राष्ट्रपतिबारे शृंखलाबद्ध रणनीति बुन्दै एमाले

उम्मेदवारी दिनबाट पछि नहट्ने कांग्रेसको अडान

अनिल क्षेत्री
Read Time = 16 mins

काठमाडौं । सरकार गठनको बेला गत पुस १० गते भएको सहमतिअनुसार माओवादी केन्द्रको साथ नपाउने प्रायः निश्चित भएपछि सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमाले राष्ट्रपति निर्वाचनमा एकपछि अर्को रणनीतिक योजनामा लागेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पहिलो योजना सफल नहुने देखेपछि योजना दुई अघि सार्नुभएको छ । दोस्रो रणनीतिक योजनाअनुसार अध्यक्ष ओलीले डेढ वर्षअघि एमालेबाटै विद्रोह गर्नुभएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रस्ताव गर्नुभएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमति गर्दा नै आफ्नो पार्टीले राष्ट्रपति पद पाउने गरी सहमति भएको भन्दै एमालेले पहिलो योजनाअनुसार सत्तारूढ गठबन्धनबाट समर्थनको अपेक्षा गरेको थियो । प्रचण्ड प्रधानमन्त्री बनेसँगै प्रचण्ड-ओलीबीच दुई दर्जन पटक भएका ‘वान टु वान’ छलफल भए पनि परिणाम आउन सकेन ।

सोमबार नेकपा माओवादी केन्द्रले संस्थागत रूपमै पुस १० गतेको परिस्थिति फेरिएको निष्कर्ष निकाल्दै राष्ट्रपतिमा एजेण्डा मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सोमबार नै आफ्नो दोस्रो रणनीतिक योजनाअनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेरै राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्नुभएको हो । माधव नेपालनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न गरेको प्रस्तावमा नेता नेपाल सकारात्मक देखिनुभएको छ । ओलीसँगको भेटमा पनि अध्यक्ष नेपालले सहमति जुटाउने सवालमा आफू पछि नहट्ने बताउनुभएको स्रोतको दाबी छ । हुन त एमाले अध्यक्ष ओलीले पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रस्तावप्रति एकीकृत समाजवादीका नेताहरू नै विश्वस्त हुन सकेका छैनन् । अध्यक्ष नेपालनिकट एक पदाधिकारीका अनुसार ओलीले पार्टी एकता र राष्ट्रपतिबारे गरेको प्रस्ताव अस्पष्ट र गोलमटोल किसिमको छ । नेपाललाई देखाएर माओवादी र कांग्रेसलाई साइजमा ल्याउने योजनाअनुसार ओलीले राष्ट्रपतिको लागि प्रस्ताव गरेको एकीकृत समाजवादीका ती नेताको भनाइ छ ।

राष्ट्रपति उम्मेदवारबारे माधव नेपालको प्रतिक्रिया‘यो कुरा पर्दाभित्र नै रहन दिऊँ’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पावर सेयरिङमा आफ्नो पार्टीको पनि भूमिका हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपति पदको उम्मेदवारको चर्चाबारे भने खुल्न नचाहनुभएका अध्यक्ष नेपालले राष्ट्रपतिबारे आफूले र आफ्नो पार्टीले अझै नसोचेको जिकिर गर्नुभयो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवारको रूपमा प्रस्ताव गरेको सन्दर्भमा अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रेसमा आएका कुराहरू सबै सत्य नै हुन्छन् भन्ने कुरा छैन । विभिन्न पक्षले के के अनुमान गर्छन् सुनौँ, अहिले नै बोल्ने कुरामा हतार गर्नु हुँदैन । पर्दाभित्र नै रहन दिनुपर्छ, पर्दाभित्र नै रहोस् । तर, पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरूको निम्ति मात्रै हामी सधैँभरि बलिदान हुने र अरूले चाहिँ त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’ एमाले अध्यक्ष ओलीले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गरेको प्रयासप्रति माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड नै सशंकित देखिनुभएको छ । ओलीले माधव नेपालमार्फत नयाँ कार्ड खेलेको हुनसक्ने प्रचण्डको बुझाइ छ । माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भन्नुभयो, ‘ओलीजी राष्ट्रपतिमा पहिला झलनाथ खनाल र अहिले माधव नेपालको नाम लिन थालेका छन् । यो उहाँहरूलाई (झलनाथ-माधव) लाई दिन होइन, हामीलाई कमजोर बनाउन र सबै पद आफूले नै कब्जा गर्न खेलिएको योजना हुनसक्छ ।’

यो योजनाअनुसार माओवादी र कांग्रेस दुवै लत्रिएर आफूले अघि सार्ने उम्मेदवारमा सहमति गर्न बाध्य हुने ओलीको बुझाइ रहेको हुनसक्ने प्रचण्डको आशंका छ । माधव नेपाललाई अघि सारेर माओवादी र कांग्रेसबीच फाटो ल्याउने र अन्तमा आफ्नै विश्वास पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीको रणनीति हुनसक्ने माओवादी केन्द्रका एक नेताको विश्लेषण छ । सोमबारदेखि सुरु दोस्रो योजना पनि सफल हुन नसके एमाले अध्यक्ष ओलीले कांग्रेसलाई साथ लिने प्रयास गर्ने, लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई अघि सार्ने र आफ्नो अनुकूलताका लागि हरेक रणनीति अख्तियार गर्ने नेताहरूको भनाइ छ ।

‘भ्रम सिर्जना गर्न खोजियो’
नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव आएको भनेर भ्रम सिर्जना गर्न खोजिएको टिप्पणी गरेको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस १० अघिको पाँच दलीय गठबन्धनका दलहरूबीच राष्ट्रपति निर्वाचनमा कांग्रेसले अगाडि सार्ने उम्मेदवारको पक्षमा मतदान गर्ने समझदारी बनेको दाबी गर्नुभयो । गत पुस १० गते भत्किएको गठबन्धनबीच राष्ट्रपति निर्वाचनमा एकजुट भएर जाने समझदारी बनेको र पाँच दलहरूबीच भएको सहमतिलाई औपचारिकता दिन मात्रै बाँकी रहेको दाबी गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उठाउने उम्मेदवारलाई पाँच दलीय गठबन्धनले सबैका तर्फबाट मत हाल्ने गरी समझदारी बनिसकेको छ । खाली औपचारिकता दिन मात्रै बाँकी हो । केही दिनमै औपचारिकता दिन्छौँ ।’

राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमालेले अघि सार्न खोजेको र त्यसमा कांग्रेसको समर्थन रहनसक्ने विषयमा पछिल्लो समय भइरहेको चर्चामा कुनै सत्यता नभएको जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘हल्ला, चर्चा जेजस्तो भइरहेको छ, त्यसले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच संवाद नभएको जस्तो देखिन्छ । तर, त्यो होइन । कांग्रेस र एकीकृत समाजवादी निरन्तर संवादमा छौँ । हामी राष्ट्रपतिको विषयमा प्रष्ट छौँ ।’

माधव नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव आएको छैन : चौधरी
नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले राष्ट्रपतिका विषयमा मिडियामा आएका समाचारमा आधिकारिकता नभएको जिकिर गर्नुभएको छ । प्रतिनिधिसभाका सांसद रहनुभएका चौधरीले सामाजिक सञ्जालमा मंगलबार स्टाटस लेख्दै सोमबारदेखि राष्ट्रपतिका विषयमा खुबै चर्चा भए पनि कहीँ कतैबाट पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै भेटघाट नभएको जिकिर गर्नुभएको हो । चौधरीले समय–समयमा समाचार माध्यममा अफवाहहरू आउने र समयक्रममै हराएर जाने गरेको भन्दै राष्ट्रपतिको प्रस्ताव पनि त्यसकै सिलसिला भएकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

कांग्रेस राष्ट्रपतिमा उम्मेदवारी दिनबाट पछि हट्दैन : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने दाबी गर्नुभएको छ । संसद्को सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गर्दै डा.कोइरालाले भन्नुभयो, ‘हिजोदेखि एउटा कुरा आएको छ- केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने । उहाँहरू पहिले एउटै पार्टीमा हुनुहुन्थ्यो, दुई वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभयो । त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने ‘चान्स’ हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ । तर, नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ । ढुक्क हुनुहोस् ।’

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने जिकिर गर्दै डा. कोइरालाले भन्नुभयो, ‘माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौँ ।’

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार प्रधानमन्त्रीलाई भेटेर ठाकुरलाई राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव राखेको जानकारी दिँदै लोसपा नेता राजेन्द्र महतोले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई हामीले राष्ट्रपतिको उम्मेदवारी राष्ट्रिय सहमतिको गर्ने राम्रो विचार हो, अहिलेको अवस्थामा राष्ट्रिय सहमतिकै उम्मेदवार उपयुक्त हुन्छ । हामीलाई तपाईंको विचार उपयुक्त लागेको छ र यो राष्ट्रिय सहमतिको पात्र महन्थ ठाकुर पनि हुन सक्नुहुन्छ भन्यौँ । ठाकुरको नाउँमा सहमति गराउन सजिलो होला कि भनेर हामीले उहाँलाई आग्रह गरेका थियौँ ।’

मधेसकेन्द्रित दल राष्ट्रिय सहमतिकै पक्षमा
राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरणमा फेरबदलको प्रयास भइरहेका बेला मधेसकेन्द्रित तीन दल राष्ट्रिय सहमतिको पक्षमा देखिएका छन् । जसपा र जनमत पार्टी सातदलीय गठबन्धनमै भए पनि गठबन्धनभित्र राष्ट्रपति निर्वाचनबारे छलफल नभएकामा असन्तुष्ट छन् । अर्को मधेसकेन्द्रित दल लोसपा भने कांग्रेस नेतृत्वको विपक्षी मोर्चामा रहेको छ । जसपाका प्रवक्ता मनीष सुमनले सत्ता गठबन्धनका प्रमुख दलप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय सहमति जुटेको अवस्थामा जसपाले सहर्ष स्वीकार्ने बताउनुभयो । जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले विशेष गरी परिवर्तनकारी शक्तिबाटै राष्ट्रपति हुनुपर्ने पक्षमा जनमत पार्टी रहेको भन्दै पार्टीको धारणा राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटोस् भन्ने रहेको बताउनुभयो । मधेसको तेस्रो ठूलो दल लोसपाले राष्ट्रपति निर्वाचनलगायत विषयमा निर्णय लिन आज (बुधबार) केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । लोसपाले ठूला दलहरूबीच राष्ट्रिय सहमतिको प्रयास हुनुलाई सकारात्मक रूपमा लिएको छ ।

यस्तो छ राष्ट्रपति निर्वाचनको लागि मतभार
आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि कुल ५२ हजार ७०७ मतभार छ । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३५४ मतभार आवश्यक पर्छ  । निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका सांसदहरू मतदाता हुन्छन् । मतभारका हिसाबले कांग्रेस (१६,२२१), एमाले (१५,२३३) र माओवादी केन्द्र (७,७४५) क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो दलका रूपमा छन् । राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीसँग दुई हजार ५७४, राप्रपासँग दुई हजार ४५०, जनता समाजवादी पार्टी (जसपा) सँग दुई हजार १४५, राष्ट्रिय स्वतन्त्र पार्टीसँग एक हजार ५८०, नागरिक उन्मुक्ति पार्टीसँग ८९२, जनमोर्चासँग २०६, नेमकिपासँग २२३, राष्ट्रियसभामा मनोनीत सांसदसँग २३७ र स्वतन्त्र सांसदहरूसँग ९८८ मतभार छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?