सकाउँदैछ बाढीले खेतीयोग्य जमिन, बस्तीले हरियाली वन

हिमालय टाइम्स
Read Time = 9 mins

राधिका बुढाथोकी/हिटा
सिन्धुली । कमला नदी नेपालको दोस्रो स्तरको नदी हो । सिन्धुली, उदयपुर, सिराहा र धनुषा हुँदै भारतको गंगा नदीमा गएर मिसिने यस नदीले कमलाखोँच क्षेत्रको खेतीयोग्य जमिन सकाउनै लागेको छ । वर्षातको समयमा नदीमा आउने बाढीले जीविकोपार्जनको मुख्य आधार भएको जमिन मरुभूमि बनाइदिएको छ । यो श्रृंखला रोकिएको छैन । बाढीले बर्सेनि जमिन कटान गर्दै आएको छ । अन्नबाली उब्जनी गर्दै आएको जमिनमा ढुंगा, गिटी, गेगर र बालुवा थुपारिदिएपछि जग्गाधनी वन, जंगल फँडानी गरेर बस्न बाध्य छन् । यो कमला नदी किनार वारिपारि बस्ने स्थानीयवासीको यथार्थ हो ।

‘२०४० सालसम्म नदी कुलो आकारमा छाल हान्दै बग्थ्यो । त्यसको दायाँबायाँ रहेको खेतको माटो मलिलो थियो । त्यहाँ कृषकले धान, मकैलगायत अनेक प्रजातिका मौसमे र बेमौसमे बाली लगाउथे । फाँटहरू हराभरा थिए । सानो संख्यामा रहेका सुकुमबासीहरूले पनि बेसाएर खानु पर्दैनथ्यो । धेरै जग्गा हुनेहरूकोमा मजदुरी गरेर जीविका चलाउने गर्थे ।

२०४१, २०५० साल र त्यसपछि वर्षायामको समयमा बर्सेनि पटक-पटक कमला नदीमा आएको बाढीले सयौँ बिघा उर्वरभूमिलाई मरुभूमिमा परिणत गरिदियो । खेतीयोग्य जमिन कटान त ग¥यो नै, खेतको फाँटमाथि रहेको बस्ती पनि बगाउन थाल्यो । जंगल फँडानी गरेर बस्ती वन क्षेत्रतर्फ सर्दै गयो,’ दुधौली नगरपालिका–३ का वडा सदस्य प्रधान अधिकारी (दनुवार) ले सुनाउनुभयो ।

बाढीले बगर बनेको त्यो जमिनलाई फेरि उर्भरभूमि बनाउन चाहन्छन्, यहाँका जग्गाधनीहरू । मरुभूमिमा हरियाली भित्र्याउने उनीहरूको चाहना छ । तर, कसरी ? चिन्ता कायम छन् । कारण, यो कहर भनिसाध्य छैन । ढुंगा, गेगर र बालुवा पन्छाएर बगरमा माटो भर्न सक्ने अवस्था उनीहरूमा छैन । गर्नै नसकिने पनि होइन तर, प्रविधि र पैसाको कमी छ ।

दुधौली नगरपालिका-९ का किसान रामप्रसाद दनुवारको दुई बिघा फाँट बगर बन्यो । अहिले उहाँको परिवार सुकुमबासी जीवन बिताइरहेको छ । ‘मजदुरी गरेर भोक मेट्दै छौँ, गरिखाने खेत बगर बनिहाल्यो, के गर्नु ? ऋण गरेर जमिन बनाउँला, फेरि कुन दिन बाढी आएर लैजान्छ टुंगो हुन्न,’ उहाँले सुनाउनुभयो । दुधौली नगरपालिका-२ का किसान बुधे कुमरको पीडा पनि उस्तै छ । कमला नदीमा आएको बाढीले १० कठ्ठा खेत बगाएपछि अहिले दैनिक मजदुरी नगरे चुलोमा आगो बल्दैन । सोही ठाउँका मुसरु अधिकारी दनुवारको विरहले पनि धेरैको कथा बोल्छ । उहाँको एक बिघा कमला नदीले कटान गरेको वर्षौं भयो । उहाँले यहाँ बालीनालीको सुरसार नै गर्न सक्नुभएको छैन । दनुवारका आठ सन्तान छन् । ती लालाबालालाई अरूको खेतबारी खनेरै हुर्काउनुभयो । अहिले पनि उहाँको परिवार बनिबुतो गरेरै जीवन धानिरहेका छन् । उहाँको होस्टेमा हैँसे गर्ने न कुनै सरकार आए, न त पार्टी । ‘म किसान पार्टी हुँ, लेखपढ छैन, अरूको खेत खनजोत गर्ने होे, खाने हो,’ उहाँले भन्नुभयो ।

२०४१ र २०५० मा कमला नदीमा आएको बाढीले कमलाखोँच क्षेत्रमा बढी क्षति हुनेगरी खेतीयोग्य जमिन कटान भएको यहाँका स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् । कतिपय बाढी पीडितहरूले स्थानीयस्तरमा मजदुरीसमेत गर्न पाएका छैनन् । उनीहरू बालुवालाई माटोमा परिणत गरेर हरियाली कायम गर्न सक्ने अवस्थामा नभएपछि घरदेश छोडेर परदेश र केही गाउँबाट सहर पसेर गुजारा चलाउने आधारको खोजी गरिरहेका छन् ।

कमला नदी लगायतका खहरे र खोलाबाट खेतीयोग्य जमिन र बस्तिको संरक्षण गर्नु अहिलेको आवश्यकता हो । दुधौली नगरपालिकाले अघिल्लो वर्षदेखि गुरुयोजना बनाएर नदीमा करिडोर निर्माणको कामलाई अगाडि बढाएको छ । करिडोर निर्माण गर्नुपर्ने ठाउँ धेरै रहेको तर बजेट भने न्यून रहेकाले निरन्तर काम अगाडि बढ्न नसकेको नगर प्रमुख दिनेश अधिकारी दनुवार बताउनुहुन्छ । ‘यसका लागि आठ अर्ब बजेटको आवश्यकता पर्ने देखियो,’ उहाँले भन्नुभयो,’ चालु आर्थिक वर्षमा दुई अर्बको काम गर्ने तयारी छ । बजेट व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारबीच समन्वय भइरहेको छ ।’

कमला नदी नियन्त्रण गर्न करिडोर गरेर मात्र नहुने उहाँले बताउनुभयो । ‘दुधौलीमा कमला नदी नियन्त्रण गर्न करिडोरको व्यवस्था गरेर मात्र समस्या समाधान हुँदैन, चुरे क्षेत्रबाट कमला नदीमा जोडिएका खहरेहरू (विशेषगरी दुनपा-३, ६ र ११ मा सयौँ संख्यामा रहेका) नियन्त्रण गर्नुपर्छ,’ उहाँले भन्नुभयो । नदी कटानले दुधौली नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ९ र १० का स्थानीयबासिन्दा तथा किसान बढी प्रभावित छन् । खहरे नियन्त्रण गर्दै कमला नदीलाई करिडोरको रूपमा सम्पन्न गर्ने गरी आफू र आफ्नो टिम अगाडि बढेको नगर प्रमुख अधिकारी दनुवारको भनाइ छ ।

कमला नदीमा आउने बाढीले मात्र होइन, वन, जंगल विनासले वर्षातमा चुरे क्षेत्रबाट पाखै बगेर आउने खहरेबाट पनि दुधौली नगरपालिकाका स्थानीयबासिन्दा र किसान पीडित छन् । खहरेको भेलले उर्वर जमिन बगरमा परिणत भएको छ । कमला नदी र खहरेको भेलले, भएको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि जंगल फँडानी गरेर बस्नेहरूको संख्या बढेको दुधौली नगरपालिका-३, नेपाली कांग्रेसका वडा सभापति यदु घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार दुधौली नगरपालिका-३ मा पनि जंगल फँडानी गरेर बस्ती विस्तार हुँदै गएको छ ।

कतिपयले घर, गोठ बनाएर बस्नसमेत थालेका छन् । ‘यहाँका पीडितलाई बाढीले बगर बनेको जमिन उब्जनीका लागि तयार गर्नेदेखि उत्पादन भित्र्याउनसम्म चाहिने प्रविधि, बिउ, सिँचाइ सुविधा र दक्ष कृषि प्राविधिक चाहिएको छ । यसका साथै, बाँकी रहेको जग्गा, जमिन, घर र घडेरी संरक्षण गरिदिनु पर्ने स्थानीयको माग छ,’ उहाँले भन्नुभयो । कमला नदी र वर्षातको समयमा आउने खहरेलाई नियन्त्रण गर्न दीर्घकालीन उपाय नअपनाए बाढीले खेतीयोग्य जमिन र मानव बस्तीले हरियाली वन सकाउने दुःखद अवस्था रहेको उहाँले बताउनुभयो ।

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६३१ हेक्टर रहेको छ । योमध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ । चुरे जंगलको तल्लो फाँटको तीन हजार ३८३ हेक्टर वन पूर्णरूपमा नष्ट भइसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?