तीन बुँदे सहमति पछि निहारिकाले तोडिन् अनशन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बस्नुभएकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोड्नुभएको हो ।

उहाँले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोड्नुभएको हो ।

सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।

शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाण्डौमा अनशन बस्नुभएको थियो ।

सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उहाँले अनशन रोक्नुभएको थियो । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उहाँले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि उहाँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उपचारकै क्रममा उहाँ अनशनमा बस्नुभएको थियो । यसअघि निहारिकाले शिवराजविरुद्ध कारबाहीको माग गरे पनि जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दाबाट सफाइ दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?