देश विकासका यथार्थ बाधाहरू पन्साइएनन्

Read Time = 12 mins

✍️ लोकनारायण सुवेदी

हाम्रो देशले २००७ सालको जनक्रान्तिदेखि २०६३ सालको व्यापक जनआन्दोलन पार गरिसक्दा पनि विश्वका १० वटा निर्धनतम् मुलुकमध्येको एक बनेर यो अझै पनि कमजोर स्थितिबाट गुज्रिरहेको छ । यसका पछाडिका मूलकारण सर्सरी केलाउँदा गलत राजनीतिक पद्धति, जनमुखी र राष्ट्रिय हितअनुकूलको विकास नीति, योजना र कार्यान्वयनको अभाव तथा अवाञ्छित बाहृय दबाब र प्रभाव रहेको प्रष्ट थाहा हुन्छ । यद्यपि यो ६५ वर्षको योजनाबद्ध भनिएको विकासको काल खण्डमा एकदमै केही विकास नै भएको छैन भन्ने होइन । मात्रात्मक रूपमा निकै ठूलो परिवर्तन आएको देखिन्छ ।

तर, त्यसको प्रतिफल भने केही टाठाबाठा अभिजात वर्गीय सीमित र सानो समूहले मात्र उठाएको छ । बहुसंख्यक जनताको आर्थिक स्थिति अत्यन्तै नाजुक र दिनानुदिन झन्झन् तल तल झर्दै गएको आजको वास्तविकता हो । कृषि, उद्योग, बन्दब्यापार आदि आधारभूत सबै क्षेत्रमा यस्तो स्थिति आज विद्यमान छ । त्यसले नै एकदमै प्रष्ट पार्दछ कि सबैतिरबाट वञ्चित भएको आम जनसमुदाय र पिछडिएको क्षेत्रलाई माथि उठाउने र सन्तुलित किसमले आर्थिक सामाजिक विकासलाई सही किसिमले अघि बढाउने कार्य विल्कुलै हुनसकेको छैन । आज रोजगारीको खोजीमा दिनको सरदर दुई हजारका दरले हाम्रो ऊर्जाशील युवाशक्ति विदेश पलायन हुन बाध्य छ ।

सबैतिरबाट वञ्चित भएको आमजनसमुदाय र पिछडिएको क्षेत्रलाई माथि उठाउने र सन्तुलित किसमले आर्थिक सामाजिक विकासलाई सही किसिमले अघि बढाउने कार्य विल्कुलै हुन सकेको छैन । आज रोजगारीको खोजीमा दिनको दुई हजारका दरले हाम्रो ऊर्जाशील युवाशक्ति विदेश पलायन हुन बाध्य छ ।

एकातिर यस्तो दयनीय र सोचनीय अवस्था छ भने अर्कोतिर देशमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राजनीतिक पद्धतिलाई हुर्कन, विस्तार हुन र सुदृढ हुन नै दिइएको छैन । त्यसले गर्दा विकासमा सक्रिय जनसहभागिता जुटाउन, तिनलाई परिचालन गर्न गराउन, अनुगमन गर्न गराउन र प्रतिफल उपभोगमा उनीहरूको वर्चश्व स्थापित र कायम हुनसक्ने अवस्था नै सिर्जना गराउन सकिएन । फलतः योजना तर्जुमा गरिँदा जनताको स्रोत र साधनमाथिको स्वामित्वको रक्षा र तिनको सही तरिकाले परिचालन गर्ने किसिमले सोचविचार र नीतिनिर्माण पटक्कै भएन र गरिएन ।

आन्तरिक स्थिति यस्तो रहृयो भने नेपाली जनताका नाममा ल्याइएको ठूलो ऋण, सहयोग र अनुदान पनि पुरानै सामन्ती उत्पादन पद्धतिको संरचनाभित्रबाट विकासको खोजी गरिँदा आन्तरिक तथा बाहृय स्रोत साधनहरू सबै त्यही सामन्ती पद्धतिका दायराभित्रै सीमित तुल्याइयो । फलतः वाञ्छित उपलब्धि हुन सक्ने आधारशिला र तदनुरूपको पूर्वाधार नै तयार हुन सकेन । परिणामतः देशले विकासको नाममा लिएको ऋण तिर्न पनि आज ऋण नै लिनुपर्ने अवस्था कायम छ ।

अर्कोतिर राष्ट्रिय हितको हिसाबले पनि हाम्रो राष्ट्रिय विकासको स्थिति अत्यन्तै नाजुक रहन गयो । राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न र बलियो बनाउन राष्ट्रिय स्रोतसाधनको परिचालन राष्ट्र र जनताको हितमा प्रयुक्त गरिने प्रष्ट र पारदर्शी नीति अख्तियार गरिनु अत्यावश्यक हुन्छ । तर, हाम्रो देशका अहिलेसम्मका योजनाहरू यसबाट यात प्रायः विमुख नै छन् या उदासीन छन् । त्यसैको परिणति हो कि हाम्रो राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि नै आज ठूलो आँच पुगिरहेको छ । परिणामतः नेपालको राष्ट्रिय स्वाभिमान खस्किएको अवस्था आज विद्यमान छ ।

यस्तो वस्तुगत अवस्थाले गर्दा हाम्रो राष्ट्रिय चरित्र नै सन्दिग्ध बन्दै आएको छ । हाम्रा शासकहरूले मित्रदेशहरूसँग विशेष र नाजुक बेलामा गर्ने गरिएका सन्धिसम्झैता नै यसको साक्षी प्रमाणको रूपमा छन् । यसरी हामी राष्ट्रिय हितको संरक्षण र सम्बर्धन गर्न नसक्ने अवस्थातिर दिनदिनै धकेलिँदै गइरहेका छौँ । ठूलो राजनीतिक परिवर्तनपछि पनि निरन्तर परामुखापेक्षी बन्ने र बाहृयमुखी हुने स्थिति कायम रहनुले पनि यही वास्तविकतालाई उजागर गर्दछ । भारतीय अभिजात वर्गीय शासनसत्ताको नेपालमाथिको पछिल्लो अघोषित नाकाबन्दीपछि त यो कुरा झनै खुलस्त र प्रष्ट भएको थियो ।

वास्तवमा जसरी नेपालमा चुनाव हुने, सरकार बन्ने र ढल्ने जस्ता कुरामा बाहृय हस्तक्षेप, दबाब र प्रभाव दशकौंदेखि देखिएको छ त्यसले पनि वास्तवमा यही वास्तविकतालाई नै औंल्याउँदछ । विकासको अर्को घातक बाधा व्यापक रूपमा माथिदेखि तलसम्म बढ्दो भ्रष्टाचार हो भन्ने कुरा आज सबैमा जगजाहेर नै छ । भ्रष्टाचारको यो महामारी भाइरस रोग यति नराम्ररी फैलिएको छ कि यसले राजनीतिक दल, प्रशासन, ठेकदार, माफियाहरूको सञ्जाल खडा गरेर सर्वत्र नकारात्मक प्रभाव पारेको छ । आज भ्रष्टाचार पनि एउटा सामान्य प्रक्रिया नै हो र यसबाट विमुख हुन सकिँदैन भन्ने संस्कृति नराम्रोसँग हुर्कँदै र बढ्दै गएको छ र यसलाई प्रश्रय र प्रोत्साह दिइएको छैन ।

राजनीतिलाई आदर्श, सिद्धान्त, नीति र नैतिकता च्यूत तुल्याएर घोर अवसरवादी भूमिका खेल्ने वातावरण बनाउने भूमण्डलीकृत वित्तीय पुँजीका कारण पनि हाम्रा जस्ता विकासको चरणमा धेरै पछिपरेका देशहरू अत्यन्तै अल्पविकसित र कमजोर अवस्थाबाट गुज्रिनु परेको कुरालाई समेत अनदेखा गर्न मिल्दैन ।

भ्रष्टाचारीलाई चोख्याउने, सम्मान गर्ने र पदासीन तुल्याउने जस्तो जुन परिपाटी नेपालमा बसालिएको छ त्यसले गर्दा यसको नकारात्मक प्रभाव र परिणतिबाट लरतरो किसिमले छुट्कारा पाउन सकिने स्थिति पटक्कै छैन । भूकम्पले जनता मरुन् कि जनधनको क्षति होस् या भारतले नाकाबन्दी गरेर आच्छु-आच्छु पारोस् या कुनै महामारी फैलियोस्, भ्रष्टचार, तस्करी र कालोबजारी चरम चुलीमा पुग्दो रहेछ भन्ने अनुभव आज देशव्यापी रूपमा गरिएको छ । वास्तवमा जनता र राष्ट्रको बजेटलाई यसरी ठाडै हिनामिना गर्ने यस्तो डरलाग्दो सञ्जाल तोड्न नसकेसम्म वाञ्चित र लक्षित विकास सधैँ कागजमा मात्र सीमित हुन पुग्ने कुरा त्यत्तिकै सत्य रहेको आजसम्मको अनुभवले राम्रोसँग दर्शाएको छ ।

राजनीतिलाई आदर्श, सिद्धान्त, नीति र नैतिकता च्यूत तुल्याएर घोर अवसरवादी भूमिका खेल्ने वातावरण बनाउने भूमण्डलीकृत वित्तीय पुँजीका कारण पनि हाम्रा जस्ता विकासको चरणमा धेरै पछि परेका देशहरू अत्यन्तै अल्पविकसित र कमजोर अवस्थाबाट गुज्रिनु परेको कुरालाई समेत पटक्कै अनदेखा गर्न मिल्दैन । आजको भूमण्डलीकृत पुँजीले आफ्नो अधिकतम नाफाको निमित्त एकातिर विकासशील देशहरूका स्रोतसाधनहरू बाहृयशक्तिको मुनाफाको निमित्त प्रयुक्त हुन पुग्दछन् भने अर्कोतिर तत् देशका आमजनसाधारण स्रोतसाधनविहीन भएर आफ्नो आँत सुकेको र मरणासन्न अवस्थामा पुग्दछन्, पुग्दै आएका छन् । यो आजको कटु यथार्थ र अत्यन्तै विडम्बनापूर्ण कुरा हो ।

यी गम्भीर कुराहरूलाई गहिराइपूर्वक नकेलाई र तिनबाट छुटकारा पाउने सही बाटो अख्तियार नगरी देशलाई विकासको सही मार्गमा फेरि पनि डोहो¥याउन विल्कुलै सकिने छैन । हुन पनि पुराना मूल्य, मान्यता, सोच र दृष्टिकोणबाट डोहोरिने परिपाटी चलेसम्म विकासका बाधाहरूलाई सही किसिमले चिन्ने र हटाएर अघि बढ्ने सम्भावना नै पैदा हँुदैन । न भ्रष्टाचार र कमिसनतन्त्रकै अन्त्य हुन्छ न राष्ट्रिय अन्तर्राष्ट्रिय स्रोतसाधन जनता र देशका तत्कालीन र दीर्घकालीन हित तथा आवश्यकताका आधारमा प्रयुक्त र परिचालन हुन नै सक्तछन् । त्यसमा पनि आजको बदिलिएको राजनीतिक परिप्रेक्षमा विकसित राजनीतिक प्रणाली अनुरूपको अग्रगामी, जनउत्तरदायी र पारदर्शी विकास पद्धति र प्रक्रिया अँगालिनु अत्यावश्यक हुन्छ । पुरानै ढर्रा र ढाँचामा चलेर यस समस्याको कदापि निदान र समाधान हुन सक्तैन ।

तर, हाम्रो राजनीतिक नेतृत्व, योजनाकार, नीति निर्माता र कार्यान्वयनकर्तामा यो नवीन दृष्टिकोण र सोच आउन सकेको छैन । वास्तवमा देशमा व्याप्त दलाल नवसामन्ती उत्पादन पद्धति र उत्पादन सम्बन्ध जबसम्म कायम रहिरहन्छ या राखिन्छ तबसम्म नेपालले ल्याउने भनिएको समृद्धि र समुन्नति केवल एउटा मृगमरीचिका मात्र ठहरिने छ । यो एकदमै धु्रुवसत्य कुरा हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?