गेहेन्द्र शमशेर ओझेल परेका (पारिएका) एक वैज्ञानिक

Read Time = 25 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र

नेपालको इतिहास अध्ययन गर्दै जाँदा तत्कालीन समयमा उल्लेख एवं रचनात्मक कार्य गरी राष्ट्रलाई योगदान गरेका धेरै व्यक्ति ओझेलमा परेका छन् । तीमध्येका एक हुन्, गेहेन्द्र शमशेर । उनी नेपालका प्रतिभाशाली वैज्ञानिक हुन् । जुन समयमा धेरै वैज्ञानिक आविष्कारहरू अनुसन्धानकै क्रममा थिए त्यसबेला गेहेन्द्र शमशेरले महत्वपूर्ण वैज्ञानिक खोजको प्रारम्भ गरी नेपालको श्रीवृद्धि गर्ने जमर्को गरेका थिए तर प्रोत्सान नहुँदा उनको प्रतिभा प्रस्फुटन हुन पाएन । यसको प्रत्यक्षपरोक्ष असर नेपालमा पर्न गयो । राणा शासकको व्यक्तिगत स्वार्थकै कारण गेहेन्द्र शमशेर जस्ता वैज्ञानिकहरूको प्रतिभाले मूर्तरूप लिन पाएन । यिनै वैज्ञानिकको विषयमा चर्चा गर्न यो आलेख तयार पारिएको हो ।

एक सय चार वर्ष लामो जहानियाँ राणा शासन नेपालको इतिहासको एक महत्वपूर्ण कालखण्ड मानिन्छ । वास्तवमा यो सही पनि हो । यस कालखण्डमा नेपाल धेरै राम्रानराम्रा, अपेक्षितअनपेक्षित र तीतामीठा घटनाहरूको साक्षी बन्न पुग्यो । अतः त्यस समयको पूर्वाग्रहरहित तथा वस्तुनिष्ठ लेखाजोखा अपेक्षित ढंगबाट हुन नसकेको यथार्थलाई इतिहासकारहरूले स्वीकार गरेकै छन् । नेपालका राष्ट्रिय विभूतिमा किन कुनै राणाहरू परेनन् ? नपारिएका पो हुन् कि ? कि उक्त सूचीमा पर्न लायक राणाहरू थिएनन् ? यस विषयमा बहस चलाउन आवश्यक छ । भीमसेन थापा तथा जंगबहादुरका कार्यको तुलनात्मक अध्ययन गर्दा को अघि को पछि पर्लान् ? यद्यपि मूल्यांकन त हुनैपर्छ ।

जंगबहादुरलाई अवमूल्यन गरेर भीमसेन थापालाई राष्ट्रिय विभूति मान्नै पर्ने कारण के हो ? यस्ता अहम् सवालमा बहस गर्ने बेला घर्किसकेको छ । अब ढिला गर्नुहुँदैन भन्ने झिनुमसिनो आवाजलाई पनि नकार्न मिल्दैन, सुन्नै पर्ने हुन्छ । नेपाली इतिहासकारमा पनि घटना र समयको वस्तुनिष्ठ मूल्यांकन गरी विश्लेषण गर्ने दायित्व निर्वाह गर्ने अवसर आएको छ । हिजोको समयमा शासकका कार्यकलाप सोहै्र आना ठीक थिएनन् । यो बिल्कुलै सत्य हो तर आज विकसित विकृत राजनीतिले बरू हिजोकै दिन पो ठीक थियो कि भन्ने निष्कर्ष निकाल्न हामी बाध्य हुँदैछौं । यसमा दोषी को हो ? हामी सबैले मम भनेर आत्मालोचना गर्ने बेला आएको छ । प्रसंग विषयान्तर हुन पुग्यो । अब भने गेहेन्द्र शमशेरकै सन्दर्भतिर लागौँ ।

गेहेन्द्रशमशेर श्री ३ वीरशमशेरका पहिलो सन्तान थिए । यसैकारण उनी बहुचर्चित पनि भए र तिरष्कृत पनि हुन पुगे । वीर शमशेरको अवसानपछि उनका उत्तराधिकारी राणा शासक तथा गैरराणा शासकहरूबाट उपेक्षित भएका व्यक्तिहरूमध्ये गेहेन्द्र शमशेर पनि एक हुन् ।

गेहेन्द्र शमशेर श्री ३ वीरशमशेरका पहिलो सन्तान थिए । यसैकारण उनी बहुचर्चित पनि भए र तिरष्कृत हुन पुगे । वीरशमशेरको अवसानपछि उनका उत्तराधिकारी राणा शासक तथा गैरराणा शासकहरूबाट उपेक्षित भएका व्यक्तिमध्ये गेहेन्द्र शमशेर पनि एक हुन् । उनी जहानियाँ राणाशासनका संस्थापक जंगबहादुरका प्रिय कान्छा भाइ धीरशमशेरका नाति अर्थात् वीरशमशेर जेठा छोरा थिए । वीरशमशेरको योग्यता र क्षमता पहिचान गरेरै जंगबहादुरले उनलाई पाल्पाको बडाहाकिम र पछि ब्रिटिश (भारत) का लागि नेपालका तर्फबाट आवासीय दूत (वकिल) नियुक्त गरेका थिए ।

वीर शमशेर वकिल भएर कलकत्ता बसेकै बेला विसं १९६७ सालमा गेहेन्द्र शमशेरको जन्म भएको थियो । उनको शिक्षारम्भ घरबाटै भएको थियो । पछि उनले दरबार स्कुलमा पढेका थिए । स्कुले जीवनदेखि नै उनको खेलकुद, संगीत र विज्ञानप्रति विशेष झुकाव थियो । दरबार स्कुलपश्चात् उनी जापानमा इन्जिनियरिङ अध्ययन गर्न गएका थिए भन्ने भनाइ छ । तर, उनी जापान गएर अध्ययन गरेको कुरा प्रमाणित हुन सकेको छैन । केबल देव शमशेरले जापानमा अध्ययन गर्न पठाउन खोजेको त थिए जुन कहिल्यै कार्यान्वयन भएन ।

बयालीस साल पर्व (रणोद्दीप सिंहको हत्या भएको वर्ष विसं १९४२ लाई ४२ सालको पर्व भन्ने गरिन्छ ।) पश्चात् राणाशासन धीर शमशेरको परिवारमा सीमित हुन पुग्यो । वीर शमशेर श्री ३ महाराज भए । केबल १४ वर्षको कलिलै उमेरमा गेहेन्द्र शमशेर जनरलमात्र भएनन् सैनिक खरखजाना तथा हातहतियार गोलाबारुद उत्पादन गर्ने विभागकै तैनाथवाला हुन पुगे । वास्तवमा उनको इच्छा, चाहना र दक्षताकै कारण उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको थियो । उनले केही समय गुप्तचर विभागको प्रमुख भएर काम पनि गरे तर उनको त्यसतर्फ बिल्कुलै रुचि भएन । स्वदेशमै उत्पादन गरेर सेनालाई आवश्यक पर्ने हातहतियार उपलब्ध गराउने उनको योजना थियो ।

तत्कालीन नेपालले स्वदेशी हातहतियारकै बाहुल्यमा धेरै आन्तरिक तथा बाहृय सैन्य परिचालन गरेको थियो । गोरखाको विजय अभियान, नेपाल–तिब्बत–चीन युद्ध तथा नेपाल-अंग्रेज युद्धमा विदेशी हातहतियार नगण्य रूपमा मात्र प्रयोग भएका थिए । वीर शमशेरको शासनकालसम्म पुग्दा नेपालमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरी हातहतियार उत्पादन गर्ने कार्यमा शीथिलता आयो । साथै अंग्रेजी हातहतियारप्रति मोह बढ्न थालेको थियो । उता अंग्रेज पनि नेपाललाई सीमित मात्रामा हातहतियार दिएर भए पनि नेपालको आन्तरिक उत्पादनमा अवरोध गर्न चाहन्थ्यो ।

यो सन्दर्भ बुझेर होस् वा नबुझेर अथवा आफ्नै शोखका कारण गेहेन्द्र शमशेरले अन्यत्र निर्मित हातहतियारको प्रविधि अध्ययन गरी स्वदेशी सामग्री प्रयोग गरेर नेपालमा नै हतियार निर्माण गर्ने विषयमा ध्यान दिएका थिए । यस प्रयोजनका लागि उनले काठमाडौंको जमल, सुन्दरीजल र बालाजुमा तथा मोफसलका भोजपुर मेकचन (म्यागजिनबाट अपभ्रंश भएर मेकचन भएको हुन सक्छ) मा हातहतियार उत्पादन गर्ने कारखाना स्थापना गरे । गेहेन्द्रले पिताको नाममा वीर गन बनाएका थिए भने मार्टिनी हेनेरी गन परिष्कृत गरी गेहेन्द्र मार्टिनी गन बनाए । यसका अतिरिक्त उनले आफ्ना बाजेको नाममा नयाँ किसिमको धीर तोप निर्माण गरेका थिए ।

उनले नेपालमै दुईनाले बन्दुक बनाई आफ्नो प्रतिभा पनि देखाए । उल्लिखित कारखानाबाट के कस्ता प्रकारका र कति हातहतियार उत्पादन भई के कति राष्ट्रिय आवश्यकता पूरा भयो ? यस विषयमा कुनै लेखाजोखा भएको छैन । तर, राणा शासकले स्वदेशमै हातहतियार उत्पादन गर्नुभन्दा अंग्रेजसँग दण्डवते नीतिमार्फत् हतियार आपूर्ति गर्नेतर्फ ध्यान दिए । गेहेन्द्रकै शोख र सनकका कारण हतियार बनाउन थालेको हुँदा पनि यो प्राथमिकताको क्षेत्र बन्न सकेन । चन्द्र शमशेरले गेहेन्द्रको कार्यलाई प्रतिबन्ध त लगाएनन् तर प्रोत्साहन पनि गरेनन् ।

गेहेन्द्र शमशेरले विसं १९५६ मा नै प्रसिद्ध मोटर कम्पनी फोर्डबाट एउटा मोटर झिकाएर त्यसको पाटपुर्जा खोली पुनःजस्ताको तस्तै जडान गरेका थिए । उनले त्यो कार श्री ५ पृथ्वीलाई उपहार दिए । उनले आफ्नै निवास सेतो दरबारमा वाइलर धान कुट्ने मेसिन निर्माण गरेका थिए भने जमिनमुनिको पानी तान्ने पंखा पनि बनाएका थिए । यतिमा मात्र उनको सिर्जना सीमित थिएन । बालाजुमा छाला प्रशोधन कारखाना पनि स्थापना गरे । यी सबै कार्यबाट उनको विज्ञानप्रतिको झुकाव मात्र होइन विलक्षण प्रतिभासमेत रहेको प्रष्ट हुन्छ । त्यस समयमा उनी जस्ता प्रतिभा विश्वमा नै औँलामा गन्न सकिने थिए । गेहेन्द्र शमशेरको चर्चा विमान पण्डित अच्युतानन्दको प्रसंगविना अधुरो नै रहन्छ ।

विमान पण्डितको नामले चिनिने गेहेन्द्रकै समयका अर्का वैज्ञानिक थिए अच्युतानन्द (बालकृष्ण समको भनाइअनुसार) छविलाल गजुरेलले उनको नाम तोत्रनाथ पाण्डे भएको उल्लेख गरेका छन् । वीर शमशेरकै समयमा अच्युतानन्द नाम गरेका एक व्यक्तिले वाष्प इन्धनको प्रयोगबाट चारपांग्रे गाडी चलाएर देखाए । यसका लागि उनले लामो अनुसन्धान गरेका थिए । विमान चलाउने साधनामा समेत लागेका थिए । यो अमेरिकामा राइट दाजुभाइले हवाईजहाजको परीक्षण गरेको घटनाभन्दा पनि पहिलेको हो । उनले अनेक खाले चंगा उडाएर पनि देखाए । वीर शमशेरले गेहेन्द्र शमशेरमार्फत विमान पण्डितलाई १० हजार रुपैयाँ उपहार पनि दिए तर भविष्यमा यस्ता कार्य गर्दा सरकारको अनुमति लिनुपर्ने चेतावनी पनि दिए ।

विमान पण्डितले कोही कसैबाट प्रोत्साहन पनि पाएनन् तर उनको अनुसन्धान जारी रहृयो । यिनले डाँडा, भाटा र कपडाको प्रयोग गरी हावाबाट चल्ने चारजना बस्न सक्ने वायुयान बनाई चलाएर देखाएका थिए । यसबाट उनले प्रतापजंग राणाबाट बक्सिस पाएका थिए । विमान पण्डितको गतिविधिबाट अप्रसन्न भई चन्द्र शमशेरले उनलाई छ वर्षको जेल सजाय दिई वायुयान नष्ट गरिएको भनाइ छविलाल गजुरेलको रहेको छ (नेपालको लघु विश्वकोष पृ.३६०) तर विमान पण्डितलाई दण्डित गरिएको कुनै भरपर्दो प्रमाण भने छैन । त्यसैले उनको प्रतिभा प्रष्फुटन नै हुन पाएन । गेहेन्द्र शमशेरको पनि वीर शमशेरको छोरा नभएको भए सोही हाल हुने थियो । यी विमान पण्डितका विषयमा अर्को लेखमा चर्चा गरौँला ।

वीर शमशेरपछि श्री ३ हुन पुगेका देव शमशेर र गेहेन्द्र शमशेरबीच घनिष्ठ मित्रता थियो । यसैताका देव शमशेरको शासनकालको प्रारम्भमा गेहेन्द्रशमशेर उनको एक्का भए । देव शमशेरले गेहेन्द्र शमशेरसँग मिलेर प्रजातान्त्रिक अभ्यास (राजाको नेतृत्वमा पार्लियामेन्ट) को थालनी गर्ने विचार गरेका थिए भन्ने भनाइ बालचन्द्र शर्माको छ (यो भनाइ मनगणन्ते हुनसक्छ ?) तर गेहेन्द्रको त्यसतर्फ रुचि थियो कि थिएन बुझ्न सकिएको छैन । पक्कै पनि उनको लगाव वैज्ञानिक खोजतर्फ भएको भने सहजै अनुमान गर्न सकिन्छ । गेहेन्द्रशमशेर र देव शमशेरबीच मनोरञ्जन र रसरङमा समेत घनिष्टता थियो । दुवै रसिक थिए ।

देव शमशेरले गेहेन्द्र शमशेरलाई प्रारम्भमा गुप्तचर र पुलिसको तैनाथवाला बनाएका थिए । गेहेन्द्रलाई श्री ३ ले जापानमा हातहतियार विषयमा अध्ययन गर्न पठाएको पनि उल्लेख छ तर गेहेन्द्र शमशेर जापान पुगी अध्ययन गरेको कुनै दस्तावेज फेला पर्न सकेको छैन । देवशमशेर जापानबाट प्रभावित भई नेपाली विद्यार्थीलाई जापान अध्ययन गर्न पठाउने विषयको उठान भने अवश्य गरेका थिए जुन कालान्तरमा चन्द्र शमशेर श्री ३ महाराज भएपछि पूरा भयो । देवशमशेरले ११४ दिने शासनकालमा यससम्बन्धी थप प्रगति भएको तथ्य पाइँदैन ।

गेहेन्द्र शमशेर र देव शमशेरबीच जुन कारणबाट घनिष्टता भएको थियो सोही कारण तथा चन्द्र शमशेरको कूटनीतिका कारण यो मित्रता टिक्न सकेन । देव शमशेरको हलुकापन र कुरौटे स्वभावका कारण पनि गेहेन्द्र सशंकित थिए । भनिन्छ कि देव शमशेरलाई पदच्युत गराउन गेहेन्द्र शमशेरको पनि परोक्ष हात थियो । चन्द्रोदय कालमा गेहेन्द्र शमशेरको वैज्ञानिक अनुसन्धानले प्राथमिकता नपाए पनि उनले आफ्नै खर्चमा सोधखोज गर्दै हातहतियार बनाउँदै गरे । उनले एक सानो पेस्तोल (बन्दुक) बनाएर खल्तीमा राखेका थिए । चन्द्र शमशेरलाई ढोग्दा उक्त पेस्तोल भुइँमा खस्यो । यस काण्डले निकै ठूलो खैलाबैला भएको थियो । यस विषयमा विभिन्न भनाइ प्रचलित छन् :

पहिलो : दर्शन गर्ने क्रममा चन्द्रको हत्या गर्ने उद्देश्यले उक्त हतियार लुकाएर लगेको र असावधानीका कारण खल्तीबाट खस्न गएको ।
दोस्रो : गेहेन्द्रले उक्त पेस्तोल तयार गरी श्री ३ लाई उपहार चढाउन लगेका थिए तर ढोग्ने क्रममा खसेको ।
तेस्रो : गेहेन्द्र आफ्नो सुरक्षाका लागि पेस्तोल सँगै राख्ने गर्दथे र सोही पेस्तोल खसेको । चन्द्र शमशेरको हत्या गर्ने साहस र इरादा दुवै थिएन ।

जेहोस् यो १९६३ सालको काण्डले राणा परिवारमा ठूलो भूकम्प ल्यायो । शंकाले लंका डढायो । विसं १९६४ मा गेहेन्द्रशमशेरको ३५ वर्षमा नै अचानक मृत्यु भयो । यस रहस्यमय मृत्युका विषयमा पनि अनेक अड्कलबाजी र भ्रमको खेतीसमेत हुनपुग्यो । गेहेन्द्र शमशेरको मृत्यु हुनाको कारण विषपान थियो भन्ने एकथरिको भनाइ छ । मदिराप्रेमी र स्त्रीलम्पट गेहेन्द्रलाई मदिरामा विष राखी चन्द्र शमशेरको गोप्य निर्देशनमा कुनै भारदारले हत्या गराएको शंका गरियो । पेस्तोल काण्डबाट सशंकित भएकाले चन्द्रशमशेरले हत्या गर्न लगाएको हो भन्ने हल्ला चल्यो ।

देव शमशेर र गेहेन्द्र शमशेरको मित्रताका कारण पनि चन्द्र शमशेरले गेहेन्द्रलाई आफ्नो धावनमार्गको अवरोध ठानेको र त्यसमा पनि पेस्तोल खसेको घटनाबाट सशंकित भई हत्या गर्न लगाए भन्ने भनाइ भित्रभित्रै चलेको थियो । इतिहासकारहरूले पनि चन्द्र शमशेरको षड्यन्त्रबाट गेहेन्द्रको कलिलै उमेरमा मृत्यु भएको दावा गरेका छन् तर गेहेन्द्र शमशेरको मृत्यु मस्तिष्काघातबाट भएको कुरा रुद्र शमशेरले आफ्नो परिवारलाई बताएको कुरा प्रकाशमा आएको छ । गेहेन्द्र शमशेर वीर शमशेर जेठा छोरा र रुद्र शमशेर साहिला थिए । उनीहरूको खुब मिल्ती थियो । यसैकारण समय समयमासँगै मदिरापान हुने गर्दथ्यो ।

गेहेन्द्र शमशेरको मृत्यु भएको रात दुवैजना दाजुभाइले मदिरापान गरेको र मदिरापान गरिरहेका गेहेन्द्रसँग बिदा मागी रुद्र शमशेर बग्गीमा चढेर आफ्नो निवास पुगे । घर पुग्नेबित्तिकै गेहेन्द्र शमशेर सकिएको खबर पाए । अचानक मृत्यु हुनुमा मस्तिष्कघात नै कारण भएको बताएका थिए । यो विवरण मलाई रुद्र शमशेरकाकै नाति हेमन्त शमशेरले बताउनुभएको हो । वास्तवमा यो नै सत्य हो । देव शमशेर र गेहेन्द्र शमशेरको मित्रता केही समयसम्म रहृयो । रुखो व्यवहारका कारण दुवैमा वैमनस्यता आयो ।

गेहेन्द्र चन्द्र शमशेरपट्टि लागेका थिए । बन्दुक खसेको कारणबाट रुष्ट भएका भए चन्द्र शमशेरले तत्कालै कारबाही गर्न सक्थे । डाँडा कटाउन सक्थे । परोक्ष रूपमा हत्याको षड्यन्त्र गर्नुपर्ने नै थिएन । गेहेन्द्रको मृत्युपछि उनका सहयोगी मुसे थापा, टेकबहादुर आदिलाई दण्ड गरेको कारण गेहेन्द्रलाई रक्सी र रण्डीतिर संगत गराई अल्पायुमा नै मृत्यु गराएको आरोप थियो । उनलाई गेहेन्द्रको वैज्ञानिक आविष्कारमा सहयोगी भूमिका निर्वाह गरेको कारणबाट दण्डित गरिएको थिएन ।

गेहेन्द्र शमशेरका व्यक्तिगत कमजोरी जे जस्तो भए तापनि उनी नेपालका एक प्रतिभावान् वैज्ञानिक थिए । उनले बनाएका हतियारबाट उनको विलक्षण प्रतिभाको परिचय पाइन्छ । उनका सिर्जनाहरू तथा आविष्कार छाउनीस्थित राष्ट्रिय अभिलेखालयमा राखिएका छन् ।

गेहेन्द्र शमशेरका व्यक्तिगत कमजोरी जे जस्तो भए तापनि उनी नेपालका एक प्रतिभावान् वैज्ञानिक थिए । उनले बनाएका हतियारबाट उनको विलक्षण प्रतिभाको परिचय पाइन्छ । उनका सिर्जनाहरू तथा आविष्कार छाउनीस्थित राष्ट्रिय अभिलेखालयमा राखिएका छन् । उनले उत्पादन गरेका केही हातहतियार अमेरिका पुगेका छन् । के कसरी पुगे त्यो त सोधखोजकै विषय हो । गेहेन्द्र शमशेरले उत्पादन गरेका हातहतियारप्रति अंग्रेज सरकार निकै चनाखो थियो ।

यस विषयमा नेपालीस्थित अंग्रेजका आवासीय दूत म्यानर स्मिथले आफ्नो सरकारलाई जाहेरी गरेको गोप्य विवरण बुझाएका थिए । उक्त गोप्य विवरणमा स्मिथले गेहेन्द्रले बनाएको बन्दुकका विषयमा विस्तृत जानकारी दिएका थिए । उक्त बन्दुकको क्षमता बनावटको प्रकार आदि उल्लेख गरेका थिए । यसबाट हातहतियार नेपालमै उत्पादन हुन थालेकोमा अंग्रेज शासक ज्यादै सशंकित र चिन्तित भएको देखिन्छ । तर, उक्त रेसिडेण्टको जाहेरीमा गेहेन्द्र शमशेरको नाम भने उल्लेख गरिएको थिएन ।

गेहेन्द्र शमशेरलाई धेरैले नेपालको पहिलो हातहतियारसम्बन्धी वैज्ञानिक भन्ने संज्ञा दिएका छन् तर विमान पण्डित तोत्रनाथ/अच्युतानन्दले पनि सोही समयमा वाष्पबाट चल्ने स्वचालित मोटर चलाएर देखाएको हुनाले उनलाई नै पहिलो वैज्ञानिक भन्ने गरेको पनि पाइन्छ । विमान पण्डित वा गेहेन्द्र शमशेर जो पहिलो वैज्ञानिक हुन् वा सोभन्दा पहिले अभयराज शाक्य, पं.गोपाल पाँडे, पं.निष्ठानन्द बज्राचार्य, दैवज्ञ शिरोमणि, लक्ष्मीपति पाँडे जस्ता प्राविधिक/वैज्ञाानिकको नाम स्मरणीय छ । यस विषयमा अध्ययन अनुसन्धान गर्दै गएमा कुनै दिन निष्कर्षमा अवश्य पुगिन्छ ।

गेहेन्द्र शमशेर नेपालका कुशल हातहतियार वैज्ञानिक हुन् । त्यस समयमै त्यस्ता वैज्ञानिक नेपालमा हुनु गौरवको विषय थियो तर उनको प्रतिभा आविष्कार र अनुसन्धानले सरकारबाट प्रोत्सान त पाएन पाएन बरु बक्रदृष्टिले हेरियो । तत्कालीन शासकबाट उपेक्षित गेहेन्द्र शमशेरलाई भविष्यका शासकले पनि चटक्कै बिर्सिए । यस्ता व्यक्तिलाई मुलुकले सम्मान गर्न कृपणी नहोस् भन्ने सबैले पहल गर्नुपर्ने भएको छ । महाभारतको शान्ति पर्वको निम्न उक्तिबाट यो लेखको बिट मार्छु :

इतिहासको रक्षा बढो यत्नपूर्वक गर्नुपर्दछ । धन नास भएमा केही नास हुँदैन तर इतिहास नास गरिएमा सबैथोक विनाश हुन्छ भन्ने कुरा निश्चित छ । अस्तु ।

Subscribe
Notify of
guest
3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bishnu sapkota.
Bishnu sapkota.
2022-08-25 4:19 pm

गेहेन्द्र शम्सेरको विषयमा थप नया जानकारी पाठकलाई र इतिहासकारलाइ याे लेखले गराएकाे छ लेख समसामयिक र सन्देश मुलक छ।

Prem
Prem
2022-08-26 1:10 pm

Very informative, an academic and logical article.

Devi bhakta Dhakal
Devi bhakta Dhakal
2022-08-30 8:06 am

नेपालका प्रथम वैज्ञानिक कसलाई मान्ने भन्ने प्रश्न आयो ।त्यसबाहेक धेरै वैज्ञानिकहरुबारे पाठकहरुलाई जानकारी दिन लेखकबाट भएको प्रयत्न अत्यन्तै प्रशंसनीय छ।ओझेलमा परेका अन्य व्यक्तिहरुको जानकारीले निरन्तरता पाएमा यसले विगतको अवस्थाका विषयमा लिखित जानकारीको दस्तावेज सुरक्षित हुनसक्छ ।निरन्तरताको अपेक्षाका साथ लेखकलाई बधाई दिन्छु।

छुटाउनुभयो कि ?