-राजेन्द्र गौतम
झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छनोटका समयमा देखिएका सबैखाले असन्तुष्टि त्याग्न झापाका एमाले नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
झापाको नवनिर्वाचित एमाले जिल्ला कमिटीको पूर्ण बैठकलाई मंगलबार सुरुङ्गामा सम्बोधन गर्दै उहाँले भन्नुभयो,'नेतृत्व छान्ने क्रममा केही असन्तुष्टि भएको भए त्यो बिर्सनुस् ।' उहाँले एकताबद्ध भएर पार्टी काम लाग्न जिल्ला नेतृत्वलाई आग्रह समेत गर्नुभयो।
'समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार पार्नैपर्छ' एमाले अध्यक्ष ओलीले भन्नुभयो,'जनअपेक्षा पूरा गर्न एकताबद्ध हुनैपर्छ ।' अध्यक्ष ओलीले जनहितमा जुट्न, जनआंकाक्षा र जनअपेक्षा पूरा गर्न एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभयो ।
चैत तेस्रो साता सम्पन्न एमाले झापाको ११ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा प्रेम गिरी र शिव ढुङ्गेलले दाबी गरेपछि विवाद भएको थियोे । अध्यक्ष ओलीकै निर्देशनमा गिरी अध्यक्ष र ढुंगेल उपाध्यक्ष बनाइएपनि अधिवेशनको तुष कायमै छ ।
अधिवेशनमा आफूनिकट दुई नेता दुई धारमा बिभाजित भएपछि ओलीले सर्वसम्मत नेतृत्व छान्नु पर्ने सर्तमा गिरीलाई अध्यक्ष र ढुंगेललाई उपाध्यक्षमा बस्न निर्देशन दिनुभएको थियोे । सोही अधिवेशनबाट छानिएको जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असन्तुष्टि त्याग्न नेताहरूलाई निर्देशन दिनुभएको हो ।
बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले गैरसदस्य प्रवेश गरेर सहकारी क्षेत्रलाई बदनाम गरेको टिप्पणी गर्नुभयो ।
एमाले सहभागी सरकारका गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप सामना गरिरहेको बेला अध्यक्ष ओलीले पार्टीको आन्तरिक कार्यक्रममा त्यस्तो बताउनु भएको हो ।
'अहिले सहकारी सर्वसाधारण मानिसलाई ठग्ने ठाउँ बनेको छ ।' अध्यक्ष ओलीले भन्नुभयो, 'गैरसदस्य सहकारीमा प्रवेश गरेर पैसा अपचलन गर्ने र सहकारीको बदनाम गरिरहेका छन् ' उहाँले अहिलेसम्म सहकारी ठिकै चलेपनि सहकारी क्षेत्र केही मानिसका लागि ठगी खाने ठाउँ बनेको टिप्पणी गर्नुभयो ।
'सहकारीमा गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर बदनाम गरेका छन्, ठगेका छन् , अर्बौं लुटेका छन् , लाखौं मान्छेहरु लुटिएका छन् ।' उहाँले भन्नुभयो, 'सहकारीमा हाम्रो पार्टीका नेताले अगुवाइ गर्नुपर्छ, प्रविधिको प्रयोग गरी विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रभावकारी माध्यम बनाउनुपर्छ।'
कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापाले पनि सम्बोधन गर्नुभएको थियो ।
इलामको देउमाइ नगरपालिकाको मंगलबारेमा बुधबार हुने चुनावीसभालाई सम्बोधन गर्न हिड्नु भएका अध्यक्ष ओलीले भोलि नै गृहनगर दमक र बिहीबार गौरादह नगरपालिकाको स्कुलचौनमा हुने पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच