक्ष भोग्ने सर्वसाधारणका लागि जटिल समस्या भएको यात्राको क्रममा मैले महसुस गरेँ । विकास निर्माणसँगै राजनीतिमा चुनाव अगाडि गरिएको गठबन्धनबाट कार्यकर्तामा वितृष्णा छाएको पाइयो । यसलाई आगामी दिनमा केन्द्रीय नेतृत्वले गम्भीरताका साथमा हेर्नुपर्दछ ।’
गठबन्धन सरकारले नतिजा दिन नसकेको टिप्पणी
नेपाली कांग्रेसका महामन्त्री थापाले गठबन्धन सरकारले अपेक्षा अनुसारको नतिजा दिन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका महामन्त्री थापाले वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, राज्यले जनतासमक्ष आफ्नो उपस्थितिलाई दरिलो पार्न नसकेको गुनासो जनता र कार्यकर्ताले पार्टी नेतृत्वलाई दिएको बताउनुभयो । सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘सरकार बन्दा जुन रूपमा उत्साह थियो, सोहीअनुरूप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन् ।’
मन्त्रीहरू भिजन र निर्देशनबिना अगाडि बढे : डा.कोइराला
नेपाली कांग्रेसका पूर्व–महामन्त्री एवं सांसद डा.शशांक कोइरालाले सरकारमा कांग्रेसबाट सहभागी भएका मन्त्रीहरूले पार्टीको निर्देशन मान्न छोडेको टिप्पणी गर्नुभएको छ । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू आफ्नो भिजन र पार्टीको निर्देशनबिना अगाडि बढ्दा विकासले गति लिन नसकेको उल्लेख गर्दै डा.कोइरालाले भन्नुभयो, ‘मन्त्रीहरू आफ्नो भिजन र पार्टीको निर्देशनबिना अगाडि बढ्दा विकासले लिनुपर्ने गति लिएको पाइँदैन ।’ नेता कोइरालाले अब कांग्रेसको विधानअनुसार सभापतिमा केन्द्रित सम्पूर्ण अधिकारलाई विभाजन गरी संघीय मर्मअनुसार सात प्रदेशका सभापतिलाई दिने व्यवस्था बनाउन जरुरी रहेको बताउनुभयो । नेता कोइरालाले कांग्रेस पार्टी जनताको हितमा काम गर्न खोजे पनि गठबन्धनका कारण धेरै काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले आगामी उपनिर्वाचनमा कांग्रेस गठबन्धनबिना चुनाव लड्नुपर्ने जिकिर गर्नुभयो ।
गठबन्धनले प्रधानमन्त्री फेर्नेबाहेक अरू काम गर्न सक्दैन : डा. रिजाल
नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताउनुभएको छ । नेता रिजालले ‘जय नेपाल’ र ‘लाल सलाम’ भएको नारा लगाएर चुनाव जितेका पार्टीहरूबाट धेरै आशा नहुने दाबी गर्नुभयो । अहिलेको गठबन्धनमा पाँच वर्षको सम्झौता भएको भन्दै रिजालले एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गर्नुभयो । एमाले, माओवादी लगायतका नेताहरूसमेत सहभागी रहेको कार्यक्रममा नेता रिजालले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको उल्लेख गर्दै भन्नुभयो, ‘ओनसरी घर्ती भनेको मीनेन्द्र रिजाल हो, मीनेन्द्र रिजाल भनेको घनश्याम भुसाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो । अब हामीले पाँच वर्षका लागि सम्झौता गरेका छौँ । पृथ्वीसुब्बा गुरुङले झुक्याउन, फकाउन, लोभ्याउन सक्नुभएन भने प्रधानमन्त्री फेरेको फेर्यै गर्छौं बाँकी काम गर्नुपरेन ।’ नेता रिजालले निर्वाचन प्रणाली नबदलेसम्म गठबन्धन बनिरहने पनि ठोकुवा गर्नुभयो ।
नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मारेको छ : सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा स्वास्थ्य क्षेत्रले फड्को मारेको बताउनुभएको छ । क्षेत्रपाटी निःशुल्क चिकित्शालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधनका क्रममा नेता सिंहले ०४६ सालको परिवर्तनपछि स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको दाबी गर्दै भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रमा केही पनि भएको छैन भन्न मिल्दैन, विस्तारै सुधार भइरहेको छ । थप सुधार आवश्यक छ ।’
कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र महाअभियान घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको नेतृत्वमा सनातन नेपालमा हिन्दूराष्ट्र स्थापनाका लागि महाअभियानको घोषणा भएको छ । संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाको सल्लाह र सुझावको आधारमा भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापनाका महाअभियान घोषणा भएको हो । आफूलाई महाअभियानको संयोजक तोके पनि कमिटी गठन हुन बाँकी रहेको जानकारी दिँदै भण्डारीले भन्नुभयो, ‘बैठकले संयोजक तोकेको छ । कमिटी तोक्न बाँकी छ । संविधानविद् तथा पूर्वसभामुख दमननाथ ढुंगानाको सहभागिता, सल्लाह र सुझावको आधारमा मलाई संयोजक तोकिएको हो । कार्यसमिति बनाउन बाँकी छ ।’ नेपाली कांग्रेसभित्र हिन्दू राष्ट्रको पक्षमा मुद्दा उठाउँदै आइरहनु भएका नेता भण्डारीले भन्नुभयो, ‘सबै नेपाली नागरिक पार्टीगत रूपमा जुनसुकैमा आबद्ध भए पनि देशभन्दा ठूलो अरू केही हुन सक्दैन । हाम्रो मुलुक वैद्धिक सनातन संस्कार, संस्कृति र धर्म भएको मुलुक हो । जसरी अरू देशहरूले पनि धार्मिक पहिचानलाई सम्मान गरेर धर्मलाई उच्च स्थानमा राखेर अमेरिका लगायतका मुलुकहरू स्थापित छन् ।’ संसारमा एक मात्रै वैद्धिक सनातन संस्कार संस्कृति भएको मुलुक नेपाल मात्रै भएको दाबी गर्दै भण्डारीले भन्नुभयो, ‘त्यसलाई मध्यनजर गरेर हामीले व्यापक छलफल गर्छौँ । यसलाई कांग्रेसभित्र पनि उठान गरेकै छौँ महासमितिको बैठकमा पनि लान्छौँ । राष्ट्रिय बहसको मुद्दा बनाएर अघि बढ्छौँ ।’ यसअघि २०७७ सालको महासमितिको बैठकमा पनि भण्डारीकै नेतृत्व हिन्दू राष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै करिब सात सय बढी प्रतिनिधिको हस्ताक्षर बुझाएका थिए । महाअभियानका कार्यवाहक संयोजक कांग्रेस नेता लक्ष्मणप्रसाद घिमिरेले पद भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो । महाअभियानले पार्टीको आसन्न महासमिति बैठकमा हिन्दू राष्ट्रको मुद्दालाई उठाउने निर्णय गरेको कांग्रेस नेता लोकेश ढकालले जानकारी दिनुभयो । अभियान पुनर्गठन बैठकमा पूर्वमन्त्री चिरञ्जीवी वाग्ले, कांग्रेस नेता लक्ष्मण घिमिरे, पूर्वसभामुख दमननाथ ढुंगाना, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदी, परराष्ट्रमन्त्री एनपी साउदकी पत्नी जोत्सना साउदलगायत उपस्थित थिए । बैठकमा अभियानका सदस्य लोकेश ढकालले बैठकका एजेण्डाको साथै घोषणा पत्रको अवधारणा प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच