फरक मतमाथि केन्द्रिय कमिटी बैठकमा जहिले पनि छलफल भएको छ र हुन्छ : योगेश भट्टराई

Read Time = 8 mins

काठमाडौं । नेकपा (एमाले)ले भोलीबाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकका लागि आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन केन्द्रित एजेण्डाहरु तय गरेको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी पोलिटब्यूरो बैठकले सो निर्वाचनको तयारीमा केन्द्रित भई भोलीबाट सुरु हुने केन्द्रिय कमिटी बैठकको एजेण्डा तय गरेको हो । एमालेको केन्द्रिय कमिटी बैठक भदौं १० र ११ गते बस्दैछ ।

सोही बैठकमा लागि आगामी निर्वाचन केन्द्रित एजेण्डाहरु पार्टी पोलिटब्यूरो बैठकले तय गरेको सचिव योगेशकुमार भट्टराईले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा बताउनु भयो । उहाँका अनुसार केन्द्रिय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु हुने र त्यसमा सामूहिक छलफल गरी प्राप्त सुझावलाई समावेश गरी पारित गरिनेछ ।

त्यसैगरी बैठकमा सात वटै प्रदेशका प्रदेश कमिटीका अध्यक्षहरुले आ–आफ्ना प्रदेश मातहतका निर्वाचन क्षेत्रको अवस्थासहितको रिर्पोटिङ गर्नेछन् । सचिव भट्टराईले आगामी निर्वाचनमा पार्टीको अवस्थाबारे सो रिर्पोटिङले पनि जानकारी गराउने भएकाले प्रदेश कमिटीका अध्यक्षहरुको रिर्पोटिङको विषयलाई पनि केन्द्रिय कमिटी बैठकको एजेण्डा बनाइएको बताउनु भयो ।

बैठकमा निर्वाचनका लागि घोषणा पत्र बनाउने कुरालाई पनि एजेण्डाका रुपमा प्रस्तुत गरिनेछ ।

सचिव भट्टराईले भन्नु भयो, ‘हाम्रो पार्टी नेकपा (एमाले)को केन्द्रिय कमिटी बैठक यही भदौंको १० र ११ गते आयोजना हुन गईरहेको छ । र, आजको पोलिटब्यूरो बैठकले केन्द्रिय कमिटी बैठकका ऐजण्डाहरु निश्चित गरेको छ । र, भोलिको बैठकमा पहिलो कुरा त, सात वटै प्रदेशबाट स्थानीय तह निर्वाचनपछिको रिर्पोटिङहरु प्रस्तुत हुन्छ । र, आगामी निर्वाचनको सम्भावित कुरा के हो भन्ने पनि सात वटै प्रदेशका अध्यक्षहरुबाट प्रस्तुत हुन्छ । नम्बर २, पार्टी अध्यक्षबाट यो बीचमा भएका विभिन्न कार्यक्रमहरुको प्रतिवेदन, पार्टीले लिनुपर्ने धारणा, कार्ययोजनाहरुको एउटा समग्र प्रतिवेदन पार्टी अध्यक्षले प्रस्तुत गर्नु हुन्छ । र, त्यो प्रतिवेदनमाथि हामी समूह विभाजन गरेर छलफल गर्छाै । र, आएका सुझावहरुलाई समावेश गर्दै त्यो प्रतिवेदनलाई केन्द्रिय कमिटी बैठकले पास गर्छ । अव अरु एजेण्डा के छ भने यो बैठकको मुख्य एजेण्डा निर्वाचनको तयारी हो । यसमा पनि असोजको १ र २ गते नै समानुपातिकको उम्मेदवारको लिष्ट बुझाउनुपर्नेछ । असोजको २१ र २२ गते अर्को प्रत्यक्षको नोमिनेशन हुन्छ । त्यसो भएको हुनाले हामीले के गरेका छौं भने भदौं २० गतेसम्ममा तल निर्वाचन क्षेत्रीय कमिटीदेखि जिल्ला कमिटी हुँदै प्रदेश कमिटीसम्मले भदौं २० गतेसम्ममा केन्द्रिय कमिटीमा, केन्द्रिय कार्यालयमा उम्मेदवारहरुको सिफारिस गर्ने । त्यसमा हाम्रो पोलिटव्यूरोको प्रस्ताव के छ भने प्रतिनिधिसभामा एउटा जिल्लाबाट एक जना महिला अनिवार्य सहित ३ जनाको नाम सिफारिस गर्ने । त्यस्तै प्रदेशमा पनि १ जना महिला अनिवार्यसहित ३ जनाको नाम सिफारिस गर्ने । र, समानुपातिकमा पनि आवश्यक अनुसार सिफारिस गर्ने । यो २० गतेसम्म सिफारिस हुन्छ । त्यसलाई केन्द्रिय कमिटी, केन्द्रिय कार्यालयको टीमले आवश्यक छान्ने काम गर्छ । र त्यसका मापदण्डहरु पनि निश्चित गरिएको छ । त्यसमा पार्टीप्रति प्रतिवद्ध, राजनीतिक, बैचारिक हिसावले स्पष्ट, जित्न सक्ने हैसियत हुनुप¥यो । यीनै कुराहरुलाई मापदण्डको रुपमा राखेका छौं । सिनियर, लोकप्रिय पनि हुनुप¥यो । यो मापदण्ड पनि राखेका छौं । यसको आधारमा सिफारिस हुन्छ । निर्वाचनको घोषणा पत्र बनाउन पार्टी अध्यक्षको नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइएको छ । भदौ १५ गतेसम्म त्यसका लागि आवश्यक सुझाव संकलन गरिनेछ । र, केन्द्रिय कमिटीको छलफल पछि त्यसलाई जारी गर्नेछौं ।’

एमालेको केन्द्रिय कमिटी बैठकले आगामी निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड पनि तय गर्नेछ । पोलिटव्यूरो बैठकले पार्टीप्रति प्रतिवद्ध, राजनीतिक, बैचारिक हिसावले स्पष्ट, जित्न सक्ने, सिनियर र लोकप्रियलाई उम्मेदवार बनाउने निर्णय गरेको र सोही विषयमा पनि केन्द्रित कमिटी बैठकमा छलफल हुने सचिव भट्टराईले बताउनु भयो ।

बैठकले केन्द्रिय कमिटी बैठकमा फरक मतलाई पनि छलफलमा सहभागी गराउने निर्णय गरेको छ । पार्टी स्थायी कमिटीका नेता घनश्याम भुसालले फरकमत प्रस्तुत गर्ने तयारी गरिरहेका बेला एमाले सचिव भट्टराईले केन्द्रिय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीको केन्द्रिय कमिटी बैठकमा फरक मतमाथि जहिले पनि छलफल भएको छ र हुन्छ । ती मतहरु कतिपयलाई अस्विकार गरिन्छ । कतिपयलाई थाति राखिन्छ भने कतिपयलाई स्वीकार गरिन्छ । पार्टीलाई एकतावद्ध गर्ने र आजको चुनौतिहरुलाई सामना गर्नेगरी अगाडि बढछौं ।’

पार्टीलाई एकतावद्ध राख्दै आजका चुनौतिहरुको सामना गरेर अघि बढने गरी केन्द्रिय कमिटी बैठकमा छलफल हुने एमालेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?