प्रतिनिधिसभाका सांसदहरूको शपथ पुस ७ गते, ज्येष्ठ सदस्यबारे अन्योल कायमै

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ पुस ७ गते बिहीबार हुने भएको छ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकमा भाग लिनुअघि नै सांसदहरूलाई शपथ ग्रहणका लागि सूचना प्रकाशित गर्दै निम्तो दिएको छ । सचिवालयले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संघीय संसद् भवन)मा दिउँसो १ बजेका लागि शपथ ग्रहणको समय तोकेको छ । संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले संघीय संसद् भवनमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथग्रहण हुने जानकारी दिनुभयो । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ । सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनुहुने छ । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २७५ सांसदको शपथग्रहण गर्न लागेका हुन् ।

नवनिर्वाचित सांसदलाई कसले गराउँदै छ शपथ ?
नवनिर्वाचित सांसदहरू मध्येबाट ज्येष्ठ सांसदको औपचारिक टुंगो नलाग्दा सांसदहरूलाई शपथ खुवाउने व्यक्तिबारे अझै अन्योल छ । ज्येष्ठ सदस्यको सूचीमा महिन्द्रराय यादव, चित्रबहादुर केसी, महन्थ ठाकुर र पशुपति शमशेर जबरा हुनुहुन्छ । उहाँहरूमध्ये को जेठो ? भन्ने औपचारिक टुंगो पुस ६ गते लाग्ने जानकारी दिँदै संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भन्नुभयो, ‘७ गते सांसदको शपथ तय भएको छ । ६ गते निर्वाचन आयोगले औपचारिक रूपमा ज्येष्ठ सदस्यबारे जानकारी दिनेछ ।’ सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान छ । आयोगको विवरणमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरा ८० वर्ष पार गर्नुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवको उमेर ८५ वर्ष छ । नागरिकताअनुसार यादव १९९४ वैशाख २४ मा जन्मिनुभएको हो । नवनिर्वाचित सांसद यादवले भन्नुभयो, ‘नागरिकताअनुसार मेरो उमेर बढाइएको छ । अब कानुनले जे भन्छ त्यहीअनुसार हुने हो ।’

२०७४ सालमा पनि ज्येष्ठ सदस्य यादव नै हुनुहुन्थ्यो । तर, उहाँ अनुपस्थित भएपछि महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्नुभएको थियो । अघिल्लो निर्वाचनमा केसी र राणा भने निर्वाचित हुनुभएको थिएन । आयोगको विवरणअनुसार केसी १९९७ माघ २० मा जन्मिनुभएको हो । केसीको उमेर ८२ वर्ष भयो । यस्तै, जबराको जन्म १९९८ वैशाख २५ मा भएकाले उमेर ८१ वर्ष पुग्नुभयो । ८० वर्षीय ठाकुरको जन्म १९९९ वैशाख २४ मा भएको हो । नागरिकताका आधारमा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित हुनुभएको नेपाल समाजवादीका अध्यक्ष एवं नवनिर्वाचित सांसद महिन्द्रराय यादव ज्येष्ठ सदस्य भए पनि राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शपथ गराउने सम्भावना रहेको बताइएको छ ।

मातृभाषामा शपथ लिने सांसदले सूचना दिनुपर्ने
संघीय संसद् सचिवालयले मातृभाषामा शपथ लिने सांसदहरूले तीन दिनअगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यासअनुसार सूचना दिने समय कम्तीमा तीन दिन राखेर शपथको मिति तय गरिएको हो । संसद् सचिवालयले यही पुस ७ गते शपथ ग्रहणको कार्यक्रम राखेको छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत्-तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्ने छ । सचिवालयमा प्राप्त तथ्यांकअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपाली बाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनीहरूले मैथिली, थारू, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपाल भाषा, बञ्जिका, नेवारी, उर्दु, तामाङ भाषामा शपथ लिएका थिए ।

शपथका लागि जाँदा सांसदले साथमा के-के बोक्नुपर्छ ?
नवनिर्वाचित सांसदहरूले शपथग्रहण गर्न जाँदा साथमा के-के लैजानुपर्छ ? भन्ने यसबारे संसद् सचिवालयले सोमबार जारी गरेको विज्ञप्तिमै सबै कुरा उल्लेख गरेको छ । शपथ लिन जाँदा सांसदले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा एकप्रति प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईप्रति साथमा लैजानुपर्ने संघीय संसद् सचिवालयले बताएको छ । साथै नवनिर्वाचित सांसदहरू पुस ७ गते बिहान ११ बजे नयाँ बानेश्वर पुगिसक्नु पर्ने हुन्छ । राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन पनि सांसदहरूलाई सचिवालयले आग्रह गरेको छ ।

संसद् सचिवालय शपथको गृहकार्यमा
संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउन गृहकार्यमा जुटेको छ । सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिन्ह (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो । शपथ समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयले जनाएको छ ।

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, बुधबार निर्वाचन
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ भने आज (मंगलबार) बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएको छ । कांग्रेसमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायतले दलको नेता बन्ने आकांक्षा देखाउनुभएको छ । उम्मेदवारमाथि दाबी विरोधका लागि मंगलबार नै बिहान ११ देखि साढे ११ बजेसम्मको समय दिइएको छ । यस्तै, नाम फिर्ता लिनका लागि मंगलबार दिउँसो साढे १२ देखि साढे २ बजे सम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली मंगलबार दिउँसो ३ बजे प्रकाशन हुनेछ ।

मतदान पुस ६ गते बिहान ८ देखि १० बजेसम्म सञ्चालन हुने समितिका संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिनुभयो । कांग्रेसमा संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा उम्मेदवारी दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको छ । संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ता शुल्क तोकेको हो । यसअघि ४१ हजार रुपैयाँ बुझाउने व्यवस्था भए पनि यसपटक १० हजार रुपैयाँ बढाइएको समितिका सचिव अधिवक्ता केशव रिजालले जानकारी दिनुभयो । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना निर्वाचित हुँदा समानुपातिकबाट ३२ जना चुनिएका छन् ।

नेपाल, लामिछाने र राउत संसदीय दलको नेतामा चयन
नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ । सोमबार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरू सँगको कुराकानीमा पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रस्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वालालाई चयन गरेको बताउनुभयो ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन हुनुभएको छ । सोमबार बसेको दलको बैठकले रविलाई संसदीय दलको नेता चयन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन बाँकी रहेको रास्वपाले जनाएको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा सात र समानुपातिकमा १३ सिट जितेको छ ।

त्यस्तै, जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन हुनुभएको छ । काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्वसम्मत दलको नेतामा डा. राउतलाई चयन गरेको हो । यस्तै, पार्टीले संसदीय दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह र सचेतकमा विनिता सिंह दनुवारलाई चयन गरेको छ । त्यस्तै, सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मु चयन हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?