‘औद्योगीकरणको जग घरेलु तथा साना उद्योग’

Read Time = 2 mins

काठमाडौं । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सकेमात्रै औद्योगीकरणको जग बलियो हुने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीमा आयोजित अन्तरक्रियामा उहाँले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग प्रवद्र्घनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्घ बन्ने बताउनुभएको हो । स्थानीय मौलिक उद्योगका उत्पादनलाई प्रोत्साहित गर्दै बढ्दो आयात न्यूनीकरण गर्नुपर्ने अहिलेको राष्ट्रिय प्राथमिकता भएको उहाँको भनाइ थियो । मन्त्री महतोले भन्नुभयो, ‘साना तथा घरेलु उद्योग र उद्योगीको सम्मानबाटै अर्थतन्त्र माथि उठ्छ । यसका लागि सरकार सहजीकरण र सहकार्य गर्न तयार छ ।’

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले घर-घरमै उद्योग भएको मधेश प्रदेशमा लघु, घरेलु तथा साना उद्योगका साथै महिला उद्योगग्राम पनि सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कम्तीमा जिल्ला–जिल्लामा बिक्री कक्ष राख्ने र औद्योगिक प्रदर्शनी आयोजना गर्ने विषयलाई मधेश प्रदेशले प्राथमिकता दिनुपर्ने उहाँको जोड छ ।

कार्यक्रममा महासंघका उपाध्यक्षहरू हरिहर थापा, नेत्र पाठक, मोहन कटुवाल, सत्यनारायण प्रजापती, शोभा गुरुङ तथा सदस्य वीरेन्द्र जत्ती, महासंघको महिला उद्यमी समिति सचिव डा. सोनी महतोलगायतले पनि घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा जोड दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?