चुनावको मुखमा महंगीको मार

हिमालय टाइम्स
Read Time = 5 mins

-टेकराज अवस्थी

डडेल्धुरा । ईन्धन र बैंक ब्याजमा भएको बृद्धिदरले बजारको हरेक चिजबस्तुको मूल्य आकासिएको छ ।

चाडपर्व र चुनावको मौका छोपि उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि हुँदा पनि कसैको ध्यान नगएको प्रति डडेल्धुराका स्थानीय उपभोक्ताले गुनासो गरेका छन् ।

मंसिर ४ गते हुने संघिय तथा प्रदेश सभा सदस्य निर्वाचन आउन एक महिना पनि बाँकी नरहँदा दिपावलीको पूर्व सन्ध्यामा बजारमा दैनिक उपभोग्य बस्तुदेखि लुगाफाटो भाँडाबर्तनलगायत दिपावलीका सामाग्रीहरू बिगतका वर्ष भन्दा २० प्रतिशतले बढेको स्थानीय बताउँछन् ।

गत वर्षको दशैँ तिहारका समयमा ७ दशमलब २५ देखि ९ दशमलब ८० ब्याज दर रहेको बैंक ऋणमा चालु आर्थिक वर्षमा बढेर १३ दशमलब ३३ प्रतिशत कायम गरिएपछि पछि त्यसको असर सबैभन्दा बढि व्यवसायिक क्षेत्र र आयातित बस्तुमा पर्न गएको स्थानीय दिपक राज जोशी बताउनुहुन्छ ।

गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/०८० का लागि प्रक्षेपण गरिएको ब्याज आधार दरमा समेत परिवर्तन गर्दै सेवा शुल्कसहित व्यवसायीले कर्जामा १४ दशमलव ७२ अर्थात करिब १५ प्रतिशत ब्याज भुक्तान गर्नु पर्ने अवस्था आए पछि समग्र ब्यापारमा उतार चढाव आएको बैंक कर्मचारीको भनाइ छ ।

कृषि उपजबाहेक अन्य लगाउने खाने र प्रयोग गर्ने बजार उपभोग्य बस्तु आयात गरिने भएकाले नियमनकारी निकायले खरिद बिक्रिको दर तथा मुनाफाका मापदण्ड पनि स्पष्ट नभएका कारण व्यवसायीले मनपरि मूल्य निर्धारण गरि बिक्रि गर्दा उपभोक्तामा महंगीको मार परेको स्थानीय देव सिंह भण्डारी बताउनुहुन्छ ।

सरकारले जनहितमा न त ईन्धन दर एकरुपता कायम गर्न सकेको छ न नियन्त्रण नै, अर्कोतिर बैंकमा भएको ब्याज बृद्धिले लगानीकर्ता कृषक, साना उद्यमी, उद्योगी व्यवसायीमा पनि निरुत्साहन सिर्जना मात्र भएको छैन बजारमा गत वर्षको तुलनामा ब्यापार ९० प्रतिशतले कमी आएको स्थानीय व्यवसायी महेश कठायत बताउनुहुन्छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सदरमुकाममा चुनावको चहलपहल पनि बढेको छ भने चुनाव सँगै मुखमा बजार भाउ बढिरहँदा पनि स्थानीय प्रशासन, स्थानीय निकाय तथा केन्दीय सरकार कसैले पनि आकासिएको बजारमूल्य नियन्त्रण अनुगमन गर्ने काम नगरेकाले निरासा व्यक्त गरेका छन् ।

ईन्धन र बैंक ब्याजले प्रभाव पारे पछि कृषकका उत्पादनमा पनि स्वभाविक मूल्य बृद्धि भएको छ । तरकारी, फलफूलमा सामान्य हेरफेर भए पनि दाल चामल तेल चिनीलगायत दैनिक उपभोग्य खाद्यान्न सामानको दर साबिक भन्दा मूल्य बढनुमा बैंकिङ क्षेत्रमा बढेको ब्याज दर मुख्य कारण भएको व्यवसायी बताउँछन् ।

गत चैत्र मसान्तसम्म मात्र विभिन्न शिर्षकका ऋणमा ८ दशमलब ९७ देखि ९ दशमलब ८७ रहेको बैंक ब्याज दर असोज मसान्तसम्मको दर हेर्दा लगभग पाँच प्रतिशतले बृद्धि भएको बैंकर्सहरू बताउँछन्, जसको प्रत्यक्ष मार सबैभन्दा बढि दैनिक ज्याला मजदुरी गरि खाने वर्ग, साना तथा फूटकर व्यवसायी र कोरोनाबाट प्रभावित कृषक कुटिर उद्योगी व्यवसायी लगायत आम सर्वसाधारण सबैलाई परेको नागरिक समाज डडेल्धुराका सदश्य गोविन्द खडायतको भनाइ छ ।

गत वर्षको तिहार भन्दा यस वर्षको तिहारमा सामानहरू नै महंगिएर आएकाले बजारमा महंगी भएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?