नागरिकताको नामले पीडित दुई व्यक्तिको परिवारमा खुसी

हिमालय टाइम्स
Read Time = 5 mins

-नवीनकुमार शर्मा

दैलेख दैलेखको भगवतीमाई गाउँपालिका दलित समुदायका दुईजनाले वर्षौंपछि नाम सच्याइएको नागरिकताको प्रतिलिपि पाएका छन् । साबिक मेहेलतोली गाविस–६, हाल भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामी र साबिकको कट्टी गाविस–६ हाल भगवतीमाई गाउँपालिका–५ का कर्णबहादुर कामीले जिल्ला प्रशासन कार्यालय दैलेखबाट नाम सच्याइएको नागरिकताको प्रतिलिपि प्राप्त गर्नुभएको हो । नागरिकतामा नाम अपमानजनक रहँदा उहाँहरू तीन दशकसम्म समाजबाट अपहेलित हुँदै आउनुपरेको थियो ।

२०१७ पुस २५ गते जन्मिनुभएका कविराम कामीलाई तत्कालीन समयमा गाउँमा पुगेको नागरिकता टोलीले ‘कुकुर कामी’ नाम राखेर २०४६ जेठ ७ गते नागरिकता थमाएको थियो । त्यस्तै २०३५ पुस १० गते जन्मिनुभएका कर्णबहादुर कामीले २०५६ चैत २० गते जिल्ला प्रशासन कार्यालयबाटै नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको थियो । तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले वंशजका आधारमा जारी गरेको नागरिकतामा कर्णबहादुर कामीको नाम ‘ठगे कामी’ लेखिएको थियो । जिल्ला प्रशासनमा नागरिकता लिन आउँदा मैले आफ्नो नाम कर्णबहादुर बिक हो मैले त्यही नाममा नागरिकता पाउनुपर्छ भनेर दाबी गरे पनि कर्मचारीहरूले लिने भए ‘ठगे कामी’ भनेर नागरिकता दिन्छौ नत्र हुँदैन भनेर मलाई ठगे कामी नाम राखेर नागरिकता दिएको कर्णबहादुर कामी बताउनुहुन्छ ।

नागरिकतामा अपमानजनक नाम भएपछि समाजमा पनि कुकुर भनेर जिस्काउन थाले, छोराछोरीलाई पनि कुकुरको छोराछोरी भनेर भन्न थालियो । घरपरिवार र आफूले भोग्नुपरेको अपहेलना सम्झँदा कविराम आँखाबाट आँसु झार्दै भन्नुहुन्छ, ‘अब हामी पनि समाजमा मान्छे भएर बाँच्न पाउने भइयो ।’ नामका कारण रोजगारीका लागि भारत गएर दुःख गर्नुपरेको र अब आफ्नो नाम कविराम भएको नागरिकताको प्रतिलिपि पाएपछि अब आफ्नै ठाउँमा बसेर काम गर्ने भन्दै उहाँ खुसी हुनुभएको छ ।

नामका कारण आफूले पढ्न छाड्नुपरेको पीडा सुनाउँदै कर्णबहादुर कामी भन्नुहुन्छ, ‘छोराछोरीलाई विद्यालय पढ्न जाँदा कसैले जिस्काउन नपाउने भएँ र म पनि समाजको अगाडि आफ्नो नाम शिर ठाडो पारेर भन्न सक्ने गरी हिँड्न सक्छु ।’ पटक–पटक नाम सच्याउन निवेदन दिँदासमेत यसअघि सुनुवाइ नभएको उहाँहरूको गुनासो थियो । सञ्चारमाध्यममा अपमानजनक नाम भएर जिउन बाध्य भएकाहरूको पीडा आएपछि यही साउन २३ गते गृह मन्त्रालयले त्यस्ता नाम सच्याउन ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेसँगै उहाँहरूको पनि नाम सच्याइएको हो । नागरिकताको प्रतिलिपि पाएपछि दुवैजनाले नेपाल सरकारले ढिलो भए पनि हामीलाई पशुबाट मान्छे बनाएको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखले गृह मन्त्रालयको परिपत्रका आधारमा प्रक्रिया पूरा गरेर अपमानजनक नाम भएका दुवैजनाको वास्तविक नाममा नागरिकताको प्रतिलिपि जारी गरेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो । अब केही दिनमा कामीद्वयका श्रीमती र छोराछोरीको नागरिकता पनि सच्याउने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?