सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट मापदण्डलाई अन्तिम रुप दिने तयारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । मापदण्डलाई अन्तिम रुप दिन कार्यदलको बैठक आज साँझ ५ बजे बस्न लागेको हो ।

मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो । जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने दाबी गर्नुभएको थियो ।

मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थियो । मंगलबारको बैठकमा शारीरिक अस्वस्थताका कारण कार्यदल संयोजक कृष्ण सिटौला अनुपस्थित हुनुहुन्थ्यो ।

२०७४ को समानुपातिकको परिणाम, प्रत्यक्षतर्फको परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामहरूलाई आधार मानेर सिटको बाँडफाँट गर्ने कसरत भइरहेको छ ।

नेताहरूबीच ०७४ र ०७९ को निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भए पनि सिटको संख्याबारे भने सहमति हुन नसकेको हो ।

सोमबार र मंगलबार बसेको बैठकमा गठबन्धनका दलहरूले आ(आफ्नो दलले पाउनुपर्ने सिटबारे धारणा राखेका थिए । कांग्रेस बाहेकका गठबन्धनका दलहरूले कांग्रेस र अन्य चार दललाई बराबरी सिट निर्धारण गर्नुपर्ने धारणा राखेका छन् । तर, गठबन्धनको मुख्य दल उक्त मोडालिटीमा सहमत हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?